मुस्ताङ भन्सारबाट ११ महिनामा ७ अर्ब ६६ करोड राजश्व सङ्कलन

काठमाडौं । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-२ न्हेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले चालु आवको ११ एघार महिनामा सात अर्ब ६६ करोड ८५ लाख रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको छ । 

चालु आवको साउनदेखि जेठ मसान्तसम्म नेपाल-चीन उत्तरी कोरलानाकाबाट भएको निकासी तथा पैठारी मालवस्तुबापत मुस्ताङ भन्सार कार्यालयले उक्त परिमाणमा राजश्व सङ्कलन गरेको हो ।

कार्यालयका प्रमुख विदुर चुडालका अनुसार नेपाल-चीन उत्तरी कोरलानाकाबाट १३ अर्ब ८९ करोड ५२ लाख रुपैयाँ मुल्य बराबरको मालवस्तु पैठारी भएको छ । 

यसैगरी २० करोड ५५ लाख ७४ हजार रुपैयाँ मुल्य बराबरको मालवस्तु भन्सार जाँचपास भई चीनतर्फ निकासी भएको भन्सार प्रमुख चुडालले जानकारी दिए । उनका अनुसार यस नाका गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो । 

गत जेठसम्म दुई हजार ९९७ वटा विद्युतीय सवारीसाधन (इभी) कोरलानाबाट भन्सार जाँचपास भई नेपाल भित्रिएका कार्यालयले जनाएको छ ।

भन्सार प्रमुख चुडालका अनुसार चीनबाट पैठारी गरिएका विद्युतीय सवारीसाधनबाट करिब रु सात अर्ब राजश्व सङ्कलन भएको छ ।

गतवर्ष उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका लागि मात्रै खुल्ला भएको कोरला वैकल्पिक नाकाका रूपमा सञ्चालनमा ल्याइएको हो । 

कोरलानाका हुँदै निकासी तथा पैठारी गरिएबापत मुस्ताङ भन्सार कार्यालयले चालु आवको साउनमा सबैभन्दा कम सात लाख ५७ हजार र असोजमा सबैभन्दा बढी दुई अर्ब ४९ करोड २५ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको कार्यालयका प्रमुख चुडालले जानकारी दिए ।

कोरलानाकाबाट विद्युती सवारीसाधनसहित चाडपर्व लक्षित लत्ताकपडा, इलेक्ट्रोनिक उपकरण, जुत्ताचप्पल, किराना सामग्री, कस्मेटिकलगायत मालवस्तु नेपाल भित्रिने गरेका छन् । यसैगरी नेपालबाट हस्तकलासम्बन्धी सामग्री र स्थानीय उत्पादन चीनतर्फ निकासी हुने गरेका छन् ।
 

Share News