नेरुडे मिर्मिरे लघुवित्तबाट एकैपटक ७ जना संस्थापक सेयरधनी बाहिरिँदै
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाबाट एकैपटक ७ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । विभिन्न ७ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको कुल १ लाख ७२ हजार ६३४ कित्ता सेयर बिक्री गरेर बाहिरिन लागेका हुन् । लघुवित्त संस्थाका अनुसार बिनोदकुमार अग्रवालले ४४ हजार ६२३ कित्ता, कोपिला राईले १ लाख कित्ता, बासु खड्काले ५ हजार ३६० कित्ता, कुमार भट्टराईले ४४७ कित्ता, कुमारी शान्ता आचार्यले ९ हजार ३४८ कित्ता, भुवनसिंह तामाङले ८ हजार कित्ता र लक्ष्मी भण्डारीले ४ हजार ८५६ कित्ता संस्थाप सेयर बिक्रीमा राखेका हुन् । लघुवित्तको उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन् । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि तोकिएको समय भित्र आवेदन नआए सर्वसाधारण लगानीकर्ताहरुका लागि उक्त सेयर बिक्रीमा गरिने लघुवित्तले जनाएको छ ।
एनआईसी एशिया लघुवित्तको सीईओमा लक्ष्मी प्रसाद शर्मा नियुक्त
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मी प्रसाद शर्मा नियुक्त भएका छन् । कम्पनीको असार ११ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार शर्मालाई असार ११ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओको जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ । शर्माले संस्थाको नेतृत्व सम्हाल्दै लघुवित्त सेवाको विस्तार, संस्थागत सुशासन तथा वित्तीय पहुँच अभिवृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
आईएमई लाइफद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । शिक्षा क्षेत्रको विकास तथा सामाजिक रूपान्तरणमा योगदान पुर्याउने उद्देश्यले प्रदान गरिएको उक्त रकम कैलाली, दोलखा र सिन्धुली जिल्लामा सञ्चालित समता एजुकेशन फाउन्डेसनअन्तर्गतका विद्यालयहरूको शैक्षिक गतिविधि सुदृढीकरण तथा गुणस्तरीय शिक्षा प्रवर्द्धनमा खर्च गरिने कम्पनीले जनाएको छ । आईएमई लाइफले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता तथा सामाजिक उत्थानका क्षेत्रमा विभिन्न कार्यक्रममार्फत निरन्तर योगदान दिँदै आएको छ । समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने आफ्नो प्रतिबद्धताअनुरूप सहयोग उपलब्ध गराइएको कम्पनीको भनाइ छ । समता एजुकेशन फाउन्डेसनले लामो समयदेखि आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई न्यून शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको छ । आईएमई लाइफको सहयोगले फाउन्डेसनका शैक्षिक कार्यक्रमलाई थप प्रभावकारी बनाउन तथा अझ बढी विद्यार्थीलाई गुणस्तरीय शिक्षा पहुँचमा ल्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।