३ कम्पनीको सेयर मूल्य १५ प्रतिशत बढे, ५ अर्बको कारोबार

काठमाडौं । शुक्रबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.५४ अंकले बढेर २७८८ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार ८७ कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको सेयर मूल्य घटेको छ । १४ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  शुक्रबार ३५१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिडि पावर कम्पनीको भएको छ । रिडिको २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै रिलाइन्स स्पििनिङको २४ करोड ९२ लाख, नेसनल हाइड्रोको २४ करोड ४७ लाख, सोलु हाइड्रोको २३ करोड र आँखु खोलाको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबारको कारोबारमा ३ कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेका छन् । पाल्पा सिमेन्ट, शिखर पावर र माई खोला हाइड्रोको सेयर मूल्य १५ प्रतिशतले बढेका छन् ।     

प्रभु महालक्ष्मी लाइफको बुढानिलकण्ठ मोडल कम्युनिटि एकेडेमीलाई ८ लाख सहयोग

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बुढानिलकण्ठ मोडल कम्युनिटी एकेडेमीलाई विद्यालय सञ्चालनका लागि ८ लाख २१ हजार २ सय ५० रुपैयाँ सहयोग प्रदान गरेको छ । विद्यालयमा पठनपाठन कार्यलाई सहज बनाउन तथा विद्यार्थीहरूको अध्ययन वातावरण सुधार गर्न आवश्यक फर्निचर सामग्री खरिदका लागि उक्त रकम सहयोग गरिएको कम्पनीले जनाएको छ । शुक्रबार बुढानिलकण्ठ मोडल कम्युनिटी एकेडेमीको कार्यालयमा आयोजित कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सञ्चालक समितिका अध्यक्ष सम्झना अर्यालले विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद भट्टलाई ८ लाख २१ हजार २ सय ५० रुपैयाँको चेक हस्तान्तरण गरिन् । चेक हस्तान्तरणपछि कार्यक्रममा बोल्दै अध्यक्ष अर्यालले विशुद्ध सामाजिक कार्य गर्ने संस्थाहरूलाई सहयोग गर्न पाउँदा कम्पनीलाई खुसी लागेको बताइन् । उनले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक क्षेत्रको पहिचान गरी सहयोग तथा सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् । त्यसैगरी, प्रधानाध्यापक मोहनप्रसाद भट्टले सामुदायिक विद्यालयका विद्यार्थीहरूको पठनपाठनलाई सहज र स्तरीय बनाउन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गरेको सहयोग उल्लेखनीय रहेको भन्दै धन्यवाद व्यक्त गरे । कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सञ्चालक समिति सदस्यहरू भावना बलायर, वीरेन्द्रजंग पाण्डे, प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई, नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछाने, ब्रान्डिङ विभाग प्रमुख विनोद घिमिरे तथा बुढानिलकण्ठ मोडल कम्युनिटी एकेडेमीका सहायक प्रधानाध्यापक अनिता लामा, शिक्षकहरू र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।  

गर्मीबाट पशुपालकलाई राहत, ७ जिल्लामा सुरु भयो सूचकांकमा आधारित विशेष बीमालेख

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले प्लान्ट स्याटसँगको प्राविधिक सहकार्यमा सूचकांकमा आधारित दूध उत्पादन बीमालेख सञ्चालनमा ल्याएको छ । तापक्रममा हुने वृद्धिका कारणबाट गाई तथा भैंसीको दूध उत्पादनमा हुने कमीबाट कृषकलाई पर्न सक्ने सम्भावित क्षतिबाट सुरक्षण प्रदान गर्न यो बीमालेख सञ्चालनमा ल्याइएको हो । कम्पनीका अनुसार २०८३ वैशाख ७ देखि भदौ ३१ गतेसम्म कुल १५० दिन सम्म भएको दैनिक अधिकतम तापक्रमका आधारमा गणना गरिने बीमालेखमा निर्धारित तापक्रमको तहमा आधारित रही बीमालेख तयार गरिएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले जानकारी दिए । कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र चितवन जिल्लाका गाई तथा भैंसीपालक कृषक, समूह तथा सहकारीलाई लक्षित गर्दै बीमालेख तयार पारिएको हो । हालसम्म विभिन्न सहकारी तथा समूहका कृषकहरू गरी कुल १ हजार ६२७ गाई तथा भैंसी यस बीमा योजनामा आबद्ध भइसकेका छन् । नेपाल बीमा प्राधिकरणबाट स्वीकृती प्राप्त यस बीमालेखको पुनर्बीमा नेपाल रि(इन्स्योरेन्स बाट गरिएको छ ।  यो बीमालेख तापक्रमका कारणबाट उत्पन्न गर्ने तनावमा आधारित छ भने तापक्रमका कारण गाई तथा भैंसीको दूध उत्पादनमा हुने ह्रासलाई मात्र रक्षावरण गर्नेछ ।  बीमालेखमा भएको तापक्रमको रेकर्डलाई आधार मानेर कायम गरिएको सीमा भन्दा वास्तविक तापक्रम माथि पुगेमा मात्रै क्षतिपूर्ति प्रदान गरिने र पूर्वनिर्धारित तहअनुसारको क्षतिपूर्ति निर्धारण हुने प्लान्ट स्याटका संस्थापक तथा सीईओ सुमन घिमिरेले जानकारी दिए । बीमालेखले सूचकांकमा आधारित ट्रिगर प्रणालीमार्फत कृषक दाबी योग्य भए/नभएको निर्धारण गर्ने भएकाले दाबी भुक्तानी प्रक्रिया पारदर्शी र छिटो हुने हुँदा कृषकले यसबाट लाभ उठाउन सक्ने सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड कृषि विभाग प्रमुख उमेश ढकाले जानकारी गराए ।  जल तथा मौसम विज्ञान विभागबाट प्राप्त आधिकारिक तापक्रम तथ्यांक प्रयोग गर्ने र दाबी ट्रिगर स्तरमा पुगेपछि बीमकले दाबी प्रक्रिया सुरु गर्नेछ । सम्बन्धित निकायबाट सूचकांक प्राप्त भएको ७ दिनभित्र भुक्तानी विद्युतीय माध्यमबाट सिधै लाभग्राही कृषकको बैंक खातामा पठाइने दाबी विभाग प्रमुख सुवाष दीक्षितले गरे ।