४.५ प्रतिशत लाभांश पारित गर्न युनाइटेड अजोडले डाक्यो साधारण सभा

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले ३२औं वार्षिक साधारण सभा आगामी असार ३१ गते डाकेको छ । कम्पनीको सञ्चालक समितिको ८३ औं बैठकको निर्णयअनुसार सभा काठमाडौंको अम्रपाली ब्याङ्क्वेटमा बिहान १०:३० बजे बस्नेछ । सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८ प्रतिशतका दरले ९ करोड ९० लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२२ प्रतिशतका दरले ५२ लाख १० हजार रुपैयाँ नगद गरी कुल ४.५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।  हाल कम्पनीको जारी पुँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ रहेको छ । बोनस सेयर वितरण पश्चात् कम्पनीको जारी पुँजी वृद्धि भई २ अर्ब ६४ करोड रुपैयाँ पुग्ने हुँदा सोही बमोजिम सभाले कम्पनीको प्रबन्ध पत्र नियमावलीमा संशोधन गर्नेछ ।  यस्तै, कम्पनीको सभाले सञ्चालक समितिको गत आर्थिक वर्ष  २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, चालु आव २०८२/८३ को लागि वर्तमान लेखापरीक्षक जेबि राजभण्डारी एण्ड डिबिन्स चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्ति गर्नेछ ।  साधारण सभा तथा लाभांश प्रयोजनार्थ असार १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार १९ गतेभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् । 

सामाजिक न्यायसहितको उदार अर्थतन्त्र: रास्वपाको महाधिवेशनमा डा. वाग्लेको अर्थ-राजनीतिक प्रस्तावना पेस

काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले अर्थ-राजनीतिक प्रस्तावना प्रस्तुत गरेका छन् ।  यो प्रस्तावना यसअघि मंसिर २०८० को महोत्तरी केन्द्रीय समिति बैठक र असोज २०८१ को काठमाडौं राष्ट्रिय भेलामा प्रस्तुत भई परिमार्जनसहित महाधिवेशनमा पेस गरिएको हो ।   रास्वपाले आफूलाई सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टीका रूपमा प्रस्तुत गरेको छ । प्रस्तावनामा वैयक्तिक स्वतन्त्रता, मौलिक हकको प्रत्याभूति र विधिको शासनमा आधारित असल शासनमार्फत समन्यायिक समावेशी समाज निर्माण गर्ने ध्येय राखिएको छ ।  पार्टीले उद्यममैत्री, लगानीअनुकूल एवं प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको विकासका लागि बलियो र स्वच्छ नियमनकारी राज्यसंयन्त्र आवश्यक रहेको औल्याएको छ। नेपालमा व्याप्त लैंगिक, जातीय, वर्गीय र क्षेत्रीयलगायतका संरचनात्मक विभेदहरूविरुद्ध निर्णायक प्रहार गर्ने प्रतिबद्धता प्रस्तावनामा छ ।   शासकीय सुधारका सन्दर्भमा रास्वपाले वर्तमान संविधानको परिमार्जन गर्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसद मन्त्री बबन प्रणाली, दलविहीन स्थानीय तह, स्थानीय तहको सङ्ख्यामा एकतिहाइ कटौती, प्रदेश सभाको खारेजी र संवैधानिक अङ्गहरूको आमूल सुधारजस्ता एजेन्डाहरू अघि सारेको छ ।  आर्थिक उन्नयनका लागि आसेपासे वा मिलिभगत पुँजीवाद (क्रोनी क्यापिटलिज्म) र रेन्ट सिकिङ प्रवृत्तिको अन्त्य गर्दै नवप्रवर्तन र उत्पादकत्व वृद्धिमा जोड दिइने प्रस्तावनामा उल्लेख छ ।  विदेशी सहायताको सट्टा स्वदेशी तथा विदेशी लगानीको समुचित परिचालन गर्ने र विश्वभर फैलिएका नेपाली डायस्पोरालाई पुँजी, सीप र प्रविधिको स्रोतका रूपमा परिचालन गर्न राजनीतिकबाहेकका सबै आर्थिक(सामाजिक अधिकारसहितको नागरिकता पूर्ण कार्यान्वयन गर्ने नीति लिइएको छ ।   परराष्ट्र नीतिका सवालमा रास्वपाले संयुक्त राष्ट्र सङ्घको बडापत्र, असंलग्नता र पञ्चशीलको सिद्धान्तका आधारमा स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्ने जनाएको छ ।  भूराजनीतिक प्रतिस्पर्धाको भुमरीबाट बच्न तटस्थ नीति र सैन्य सहयोगमा रणनीतिक स्वायत्तता अपनाइने प्रस्तावनामा उल्लेख छ। साथै, दक्षिण एसियाभन्दा बाहिर बिमस्टेक, आसियान र युरोपेली सङ्घसँग आर्थिक कूटनीति विस्तार गर्ने र जलवायु कूटनीतिमार्फत नेपाललाई विश्वस्तरमा नेतृत्वदायी भूमिकामा पुर्‍याउने लक्ष्य रास्वपाले अघि सारेको छ ।    

एनआईसी एशिया बैंकले ल्याउँदै हकप्रद सेयर, बिक्री प्रबन्धकमा एनआइएमबि एस

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । यसका लागि बैंकले निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने योजना बनाएको हो । नेपाल राष्ट्र बैंकबाट प्राप्त स्वीकृतिअनुसार हाल कायम चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ बराबरको सेयरमध्ये साविकका सेयरधनीका लागि दुई कित्ता बराबर एक कित्ता नयाँ सेयर जारी गरिनेछ । यसअनुसार बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद साधारण सेयर निष्काशन गर्ने जनाएको छ । प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ कायम गरिएको छ । बैंकले हकप्रद सेयर निष्काशनअघि आवश्यक सबै नियामकीय स्वीकृति तथा प्रक्रिया पूरा गरी निष्काशन प्रक्रिया अघि बढाउने जनाएको छ । हकप्रद सेयरबाट संकलित रकम बैंकको पूँजी संरचना सुदृढ बनाउन, पूँजी पर्याप्तता अनुपात मजबुत बनाउन तथा दीर्घकालीन व्यवसाय विस्तार र रणनीतिक योजना कार्यान्वयनमा उपयोग गरिनेछ । हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा बैंकका प्रमुख वित्तीय अधिकृत रुपेश लुइटेल र एनआइएमबि एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।