सोपान फर्मास्यूटिकल्सको आईपीओ बाँडफाँट

काठमाडौं । सोपान फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।  कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले बिहीबार (आज) बिहान बाँडफाँड गरेको हो । आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको हो ।  गोलाप्रथाबाट बाँडफाँड गर्दा ३ लाख ४७ हजार ४९० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने बाँकी सबै आवेदकको हात खाली भएको छ । कम्पनीले गत वैशाख ३ गतेदेखि वैशाख ८ गतेसम्म सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँका दरले ३४ लाख ७४ हजार ९०० कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।  २७ लाख ६८ हजार ७४३ जनाको आवेदन परेकोमा २७ लाख ३० हजार ९८७ जनाको आवेदन मात्र स्वीकृत भएको छ ।

निष्क्रिय बीमालेख नवीकरण गर्दा नेपाल लाइफले १ सय प्रतिशतसम्म छुट दिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘विशेष बीमा पुनर्जागरण योजना २०८२/८३’ अन्तर्गत विलम्ब शुल्कमा दिइँदै आएको छुट अवधि विस्तार गरेको छ । कम्पनीले रजत जयन्तीको अवसरमा ल्याएको योजनाअनुसार १८० दिनभन्दा बढी समयदेखि निष्क्रिय रहेका बीमालेखहरू नवीकरण गर्दा बिलम्ब शुल्कमा छुट दिइँदै आएको थियो । अब बीमितहरूको अनुरोधलाई ध्यानमा राख्दै उक्त योजना संशोधन गरी छुट अवधि २०८३ जेठ ५ गतेसम्म लागू हुने जनाएको छ । संशोधित व्यवस्थाअनुसार ५ वर्षसम्म व्यतीत बीमालेखमा विलम्ब शुल्कमा १०० प्रतिशत छुट, ५ वर्षसम्मका अन्यमा ५० प्रतिशत र ५ वर्षभन्दा बढी व्यतीत बीमालेखमा २५ प्रतिशत छुट प्रदान गरिनेछ। यो सुविधा प्राप्त गर्न बीमालेख कम्तीमा १८० दिनभन्दा बढी समयदेखि निष्क्रिय भएको हुनुपर्नेछ भने पुनर्जागरणपछि बीमा अवधि कम्तीमा एक वर्ष बाँकी हुनुपर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस योजनाबाट विभिन्न जीवन बीमा योजनाअन्तर्गतका बीमितहरूले लाभ लिन सक्नेछन् । साथै, छुट सुविधा एक पटक मात्र प्रदान गरिने र निश्चित समयभित्र बीमालेख समर्पण गरेमा छुट रकम समायोजन गरिने व्यवस्था पनि गरिएको छ । 

गरिमा विकास बैंकका ग्राहकलाई ओम हस्पिटल र कान्तिपुर डेन्टलमा उपचार सेवामा छुट

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरूले अब ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) एण्ड रिसर्च सेन्टरमा विभिन्न उपचार सेवामा आकर्षक छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंकले दुवै स्वास्थ्य संस्थासँग छुट प्रदान गर्ने सम्झौता सम्पन्न गरेको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरूले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा सिटी स्क्यान, एक्स–रे लगायत अन्य स्वास्थ्य सेवामा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । त्यसैगरी, कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) मा बेड शुल्कमा १५ प्रतिशत तथा अन्य स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । कान्तिपुर डेन्टल हस्पिटलले प्रदान गर्ने उक्त सुविधा काठमाडौंको बसुन्धारा, सुन्दरबस्ती र सतुंगलका शाखासहित पोखरा (कास्की), नारायणगढ र भरतपुर (चितवन) र बुटवल (रुपन्देही) स्थित शाखाबाट पनि लिन सकिनेछ । गरिमा विकास बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ तथा डेबिट/क्रेडिट कार्डमार्फत बिल भुक्तानी गर्दा उल्लेखित दुवै अस्पतालबाट सहज रूपमा छुट प्राप्त गर्न सक्नेछन् । हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम तथा नवीनतम डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकलाई सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।