आइएमई जनरल इन्स्योरेन्स र बि एण्ड बि अस्पतालबीच क्यासलेस सेवा सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बि एण्ड बि अस्पताल प्रा.लि.बीच ग्राहकहरुलाई नगद रहित (क्यासलेस) हस्पिटलाइजेशन सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठ र बि एण्ड बि अस्पतालका तर्फबाट उप निर्देशक डा. निरजलाल बैद्यले हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात यस इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म बि एण्ड बि अस्पातालबाट नगद रहित हस्पिटलाईजेसन सेवा पाउन सक्नेछन् । साथै, ग्राहकहरुको स्वास्थ सेवामा सहजपहुचलाई सुनिश्चित गर्नेछ । यस इन्स्योरेन्सले बैंक तथा वित्तीय संस्थाहरु, व्यापारिक प्रतिष्ठानहरु, उद्योगी तथा व्यापारी लगायत सम्पूर्ण ग्राहकहरुसँग सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै जाने प्रतिवद्धता जनाएको छ ।
प्राइम लाइफको २ लाख ७१ हजार कित्ता हकप्रद पुनः लिलामीमा
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण हकप्रद सेयर बिक्री नभएपछि लिलामी गरिन लागिएको छ । कम्पनीलको २ लाख ७१ हजार ९७८ कित्ता साधारण हकप्रद सेयर बिक्रीका लागि जेठ २ गतेदेखि बिक्री खुला गरेको छ । बोलपत्र पेश गर्ने अन्तिम दिन जेठ ९ गते तोकिएको बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । प्राइमले चुक्तापुँजी बढाउन गत फागुन २७ देखि बैशाख ३ गतेसम्म बिक्री खुला गरेकोमा आवेदन नपरेपछि बाँकी हकप्रद लिलामी गर्न लागेको हो ।
ग्लोबल आईएमई बैंक र लाइफ इन्सुरेन्सबीच बैंक्यास्योरेन्स सम्झौता
काठमाडौं । ग्लोबल आईएमई बैंक लि. र लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालबीच बैंक्यास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल र लाइफ इन्सुरेन्स कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत अभिजितघोष दस्तिदारले हस्ताक्षर गरेका हुन् । सम्झौता पछि ग्लोबल आईएमई बैंकका सम्पूर्ण शाखाहरु मार्फत लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालको जीवन बीमा बीमालेखहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्त गर्न सकिनेछ । हाल बैंकको १२२ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १२८ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ७९ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।