यूनाइटेड इन्स्योरेन्सको सञ्चालकमा रविन्द्रराज पन्त नियुक्त
काठमाडौं, ३० मंसिर । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को सञ्चालकमा रविन्द्रराज पन्त नियुक्त भएका छन् । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पन्तलाई आगामी चार बर्षे कार्यकालका लागि सञ्चालक नियुक्त गरेको हो । पन्तको कार्यकाल मंसिर २८ गतेदेखि नै शुरु भएको छ । नियुक्त भएको दिन देखि नै पन्तले इन्स्योरेन्सको सञ्चालकको जिम्मेवारी सम्हाली सकेका छन् । कम्पनीले पूर्व सञ्चालक शिवजीरे यादवको पदमा रविन्द्रराज पन्तलाई नियुक्ति गरेको हो । पन्तले केहि समय अघि मात्रै एनआइडिसी डेभलपमेन्ट बैंकको निर्देशकबाट राजीनामा गरेका थिए ।
समीट माइक्रोफाइनान्सले ४५% बोनस र शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने
काठमाडौं, ३० मंसिर । समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ४५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंक ४५ प्रतिशत बोनस पश्चात शतप्रतिशत (एक बराबर एक अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकको उल्लेखित निर्णय अनुमोदन गर्न पुस २५ गते वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि आगामी पुस ८ गतेदेखि पुस २५ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ ।
लोडसेडिङ घटाउन उर्जालाई पाँच अर्ब ३७ करोड, विद्युत् उपकरण किन्न खर्च गर्नुपर्ने
काठमाडौँ – अर्थ मन्त्रालयले विद्युतीय उपकरण खरिदका लागि ऊर्जा मन्त्रालयलाई पाँच अर्ब ३७ करोड ८० लाख रुपैयाँ खर्च गर्न सहमति दिएको छ । लोडसेडिङ न्यूनीकरणका लागि अर्थ मन्त्रालयले विशेष व्यवस्था गरेर यो रकमको सहमति जनाएको सचिव शान्तराज सुवेदीले जानकारी दिए । ‘लोडसेडिङ न्यूनीकरण गरी जनतालाई राहत हुन्छ भने काम गर्नुस् भनेर बजेटको सहमति दिइएको छ,’ उनले भने, ‘यो रकम नेपाल विद्युत् प्राधिकरणले आफूले ल्याएको कार्यक्रमअनुसार खर्च गर्नेछ ।’ सचिव सुवेदीका अनुसार प्राधिकरणले यो रकमबाट उच्च क्षमताका नयाँ ट्रान्सफर्मर खरिद गर्नेछ । यस्तो ट्रान्सफर्मरबाट प्राविधिक चुहावट नियन्त्रण गर्न सकिने प्राधिकरणको विश्वास छ । यो रकमबाट पोल, तार र मिटर पनि खरिद गरिनेछ । नयाँ पत्रिका दैनिकबाट ।