गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग उत्कृष्ट करदाताको रुपमा सम्मानित

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. विगत बर्षमा झै यस वर्ष पनि उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । आयकर तर्फ फाइनान्स कम्पनीहरु मध्येबाट सबैभन्दा बढी कर दाखिला गरेको र कर विभागबाट उत्कृष्ट करदाता छनौट मापदण्डको आधारमा सो संस्थालाई उक्त सम्मान प्रदान गरिएको हो । ललितपुरको आन्तरिक राजश्व कार्यालयले छैठौं राष्ट्रिय कर दिवस २०७४ को उपलक्ष्यमा सम्मान गरेको हो । संस्थाका तर्फबाट महाप्रबन्धक दिनेश लाल श्रेष्ठले उक्त पुरस्कार प्राप्त गरेका हुन् । यस संस्थाले २०७४ असोज मसान्तसम्म २ अर्ब ५२ करोड रुपैयाँ निक्षेप तथा २ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी परिचालन गरेको छ । सो अवधिमा कम्पनीले २ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले हाल जारी गरिरहेको ४० प्रतिशत हकप्रद सेयर र गत आवको बोनस सेयर वितरण पश्चात चुक्ता पूँजी ८० करोड पुग्ने फाइनान्सद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको गुहेश्वरी फाइनान्सको चावहिल, हेटौडा, चारअली, विरगञ्ज, कलैया, दमक र जीतपुरमा शाखा कार्यालय रहेको छ ।

बीमा संस्थानमा प्रशासक बन्न ५ जनाको आवेदन

  काठमाडौं । राष्ट्रिय बीमा संस्थानको प्रशासक बन्न ५ जनाले दरखास्त दिएका छन् । प्रशासन हुन दरखास्त दिनेमा गणेशराज कार्की , दामोदर सापकोटा, राजेन्द्रजंग कार्की, डा. शिवहरी श्रेष्ठ र सुरेन्द्र थापा रहेका छन् । अर्थ मन्त्रालयले गठन गरेको छनौट शिफारिश समितिले व्यवसायिक कार्ययोजना र अन्तरवार्ताका लागि बोलाएको छ ।

हिमालयन जनरल इन्स्योरेन्सले १५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले २०७४को असार मसान्तको चुक्ता पुँजीको सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । गत मसान्तमा कम्पनीको चुक्ता पुँजी ३८ करोड ५२ लाख रुपैयाँ रहेको थियो । उक्त पुँजीमा कम्पनीले १५ प्रतिशतका दरले ५ करोड ७७ लाख ८० हजार रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको कम्पनीले जनाएको छ । उक्त निर्णय मंसिर ५ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको निर्णयलाई कम्पनीको आगामी २४औँ वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।