छोरी जन्मिने बित्तिकै बैंकमा रकम र जीवन बीमा
बुटवल । समाजमा छोरीप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न र महिला तथा लैंगिक हिंसा कम गर्न रुपन्देहीका ग्रामीण क्षेत्रका पिछडिएका गाउँपालिकाका जनप्रतिनिधिले उदाहरणीय कामको थालनी गरेका छन् । जनप्रतिनिधिले गाउँपालिकाको पहिलो गाउँपालिका सभाबाट निर्णय गरेर नै गाउँमा रहेको बालविवाह र महिला तथा लैंगिक हिंसामा कमी ल्याउने उदाहरणीय कार्यक्रम सार्वजनिक गरेका हुन् । फाेटाे : नेशलन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड जिल्लाको ओमसतिया गाउँपालिकामा करिब ३७ हजार जनसंख्या छ । महिलाको संख्या पुरुषभन्दा बढी छ । यो मधेशी समुदायको बाहुल्यता रहेको र खुला सीमा भएको क्षेत्र हो । जिल्लाका साविक हाटी फर्साटिकर, वसन्तपुर, पड्सरी, छोटकीरामनगर र पट्खौली गाविस जोडेर ओमसतिया गाउँपालिका बनेको हो । यहाँका कैयौँ समुदायमा अहिले पनि बालविवाह कायम छ । गाउँपालिकाका अध्यक्ष हीरा केवट (राहुल) गाउँमा कुनै कार्यक्रममा पुग्दा स्थानीयवासी कुनै महिलाले परिवारमा आइपरेका पीडा सुनाउँदा छोरीप्रतिको श्रद्धा जगाउँछिन् । छोरीलाई जन्मिने बित्तिकै सम्मान जाग्ने खालको काम गर्ने शोचमा उनी र गाउँपालिकाको टिमको थियो । त्यसैले गाउँपालिकाको पहिलो परिषद्ले जन्म दर्ता गराउन आउने वित्तिकै छोरीका नाममा २० हजार रुपैयाँ बैंकमा जम्मा गराउने निर्णय गर्यो । गाउँपालिकामा निर्वाचित भएको मितिका आधारमा सोही दिनदेखि जन्मिएका कुनै पनि समुदायका छोरीका नाममा बैंकमा २० हजार रुपैयाँ २० वर्षका लागि राख्ने गरी कार्यविधि गाउँपालिकाले बनायो । अहिले नाबालिका रहेकी छोरी वयस्क अर्थात २० वर्षकी हुँदा बैंकमा जम्मा भएको रकमको ब्याजसहित जोड्दा झण्डै ३ लाख रुपैयाँ पुग्छ । सो कार्यका लागि १ करोड २१ लाख रुपैयाँ गाउँपरिषद्बाट विनियोजन भइसकेको छ । सोही गाउँपालिकामा रहेको साना किसान कृषि सहकारीसँग सम्झौताको प्रक्रिया अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष केवटले बताए । नेपाल भारत सीमा क्षेत्र भएकाले वारिपारी बिहेबारीको सम्बन्ध छ । अध्यक्ष केवटले भने- ‘छोरीप्रतिको समुदायको धारणा र भावना परिवर्तन गर्नका लागि केही न केही रचनात्मक काम गर्नैपर्ने ठानेर यस्तो निर्णय गरेका हौँं ।’ यस्तै निर्णय सियारी गाउँपालिकाले पनि गरेको छ । गाउँपालिकाको गत साउनमा बसेको परिषद् बैठकले जन्मिने बित्तिकै छोरीको जीवन बीमा गर्ने निर्णय गरेको सो गाउँपालिकाकी उपाध्यक्ष अमिृता गुरुङले बताइन् । उनी गाउँकी अगुवा नेत्री भएकाले महिला समानता र हक अधिकारका बारेमा चिन्ता गर्थे । सरकारले शुरु गरेको सामाजिक सुरक्षा भत्ताका कार्यक्रमबाट प्रभावित उपाध्यक्ष गुरुङले गाउँमा अगुवा कार्यकर्ता भएका कारण केही न केही समुदायका लागि गर्नुपर्छ भन्ने भावना जागेकाले सो निर्णय गरिएको बताइन् । गाउँपालिकाले जनप्रतिनिधि निर्वाचित भएको मितिदेखि नै जन्म दर्ता गराउने छोरीको जीवन बीमा गरिदिने निर्णय गरेपछि सवैले उक्त निर्णयको स्वागत गरेका उनले बताइन् । सो गाउँपालिकाको करिब ३८ हजार जनसंख्या छ । महिलाको संख्या पुरुषको भन्दा बढी छ । उक्त गाउँपालिका साविकका चिल्हिया, मैनहिया, हर्नैया, दयानगर र पश्चिम अमुवा गाविस मिलेर बनेको हो । गाउँपालिकाका प्राविधिक किरण क्षेत्रीले बीमा योजना र बीमा कम्पनीसित सम्झौताको प्रक्रिया अगाडि बढेकाले चाँडै टुंगोमा पुर्याइने बताइन् । गाउँपालिकाको निर्णयले बालविवाह रोक्नेदेखि लैंगिक हिंसा कम गर्न मद्दत पुग्ने ओमसतिया गाउँपालिकाका स्थानीयवासी जगदिश खरबिन्द बताउँछन् । उनी भन्छन्- ‘२० वर्षसम्म छोरीको नाममा राखिएको रकम ३ लाख रुपैयाँसम्म पुग्छ, यो रकमले उच्च शिक्षा अध्ययनदेखि विवाह खर्चकोसमेत जोहो हुन्छ ।’ गाउँपालिकाले २० वर्षभन्दा कम उमेरमा विवाह गरेर जाने वा आफै भाग्ने कुनै पनि छोरीका लागि भने उक्त रकम दिन नमिल्ने गरी कार्यविधि बनाइरहेको छ । गाउँपालिकाले विपन्न समुदायका लागि समेत औषधोपचारमा प्रतिव्यक्ति १५ हजार रुपैयाँसम्म सहयोग उपलव्ध गराउन शुरु गरेको छ । रासस
नेशनल इन्स्योरेन्सले ल्यायो १ लाख निशुल्क बीमा सुविधा, विपदमा सक्रिय प्रहरीलाई २ लाख बीमा
काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले १ लाख रुपैयाँ बराबरको निशुल्क बिमा सुविधा ल्याएको छ । कम्पनीले आफ्नो ‘स्थापना महिना’का अवसरमा यो महिनाभर बीमा गर्ने ग्राहकलाई (मोटर, स्वास्थ्य, गृहस्थ) एक लाख रुपैयाँ बराबरको निशुल्क बीमा सुविधा ल्याएको हो । कम्पनी १११ औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा कम्पनीले जनवरी ४ सम्म स्थापना महिना मनाउने जनाएको छ । उक्त अवसरमा यो बीमा कम्पनीले सशस्त्र प्रहरी बलबाट विपद् व्यवस्थापनमा सक्रिय गोताखोरहरुलाई निशुल्क प्रतिव्यक्ति दुई लाख रुपैयाँसम्मको बिमांकको दुर्घटना बीमा गर्ने जानकारी दिएको छ । स्थापना महिनाको पहिलो साता विद्यालयमा विद्यार्थीलाई बीमा सम्बन्धी जानकारी दिनेछ । त्यस्तै स्टान्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडसँगको सहकार्यमा डिसेम्बर ९ मा ‘वाकाथन’ पनि आयोजना गर्ने भएको छ । स्थापना महिनाको दोस्रो साता निशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याउने र अपांगता भएका बालबालिकालाई खाद्यान्न वितरण गर्ने कार्यक्रम रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले आगामी दिनमा बीमाको पहुँच विस्तारका लागि विभिन्न स्थानमा थप शाखा स्थापना गर्ने तयारी गरेको छ ।
शिखर इन्स्योरेन्सको मंसिर २२ गतेदेखि १७ दिन बुक क्लोज
काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडको मंसिर २२ गतेदेखि १७ दिन बुक क्लोज हुने भएको छ । वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि कम्पनीको मंसिर २२ गतेदेखि आगामी पुस ७ गतेसम्म बुक क्लोज हुन लागेको हो । कम्पनीको आगामी वार्षिक साधारणसभा पुस ७ गते हुने भएको छ । उक्त सभाले सेयरधनीलाई ३०.५३ प्रतिशत लाभांश दिने कम्पनीको निर्णयलाई पारित गर्ने भएको छ । यस कम्पनीले २९ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.५३ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने निर्णय गरेको हो ।