जनता बैंक र प्रुडेन्सियल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकले निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्धार सेवा प्रणाली मार्फत जीवन तथा निर्जीवन बीमा सेवा दिने अभिप्रायले उक्त सम्झौता गरेको हो । सो सम्बन्धि सम्झौता पत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिके महर्जनले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको जुनसुकै शाखाहरुबाट बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् । बैंकले हाल ११९ शाखा, ४० शाखा रहित बैंकिङ्ग इकाई, २ सिमित बैंकिङ् इकाई, २ एक्स्टेन्सन काउन्टर र ६९ एटिएमबाट बैंकिङ् सेवा प्रदान गर्दै आइरहेको छ ।
बीमा कम्पनीसँग लगातार पराजित हुँदै बीमा समिति, युनाइटेड इन्स्योरेन्सले ल्यायो अन्तरिम आदेश
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समिति पछिल्लो समय बीमा कम्पनीहरुसँग लगातार पराजित हुँदै आएको छ । बीमा समितिका निर्णय बिरुद्ध बीमा कम्पनीहरुले अदालतमा दायर गरेका अधिकांश मुद्धामा समिति पराजित हुँदै आएको हो । केहि समय अघि मात्रै महालक्ष्मी लाईफ इस्न्योरेन्स कम्पनीलाई लाइसेन्स नदिने समितिको निर्णय अदालतले उल्ट्याईदिएको थियो । तोकिएको समयमा पुँजी पुर्याउन नसकेको भन्दै समितिले महालक्ष्मी लाईफ इन्स्योरेन्सलाई लाइसेन्स दिन अस्विकार गरेको थियो । तर महालक्ष्मीले सर्वाेच्च अदालतमा मुद्धा हालेर जित्यो । बीमा समितिलाई पराजित गर्ने पछिल्लो कम्पनीका रुपमा युनाइटेड इन्स्योरेन्स थपिएको छ । सीजी इलेक्ट्रोनिक्स आगलागी प्रकरणमा गलत ढंगले भुक्तानी गरेको भन्दै बीमा समितिले युनाईटेड इन्स्योरेन्स कम्पनीको फायर पोलिसीमा रोक लगाएका थियो । तर कम्पनीले सर्वाेच्च अदालतमा मुद्धा दायर गरेर अन्तरकालिन आदेश ल्याएको छ । सर्वाेच्च अदालतका न्यायधिशद्धय सपना मल्ल प्रधान र ईश्वर खतिवडाको पूर्ण इजलासले युनाईटेड ईन्स्योरेन्स कम्पनीको फायर पोलिसी रोक्ने निर्णय कार्यान्वयन नगर्न बीमा समितिलाई अन्तरिम आदेश दिएको निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराईले जानकारी दिए । अब अदालतले अन्तिम फैसला नगरेसम्म युनाईटेड इन्स्योरेन्स कम्पनीले फायर पोलिसी बेच्न पाउनेछ ।
प्राइम लाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा प्राइम लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भए पश्चात प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु मुक्तिनाथ विकास बैंकको देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछन् । हाल प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी १ अर्ब ७८ करोड रुपैयाा रहेको छ । त्यस्तै, कम्पनीको जिवन बीमा कोष ६ अर्ब २० करोड रुपैयाँ र कुल प्रिमियम ११ अर्ब ७ करोड रुपैयाँ रहेको छ । इन्स्योरेन्सले देशभरका १२५ स्थानबाट सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।