स्पर्स लघुवित्तको ३० प्रतिशत साधारण सेयर पारित, अध्यक्षमा सुशिलभक्त माथेमा

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाको जारी पुँजीको ३० प्रतिशत साधारण सेयर जारी गर्ने प्रस्ताव पारित भएको छ । सञ्चालक समितिको उक्त प्रस्तावलाई कम्पनीको हालै सम्पन्न प्रथम वार्षिक साधारणसभाले पारित गरेको हो । संस्थाले हाल कायम रहेको जारी पुँजीको सो मात्रा अर्थात २ करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ४० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । हाल संस्थाको जारी पुँजी ८ करोड रुपैयाँ रहको छ । त्यसैगरी, संस्थापक समुह अन्तर्गतको ४ जना संचालकको निर्वाचनमा प्रा.डा. सुशिलभक्त माथेमा, डा. सुरेन्द्र न्यौपाने र जनता बैंकको तर्फबाट अजयकुमार मिश्र गरी ३ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित संचालकहरुले साधारणसभा पछि बसेको संचालक समितिको ३० औं बैठकको निर्णयले संस्थाको अध्यक्षमा सुशिलभक्त माथेमालाई चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष माथेमाले नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयको निर्देशक पोमनाथ गौतम समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । संस्थाले हाल १५ वटा शाखा मार्फत करिब ३,४०० सदस्यहरुलाई ११ करोड कर्जा लगानी गरेको र करीब १ करोड ६० लाख बचत संकलन गरेको जानकारी प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिवसजल खड्काले जानकारी गराए । १० करोड रुपैयाँ अधिकृत पुँजी रहेको संस्थाको हाल चुक्ता पुँजी ५ करोड ६० लाख रुपैयाँ रहेको छ । त्यस्तै, सर्वसाधारणलाई शेयर जारी गरे पश्चात संस्थाको पुँजी ८ करोड रुपैयाँ पुग्नेछ ।

एनआईसी एशिया क्यापिटलले १ अर्बको सामुहिक लगानी कोष निष्काशन गर्ने, माघ २ देखि बिक्री शुरु

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एनआईसी एशिया क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँ बराबरको सामुहिक लगानी कोष निष्काशन गर्ने भएको छ । ७ बर्षे बन्दमुखी योजना रहेको एनआइसी एशिया ग्रोथ फण्डलाई नेपाल धितोपत्र बोर्डले सो मात्राको कोष निष्कासन गर्न अनुमति दिएको हो । बोर्डको अनुमति अनुसार क्यापिटलले आगामी माघ २ गतेदेखि सर्वसाधारणमा ईकाइ बिक्री गर्न लागेको छ । एनआइसी एशियाग्रोथ फण्डले १ अर्ब रुपैयाँ बराबरको रु १० अंकित मूल्य दरका १० करोड ईकाइ सर्व-साधारणमा बिक्री गर्न लागेको छ । मागभन्दा बढी आवेदन परेको खण्डमा यो योजनाको आकार १ अर्ब पच्चीस करोड रुपैयाँसम्म पुर्याउन सकिनेछ । म्युच्युअल फण्ड भएका कारण कोषमार्फत संकलित रकम धितोपत्र नियमावलीको अधिनमा रहि विभिन्न क्षेत्रमा लगानी गरिनेछ । उक्त ईकाइहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकरण गराई धितोपत्रको दोश्रो बजारमा कारोवार गर्ने व्यवस्था मिलाइनेछ । कोषको लगानीको नाफाबाट लगानीकर्ताहरुले वार्षिक प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मुल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्नेछन् । कोष परिपक्व हुने समयमा लगानीकर्ताले वार्षिक प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मुल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्ने छन् । कोष परिपक्व हुने समयमा लगानीकर्ताले कम्पनीको खुद सम्पत्तिका आधारमा आफ्नो लगानी फिर्ता पाउने छन् । सेयर बजारको विषयमा पर्याप्त ज्ञान नभएका नवप्रवेशी लगानीकर्ताका लागि मात्र नभई लगानीमा विविधताचाहने अनुभवी लगानीकर्ताका लागिपनि सामुहिकलगानी कोष एक राम्रो विकल्प हुन सक्छ । विशेषज्ञद्धारा सञ्चालित लगानीमा विविधता, सानो रकमबाट लगानी गर्न सकिने जस्ता विविध विशेषताहरुका कारण सामुहिक लगानी कोषको आकर्षण बढ्दो छ ।

सगरमाथा इन्स्योरेन्सको नाफा ३३.५९ प्रतिशतले वृद्धि, पुँजी १ अर्ब पुर्याउने

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत अार्थिक वर्ष खुद नाफा ३३.५९ प्रतिशतले वृद्धि गरेकाे छ । कम्पनीले उक्त अार्थिक वर्ष २७ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । साथै, कम्पनीले गत आर्थिक वर्षमा व्यवसायमा २६.७० प्रतिशत वृद्धि गरि एक अर्ब ४० करोड ९० लाख रुपैयाँ प्रिमियम आर्जन गरेको शुक्रबार सम्पन्न कम्पनीको २१औँ वार्षिक साधारणसभामा जानकारी गराइयाे । साथै, कम्पनीले पुस २० गतेसम्म ८१ करोड ८८ लाख रुपैयाँ बीमा प्रिमियम संकलन गरिसकेको र लक्षित प्रिमियम हासिल गर्न सफल हुने बताएको छ । कम्पनीको कूल लगानी १ अर्ब ३० करोड रुपैयाँ भन्दा बढी रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ८२ लाख रुपैयाँ रहेको छ । बीमा समितिबाट चालु आवको असार मसान्त सम्ममा पुँजी एकअर्ब पुर्याउने निर्देशन बमोजिम कम्पनीले गत आवको खुद नाफा र चालु आवको मुनाफाबाट एक मुष्ठ बोनस सेयर जारी गर्ने कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरले बताएका छन् । त्यसपश्चात नपुग रकम बराबर हकप्रद सेयर जारी गरी कम्पनीको चुक्ता पुँजी एक अर्ब पुर्याउने निर्णय गरेको छ । कम्पनीले आफ्नो पुँजी वृद्धि योजना बीमा समितिमा पेश गरिसकेको छ । साथै, चालु आवको मुनाफाबाट एक मुष्ठ लाभांश वितरण गर्ने गरि समिक्षा वर्षको वितरण योग्य मुनाफा १६ करोड ५३ लाख रुपैयाँ वासलातामा सारेको कम्पनीका अध्यक्ष मानन्धरले बताएका छन् ।