राष्ट्रिय बीमा कम्पनीले १२० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले सेयरधनीलाई १२० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ५.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय फागुन १० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । कम्पनीले राष्ट्रिय बीमा संस्थान निर्जीवन बीमा विभागको आर्थिक वर्ष ०६७/६८, ०६८/६९ को वित्तीय विवरण स्वीकृत गरी आव ०६८/६९ को वित्तीय विवरणमा हाल कायम रहेको चुक्ता पुँजीमा सो मात्राको लाभांश दिन लागेको हो । हालको कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको छ । १२० प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी ५८ करोड ६५ लाख रुपैयाँ पुग्ने छ । सञ्चालक समितिको उक्त प्रस्तावलाई बीमा समितिले पारित गरी कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

एशियन लाइफको हकप्रद बिक्री खुला, चैत १८ गते बन्द हुने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर आइतबारदेखि बिक्री खुला भएको छ । एशियनले चुक्तापुँजी बढाउन ४० करोड २७ लाख ९६ हजार रुपैयाँ बराबरको ४० लाख २७ हजार ९६६ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रद निष्कासन बन्द चैत १८ गते हुनेछ । कम्पनीले २ बराबर १ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो । गत माघ ७ गतेसम्म नेपाल स्कट एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका साविक सेयरधनीले हकप्रद सेयरका लागि आवेदन दिन पाउने छन् । हकप्रद सेयर बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी बढेर १ अर्ब २० करोड रुपैयाँ पुग्ने छ ।चालु आर्थिक वर्षको असारसम्म जीवन बीमा व्यवसाय गर्ने कम्पनीले चुक्ता पुँजी बढाएर २ अर्ब रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था नियामक बीमा समितिले गरेको छ । कम्पनीको चुक्ता पुँजी हाल ८० करोड ५५ लाख रुपैयाँ छ । कम्पनीले आउदो ३ वर्षमा नाफा ३ सय प्रतिशतसम्म बढ्ने प्रक्षेपण गरेको छ । ०६४ चैत २१ गतेदेखि जीवन बीमा व्यवसाय गर्दै आएको कम्पनीले आउदो आर्थिक वर्ष ०७६÷०७७ मा नाफा झण्डै ३ सय प्रतिशत बढाएर २६ करोड ६२ लाख रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ । गत आर्थिक वर्षमा एशियनले ९ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । ३ वर्षमा कम्पनीले नाफा झण्डै १६ करोड रुपैयाँ बढाउने प्रक्षेपण गरेको छ ।

बीमा संस्थानको जलविद्युतमा २ अर्ब ८६ करोड लगानी

काठमाडौँ । सरकार स्वामित्वको राष्ट्रिय बीमा संस्थानले जलविद्युतमा २ अर्ब ८६ करोड रुपैयाँ लगानी गरेको छ । उर्जा संकट समधान गर्न संस्थानले ४५६ मेगाावटको माथिल्लो तामाकोसी, जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड र विद्युत उत्पादन कम्पनीमा लगानी गरेको छ । माथिल्लो तामाकोसीमा लगानी गर्ने सम्झौता भई २१ करोड १८ लाख रुपैयाँको सेयर पु“जी र २ अर्ब रुपैयाँ ऋण लगानी गर्ने प्रतिवद्धता अनुरुप हालसम्म १ अर्ब ८० करोड रुपैयाँ लगानी गरिएको संस्थानका निमित्त प्रशासक सुरेन्द्र थापाले बताए । जल बिद्युत लगानी तथा विकास कम्पनीमा संस्थानले १ अर्ब बिद्युत उत्पादन कम्पनीमा ६ करोड ६० लाख रुपैयाँ बराबरको संस्थापक सेयर लगानी गरिएको उनले जानकारी दिए । वित्तीय बजारमा तरलता प्रवाह गर्ने काममा संस्थानले १२ अर्ब रुपैयाँको जीवन बीमा कोष बैंक र वित्तीय संस्थाहरुलाई उपलव्ध गराएको उनले जानकारी दिए । संस्थानको ५१ औं वार्षिक सभामा बोल्दै निमित्त प्रशासक थापाले आर्थिक वर्ष २०६५/०६६ सम्मको साधारणसभा सम्पन्न भई सकेको र आव २०६६/०६७ देखि २०६९/०७० सम्मको लेखा परीक्षण सम्पन्न भएको थापाले बताए ।आ.ब.२०७३/०७४ सम्मको लेखापरीक्षण आगामी चैत्र मसान्तसम्म सम्पन्न हुने गरी कार्ययोजनाका साथ काम अगाडि बढाइएको उनले जानकारी दिए । सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालले ग्रामीण जनसमुदायमा बीमाको पहुँच अत्यन्त न्यून रहेकाले पहुँच विस्तारमा जोड दिन सुझाव दिए । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले सरकारी संस्थानका हैसियतले जीवन बीमालाई समावेशी तुल्याई दुर्गम ग्रामीण क्षेत्रसम्म  विस्तार गर्नुपर्नेमा जोड दिए ।