सिटिजन्स बैंक र नेपाल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैकास्योरेन्स सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा सिटिजन्स बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत राजनसिंह भण्डारी र नेपाल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात् सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट नेपाल इन्स्योरेन्सको निर्जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवाहरु लिन सक्नेछन् । यसबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै छिटो, छरितो र सहज रुपमा निर्जीवनबीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । बैंकले हाल ६७ वटा शाखा, ६५ वटा एटीएम काउन्टर र ९९ वटा शाखा रहित बैकिङ्ग सेवाबाट आधुनिक बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

निष्काशन बन्द भएको ३७ घण्टामै आरम्भको सेयर बाँडफाँड, २७ हजारले पाए १० कित्ता

काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको आईपीओ निष्काशन बन्द भएको ३७ घण्टामै सेयर बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार कुल आवेदक मध्ये २७ हजार ४८ जनाले १० कित्ताको दरले सेयर पाएका छन् । उक्त आईपीओमा कुल १ लाख ८६ हजार ३८ जना आवेदकले १ करोड १८ लाख ७८ हजार ७५० कित्ताका लागि आवेदन दिएका थिए । यस मध्ये २६ करोड १४ हजार ८८० कित्ता सेयर खरिदका लागि २६ करोड १४ लाख ८८ हजार बराबरको ४३ हजार ४५६ वटा आवेदन मेरो सेयर मार्फत प्राप्त भएको हो । यसमध्ये एक भन्दा बढी डिम्याट खाता प्रयोग गरी आवेदन गरिएका ३८५ वटा आवेदन रद्ध भएका छन् । यसमा ४३.८३ प्रतिशत बढी आवेदन परेको छ । सेन्ट्रलाइज्ड आस्वा अर्थात सी आस्वा प्रणाली सुरु भएपछि निष्काशन बन्द भएकाे छाेटाे अवधिमै सेयर बाँडफाँड भएकाे हाे । कम्पनीको गत सोमबार अर्थात फागुन २१ गते आईपीओको निष्काशन बन्द भएको थियो । भारतमा भन्दा चाँडोः कार्की कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले भारतमा भन्दा पनि चाँडो सेयर बाँडफाँड को इतिहास रचेको बताए । भारतमा निष्काशन बन्द भएको ६ दिनभित्र सेयर बाँडफाँड गर्ने प्रचलन रहेको तर नेपालमा ३७ घण्टामै बाडफाँट गरेर इतिहास रचेको दावी उनको थियो । सिडिएसका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले पनि प्राथमिक सेयरको आवेदन र बाँडफाँडमा नजिर स्थापित गरेको दावी गरेका थिए ।

उन्नति माइक्रोफाइनान्सको कारोबार खुला, मूल्य रेञ्ज कतिदेखि कतिसम्म ?

काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको आज(मंगबलार)बाट सेयर कारोबार गर्न सकिने छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता १६८.५९ देखि ५०६ रुपैयाँसम्म मूल्य तोकेको छ । नेप्सेले सबै कम्पनीहरुलाई पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोकेको हुन्छ । साथै, जुनसुकै कम्पनीको सेयर नेप्सेमा सूचिकरण भएको ७ दिनमा पहिलो कारोबार शुरु हुनेछ । शान्तिनगरमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको हालसम्म ५ लाख ५० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको छ । साथै, यस कम्पनीको स्टक सिम्बोल यूएमबी रहेको छ ।