कम बोनस सेयर दिने बीमा कम्पनी बीमा समितिको अनुसन्धानमा

१३ माघ । हालै सगरमाथा इन्स्योरेन्सले २१.०५२ प्रतिशत नगद लाभांश र सिद्धार्थ इन्स्योरेन्सले १० प्रतिशत बोनस र १६.३१ प्रतिशत नगद लाभांश दिने घोषणा गर्यो । तर यो प्रस्ताव बीमा समितिको नियम विपरित भएको हुनसक्ने भन्दै समितिले कम्पनीहरुसंग वार्षिक वित्तिय विवरण माग गरेको छ । ‘हामी कहाँ वित्तीय विवरण आइपुगेको छ, अध्ययनको क्रममा छौं, ’ समितिका एक अधिकारीले बताए । बीमा समितिको नियम अनुसार कम्पनीहरुले वितरण योग्य मुनाफाबाट २० प्रतिशतभन्दा बढि नगद लाभांश दिन नपाउँने व्यवस्था छ । तर यी दुई कम्पनीले यो व्यवस्थामाभन्दा बढि नगद लाभांशको घोषणा गरेको बुझाईमा समितिमा अध्ययन भइरहेको हो । कसरी निकालिन्छ वितरण योग्य मुनाफा ? नियम अनुसार कम्पनीहरुले कमाएको नाफाबाट त्योभन्दा अघिको नोक्सान भएमा घटाउने र नाफा भएमा जोड्नु पर्ने ती अधिकारी बताउँछन । उनका अनुसार यसरी आउँने रकम डिफर्ड ट्याक्स (कम्पनी अगाडी नोक्सानमा जाँदा वा अन्य कारणले तिर्न बाँकी रहेको कर लगायत) मा घटाउनु पर्दछ । यसरी घटाएपछिको रकमबाट पुनः १० प्रतिशत रकम क्याटसट्रोफि फण्डमा छुट्याउनु पर्दछ । ‘यसरी छुट्याएपछिको बाँकी रकमबाट २० प्रतिशत मात्र नगद लाभांश दिन पाइने व्यवस्था छ,’ तीनले भने । अन्य रकम भने कम्पनीले बोनस सेयरको रुपमा दिन सक्दछ । सगरमाथा कम्पनीले हालको चुक्तापुँजीको २१.०५ प्रतिशत नगद लाभांश र सिद्धार्थ इन्स्योरेन्सले चुक्तापुँजीको १० प्रतिशत बोनस र १६.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । तर कम्पनीले घोषणा गरेको नगद लाभांश वितरण योग्य आयको २० प्रतिशत भए नभएको समितिले अध्ययन गरिरहेको छ । सगरमाथाले गत आवमा २० करोड रुपैयाँ र सिद्धार्थले १२ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

निर्जीबन बीमा ब्यवसायमा आधा हिस्सा मोटर बीमाको

८ माघ । निर्जीबन बीमा कम्पनीहरु मोटर बीमामा नै बढी केन्द्रित भएको पाइएको छ । मोटर बीमा वापद उठेको रकम कूल बीमा शुल्कको झण्डै आधा रहेको छ । सवै निर्जीबन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा उठाएको बीमा शुल्कको तथ्यांकले यस्तो देखाएको हो । बीमा समितिका अनुसार निर्जीबन बीमा ब्यवसायको करिब ५० प्रतिशत हिस्सा भने मोटर बीमा शुल्ककै रहेको छ । चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा २ अर्ब ८६ करोड रुपैयाँ कुल बीमा शुल्क उठेकोमा मोटर बीमा शुल्क मात्रै १ अर्ब २० करोड रुपैयाँ रहेको छ । कुल बीमा शुल्का मोटर बीमा वापद उठेको शुल्कको हिस्सा ४२ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । गत असोज महिनामा मात्रै निर्जीबन बीमा वापतको शुल्क ९५ करोड ९० लाख रुपैयाँ संकलन भएको छ । गत भदौ महिनामा सवै निर्जीबन बीमा कम्पनीहरुले १ अर्ब ९० करोड १८ लाख रुपैयाँ बीमा शुल्क उठेकोमा असोज महिनामा बढेर २ अर्ब ८६ करोड ८ लाख रुपैयाँ संकलन भएको छ । असोज मसान्तसम्ममा अग्नि बीमा वापत ७३ करोड ३१ लाख रुपैयाँ शुल्क उठेको छ । भदौ महिनामा यस्तो शुल्क ६१ करोड ३९ लाख रुपैयाँ संकलन भएको थियो । असोज महिनामा मात्रै अग्नि बीमा बापत ११ करोड ९१ लाख रुपैयाँ शुल्क उठेको छ । असोज महिनामा मोटर बीमा शुल्क ५१ करोड ४६ लाख रुपैयाँ संकलन भएको छ । भदौमा ६८ करोड ६३ लाख रुपैयाँ मोटर बीमा शुल्क उठेकोमा असोज महिनामा १ अर्ब २० करोड १० लाख रुपैयाँ संकलन भएको हो । असोज महिनामा सामुन्द्रिक बीमा बापत ६ करोठ ४० लाख रुपैयाँ बीमा शुल्क उठेको छ । भदौ महिनासम्ममा १४ करोड ८५ लाख रुपैयाँ सामुन्द्रिक बीमा शुल्क उठेकोमा असोज महिनासम्ममा यस्तो शुल्क २० करोड ८६ लाख रुपैयाँ उठेको तथ्यांकले देखाएको छ । असोज महिनामा मात्रै हवाइ बीमा वापत ७ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क उठेको छ । भदौ महिनासम्ममा ११ करोड ३१ लाख रुपैयाँको हवाइ बीमा शुल्क उठेकोमा असोजमा यस्तो शुल्क १९ करोड २३ लाख रुपैयाँ उठेको छ । असोज महिनामा इन्जिनियरिङ बीमा शुल्क वापत ३ करोड ३५ लाख रुपैयाँ बीमा शुल्क उठेको छ । भदौ महिनासम्ममा ८ करोड ५५ लाख रुपैयाँ यस्तोबीमा शुल्क उठेकोमा असोज महिनासम्ममा ११ करोड ९० लाख रुपैयाँ उठेको छ । असोज महिनामा विविध बीमा शुल्क भने १४ करोड ८४ लाख रुपैयाँ बीमा शु्ल्क उठेको छ । भदौ महिनासम्ममा २५ करोड ८१ लाख रुपैयाँ विविध बीमा शुल्क उठेकोमा असोज महिनासम्ममा यस्तो शुल्क ४० करोड ६६ लाख रुपैयाँ उठेको समितिको तथ्यांकमा उल्लेख छ ।

कुन बीमा कम्पनीको बजार हिस्सा कति ? (सूचिसहित)

७ माघ । चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा बीमा लेख, बीमा शुल्क र दाबी भुक्तानीको आधारमा शिखर इन्स्योरेन्स कम्पनी अगाडि देखिएको छ । संचालनमा रहेका १७ निर्जीबन बीमा कम्पनीमध्ये यी तीनवटा आधारमा शिखरको बजार हिस्सा बढी भएको पाइएको हो । बीमा समितिले दिएको तथ्यांक अनुसार चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा शिखरले ३० हजार ८४ ओटा बीमा लेख जारी गरेको छ । संख्या सवै निर्जीबन बीमा कम्पनीहरुले जारी गरेको बीमा लेखको १४ प्रतिशत हो । यो अवधिसम्मा नेपालमा २ लाख १४ हजार ३ सय ७० ओटा बीमा लेख जारी भएको थियो । यस्तै बीमा शुल्क संकलनमा शिखरले १२ दशमलब ४ प्रतिशत बजार हिस्सा ओघटेको छ । निर्जीबन बीमा कम्पनीहरुले २ अर्ब ६५ करोड १५ लाख रुपैयाँ बीमा शुल्क उठाएकोमा शिखरले मात्रै ३२ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क उठाएको समितिले जानकारी दिएको छ । अर्काे निर्जीबन बीमा कम्पनी एनएलजीले बजारमा दोस्रो सशक्त उपस्थिति जनाएको छ । चालु आर्थिक बर्षको तीन महिनामा एनएलजीले २९ हजार ६ सय ६८ ओटा बीमा लेख जारी गरेको छ । बीमा लेख जारी गर्नेमा एनएलजीको बजार हिस्सा १३ दशमलब ८४ प्रतिशत बजार हिस्सा रहेको छ । बीमा शुल्क संकलनमा एनएलजीले ८ दशमलब ७७ प्रतिशत बजार हिस्सा ओघटेको छ । उसले चालु आर्थिक बर्षको तीन महिनामा २३ करोड २६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । यस्तै ५ करोड १६ लाख रुपैयाँ दाबी भुक्तानी गरेर एनएलजीले दाबी भुक्तानीमा आफ्नो बजार हिस्सा ७ दशमलब ८२ प्रतिशत पुर्याएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको अवस्था पनि प्रतिस्पर्धात्मक नै देखिएको छ । चालु आर्थिको २६ हजार ३ सय ८५ बीमा लेख जारी गरी आफ्नो बजार हिस्सा १२ दशमलब ३१ प्रतिशत पुर्याएको छ । यस्तै बीमा शुल्क संकलनमा ६ प्रतिशत र दाबी भुक्तानीमा ६ दशमलब ९६ प्रतिशत बजार हिस्सा लुम्बिनीको छ ।