एशियन लाईफ इन्स्योरेन्सको बोनस सेयर पास, ६० प्रतिशत हकप्रद सेयर पनि अाउने
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कं.लि.को दशौं वार्षिक साधारणसभा बीरगंजमा जेठ १९ गते शनिवार सम्पन्न भएको छ । साधारणसभाले सेयरधनीलाई ४ करोड ८३ लाख ३५ हजार रुपैयाँ बोनस सेयर वितरण गर्ने जनाएको छ । उक्त नाफा कम्पनीले निष्काशन गरेको ५० प्रतिशत हकप्रद सेयर खरिद गर्नेले पनि पाउने कम्पनीले जनाएको छ । बोनस सेयर वितरणसँग कम्पनीको चुक्ता पुँजी १ अर्ब २५ करोड ६७ लाख रुपयाँ भएको छ । साथै कम्पनीको साधारणसभाले १०० बराबर ६० कित्ताको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ । हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी दुई अर्ब एक करोड सात लाख साठी हजार रुपैयाँ हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठले जानकारी दिए । बीमा समितिले जीवन बीमा कम्पनीहरुको लागि चुक्ता पूँजीे २ अर्ब रुपैयाँ तोकेकोे छ । कम्पनीको अधिकृत पूँजी ५ अर्ब रुपैयाँको रहेकोछ । साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष दीपककुमार श्रेष्ठद्धारा प्रस्तुत आ.व.२०७३/७४ को वार्षिक प्रतिवेदन पास गरेको छ । २०६४ देखि कारोवार संचालन गरेको यस कम्पनीको २०७४ सालचैत्र मसान्त सम्ममा १२ अर्ब ९ करोडको जीवन बीमा कोष र १२ अर्ब २८ करोड रुपैयाँ लगानी तथा कर्जामा रहेकोे छ । त्यस्तै गरी कम्पनीले चालु आ.व. को बैशाख मसान्त सम्ममा कूल २ अर्ब १६ करोड १४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरिसकेको छ । कम्पनीले २८ वटा शाखा तथा ६९ वटा उप शाखाहरुबाट बीमा सेवा प्रदान गर्दै आईरहेको छ । कम्पनीले हालसम्म बालबालिकालाई लक्षित गरी बाल उमंग तथा बाल भविष्य बीमा योजना, सबैको हातमा पेन्सन भन्ने नारा सहित पेन्सन बीमा योजना, एशियन सावधिक, अग्रिम भुक्तानी सावधिक, सुखी जीवन बीमा योजना, जीवन रत्न (सीमित भुक्तानी सावधिक) जीवनबीमा योजना, पति पत्नीको लागि संयुक्त सावधिक जीवन बीमा योजना तथा धन समृद्धि आदि जस्ता योजनाहरु प्रचलनमा ल्याएको छ । आगामी दिनहरुमा नेपालको ७७ जिल्लाको अधिकांश गाँउहरुमा समेत जीवन बीमाको पहुँच पुर्याई सर्व सुलभ बीमा सेवा प्रदान गर्ने तथा समय सापेक्ष र आकर्षक तथा नयाँ बीमा योजनाहरु ल्याउने कम्पनीको योजना रहेको छ ।
प्रभु इन्स्योरेन्सका अध्यक्ष कुशुम लामाद्धारा बीमा समितिमा सपथग्रहण
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडका अध्यक्ष कुसुम लामाले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई समक्ष सपथ ग्रहण लिएकी छिन् । बीमा समितिमा जेष्ठ १७ गते आयोजित एक कार्यक्रममा अध्यक्ष चापागाईबाट उनले पद तथा गोपनियताको सपथग्रहण गरी पदभार ग्रहण गरेकी हुन् । यसअघि सम्पन्न सञ्चालक समितिको बैठकबाट कुसुमलामा सर्वसम्मत रुपमा कम्पनीको अध्यक्ष चयन हुनुभएको थियो । आफूले सपथ लिएपछि प्रभु इन्स्योरेन्समा आयोजित कार्यक्रममा अध्यक्ष लामाले निर्वाचित सञ्चालक समिति सदस्यहरु राजेन्द्र मल्ल, कृष्णबहादुर कुवँर, अशोक खड्गी, रणकेशवप्रधान र राजगोपाल राजभण्डारीलाई सपथग्रहण गराएकी छिन् । कम्पनीमा कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चालक जितेन्द्र धितालले प्रतिनिधित्व गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले जानकारी दिए ।
राधी विद्युत कम्पनीको स्वतन्त्र सञ्चालकमा सुनिता निरौला
काठमाडौं । राधी विद्युत कम्पनीको स्वतन्त्र सञ्चालकमा सुनिता निरौला नियुक्त भएकी छिन् । बिहीबार सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले निरौलालाई उक्त पदमा नियुक्ति गरेको हो । निरौलाले आजै(शुक्रबार)देखी आफ्नो पदको कार्यभार सम्हाल्नेछिन् ।