आफ्नो कम्पनीको रातारात दाबी भुक्तानी लिने खेतानको एभरेष्ट इन्स्योरेन्सले भूकम्प पीडितलाई भुक्तानी दिन कन्जुस्याइ गर्यो
काठमाडौं, २५ मंसिर । आफ्नो कम्पनीमा आगलागी हुँदा रातारात बीमा दाबी भुक्तानी लिने खेतान ग्रुपको एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत १२ बैशाखको विनासकारी भूकम्पको कारण भएको क्षति भुक्तानीमा भने निकै कन्जुस्याइ गरेको छ । बीमा समितिले दिएको जानकारी अनुसार सो कम्पनीले गत २० मंसिरसम्ममा भूकम्पको कारण भएको क्षतिको करिब १० प्रतिशत मात्रै दाबी भुक्तानी गरेको छ । १७ निर्जीबन बीमा कम्पनीहरुमध्ये एभरेष्टले गरेको दाबी भुक्तानी सवैभन्दा कम हो । कम्पनीका मुख्य प्रर्वद्धक राजेन्द्र खेतान जसले कम्पनी कम्पनी मायोज चाउचाउको गोदाममा आगलागी हुदा प्रक्रिया नै पूरा नगरी रातारात करोडौं रुपैयाँ दाबी भुक्तानी लिएको थिए । सो कम्पनीमा १ सय ६४ ओटा दाबी परेको थियो । सो मध्ये ३५ ओटा दाबी नलाग्ने थिए । कम्पनीले अहिलेसम्म ७९ ओटा दाबीको भुक्तानी गरेको छ । यस्तै रकमको आधारमा हेर्दा सो कम्पनीमा २६ करोड ४२ लाख रुपैयाँ बराबरको दाबी परेको थियो । यसमध्ये कम्पनीले अहिलेसम्ममा २ करोड ७१ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको छ । एभरेष्टले गरेको दाबी भुक्तानी कुल दाबीको १० दशमलब २६ प्रतिशत मात्रै हो । एभरेष्टले केहि बर्ष अगाडि खेतान ग्रुप अन्तरगतकै कम्पनी मायोज चाउचाउको गोदाममा आगलागी हुदा प्रक्रिया नै पूरा नगरी रातारात दाबी भुक्तानी लिएको थियो । मायोजलाई दिइएको दाबी भुक्तानी प्रक्रियागत र नियमसंगत नभएको भन्दै नियामक बीमा समितिले कम्पनीको ब्यवस्थापन नै हस्तक्षेप गरी आफैले लिएको थियो । यस्तै प्रिमियर इन्स्योरेन्स कम्पनीले गरेको दाबी भुक्तानी पनि सन्तोषजनक छैन । सो कम्पनीले दाबीको १५ दशमलब ४५ प्रतिशत मात्रै भुक्तानी गरेको छ । सो कम्पनीमा १ अर्ब ७७ करोड ३० लाख रुपैयाँ बराबरको दाबी परेकोमा २७ करोड ३९ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी भएको छ । युनाइटेड इन्स्योरेन्स कम्पनीले दाबीको २० दशमलब ७८ प्रतिशत रकम मात्रै दाबी भुक्तानी गरेको छ । सो कम्पनीमा ९० करोड ४० लाख रुपैयाँ बराबरको दाबी परेकोमा १८ करोड ७८ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी भएको छ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले पनि दाबीको २१ दशमलब ९६ प्रतिशत मात्रै भुक्तानी गरेको छ । सो कम्पनीमा १८ करोड ६ लाख रुपैयाँ बराबरको दाबी परेकोमा गत २० मंसिरसम्ममा ३ करोड ९६ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी भएको छ । दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले दाबीको २४ दशमलब ५४ प्रतिशत भुक्तानी गरेको छ । सो कम्पनीमा ९२ करोड १९ लाख रुपैयाँ बराबरको दाबी परेकोमा अहिलेसम्ममा २२ करोड ५४ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी भएको छ । यस्तै प्रभु इन्स्योरेन्स कम्पनीले दाबीको २४ दशमलब ३५ प्रतिशत रकम दाबी भुक्तानी गरेको छ । सो कम्पनीमा १ अर्ब ७ करोड ९८ लाख रुपैयाँ दाबी परेकोमा अहिलेसम्ममा २६ करोड २९ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी भएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले दाबीको २५ दशमलब २९ प्रतिशत रकम दाबी भुक्तानी गरेको छ । सो कम्पनीमा ९० करोड ६६ लाख रुपैयाँ बराबरको दाबी परेकोमा २२ करोड ९३ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले दाबीको २९ दशमलब ५३ प्रतिशत रकम दाबी भुक्तानी गरेको छ । सो कम्पनीमा ४२ करोड ४ लाख रुपैयाँ बराबरको दाबी परेकोमा १२ करोड ४१ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले दाबीको ३३ दशमलब ५७ प्रतिशत रकम दाबी भुक्तानी गरेको छ । सो कम्पनीमा १ अर्ब २८ करोड ८६ लाख रुपैयाँ बराबरको दाबी परेकोमा ४३ करोड २५ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी भएको छ । प्रुडेन्सिय इन्स्योरेन्स कम्पनीले दाबीको ४१ प्रतिशत दाबी भुक्तानी गरेको छ । सो कम्पनीमा ५९ करोड ५१ लाख रुपैयाँ दाबी परेकोमा अहिलेसम्ममा २४ करोड ४३ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले दाबीको ४४ दशमलब ७३ प्रतिशत रकम दाबी भुक्तानी गरेको छ । सो कम्पनीमा १ अर्ब ६७ करोड ३० लाख रुपैयाँ बराबरको दाबी परेकोमा ७४ करोड ८३ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ । नेको इन्स्योरेन्स कम्पनीले दाबी रकमको ५२ दशमलब ८७ प्रतिशत रकम दाबी भुक्तानी गरेको छ । सो कम्पनीमा ६३ करोड ८७ लाख रुपैयाँ बराबरको दाबी परेकोमा अहिलेसम्ममा ३३ करोड ७७ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले दाबी रकमको ३६ दशमलब २९ प्रतिशत रकम दाबी भुक्तानी गरेको छ । सो कम्पनीमा ५ अर्ब २४ करोड ८८ लाख रुपैयाँ बराबरको दाबी परेकोमा अहिलेसम्ममा १ अर्ब ९० करोड ४६ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ । नेसनल इन्स्योरेन्स कम्पनीले दाबी रकमको ४५ दशमलब २७ प्रतिशत रकम दाबी भुक्तानी गरेको छ । सो कम्पनीमा ७५ करोड १९ लाख रुपैयाँ दाबी परेकोमा अहिलेसम्ममा ३४ करोड ४ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ । नेपाल इन्स्योरेन्स कम्पनीले दाबीको ७९ दशमलब ८२ प्रतिशत रकम दाबी भुक्तानी गरेको छ । सो कम्पनीमा ६५ करोड ९० लाख रुपैयाँ दाबी परेकोमा अहिलेसम्ममा ५२ करोड १५ लाख रुपैयाँ दाबी भुक्तानी भैसकेको छ । अहिलेसम्ममा दाबीको सवैभन्दा बढी भुक्तानी शिखर इन्स्योरेन्स कम्पनीले गरेको छ । सो कम्पनीले दाबीको ९२ प्रतिशत रकम दाबी भुक्तानी गरेको छ । सो कम्पनीमा ६६ करोड २३ लाख रुपैयाँ दाबी परेकोमा ६० करोड ९४ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ ।
बीमा समितिमा फेरि पस्यो अख्तियार
काठमाडौं, २७ असोज । बीमा समितिमा पुन अख्तियार छिरेको छ । समिति उच्च ब्यवस्थापनले विगतमा गरेका तीन विषयमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको अख्तियार स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अख्तियारको अनुसन्धान टोलीले समितिका अध्यक्षसहित उच्च ब्यवस्थापनसँग गत साता बयान लिएको छ । समितिका पूर्व कार्यकारी निर्देशक विनोद अर्याललाई पदवाट हटाएको, अर्याल नै संचालक रहेको कम्पनीलाई शंकास्पद बीमा दाबी भुक्तानी दिइएको र समितिका विभिन्न कोषमा रहेको रकम कम ब्याज आउने कल एकाउन्टमा राखी समितिलाई हानी नोक्सानी पु¥याएको विषयमा अनुसन्धान थालिएको हो । ‘समितिका पूर्वकार्यकारी निर्देशकलाई गैरकानुनी रुपमा पदवाट हटाएको, अर्याल नै संचालक रहेको कम्पनीलाई गैरकानुनी रुपमा शंकास्पद तरिकाले बीमा दाबी भुक्तानी गरिएको र समितिको पैसा कम ब्याज आउने कल एकाउन्टमा राखी हानी नोक्सानी पु¥याएको विषयमा अनुसन्धान थालिएको हो, समितिका उच्च ब्यवस्थापन र सरोकारवाला ब्यक्तिहरुसँग गत साता बयान लिइएको छ,’ अख्तियार स्रोतले भन्यो । अख्तियारको अनुसन्धान टोलीले समितिका पूर्वअधिकारी शेखर अर्यालसँग पनि बयान लिइसकेको छ । उनी अर्यालकै कार्यकालमा समितिवाट वाहिरिहेका थिए । अख्तियारले सो विषयमा यसअघि पनि अनुसन्धान गर्दै फाइल थन्क्याउदै गरेको थियो । यसपटक भने अन्तिम टुंगो लगाउने गरी अनुसन्धान थालिएको अख्तियार स्रोतको भनाइ छ ।
अफ्रिकन पुनर्बीमा कम्पनीले बीमा दाबी भुक्तानी दिएन
काठमाडौं, १३ असोज । अफ्रिकन पुनर्बीमा कम्पनीले गत बैशाखको विनासकारी भूकम्पको कारण भएको क्षतिको दाबी भुक्तानी गर्न आनाकानी गरेको छ । अन्य सवै पुनर्बीमा कम्पनीले दाबी भुक्तानीको लागि केहि रकम अग्रिम रुपमा प्रदान गरेका भएपनि सो कम्पनीले अहिलेसम्म भुक्तानी नगरेको हो । अन्य पुनर्बीमा कम्पनीहरुबाट अग्रिम रुपमा केहि रकम प्राप्त भएपनि अफ्रिकन कम्पनीवाट प्राप्त नभएको गुनासो आएको बीमा समितिले जानकारी दिएको छ । नेपाली बीमा कम्पनीले अफ्रिकन पुनर्बीमा कम्पनीसँग आफ्नो ब्यवसायको करिब १० प्रतिशत पुनर्बीमा गराउने गरेका अनुमान समितिको छ । ‘अन्य देशका पुनर्बीमा कम्पनीले अग्रिम रुपमै दाबी भुक्तानी गरेर सजिलो गरिरहेका छन्, तर अफ्रिकन पुनर्बीमा कम्पनीले अहिलेसम्म भुक्तानी नै गरेन भन्ने गुनासो नेपाली कम्पनीले गरिरहेका छन्,’ समितिका एक उच्च अधिकारीले भने । गत बैशाखको विनासकारी भूकम्पको कारण क्षति भएको भन्दै १८ अर्ब रुपैयाँ भन्दा बढीको दाबी परेको छ । यस्तो दाबी मध्ये नेपाली कम्पनीले अहिलेसम्म २ अर्ब ५९ करोड ९४ लाख रुपैयाँ अन्तिम दाबी भुक्तानी र १ अर्ब ८९ करोड ५१ लाख रुपैयाँ पेश्की स्वरुप दाबी भुक्तानी गरेका छन् । नेपाली कम्पनीले यति रकम बीमा दाबी भुक्तानी गरेकोमा पुनर्बीमा कम्पनीवाट २ अर्ब ५३ करोड ९८ लाख रुपैयाँ पेश्की पाएका छन् । यो रकममा अफ्रिकन पुनर्बीमा कम्पनीवाट एक रुपैयाँ पनि आएको छैन । अफ्रिकन पुनर्बीमा कम्पनीले अन्तिम भुक्तानी भएपछि सम्पुर्ण कागजात हेरेर भुक्तानी दिने भन्दै अग्रिम भुक्तानी नदिएको बीमा कम्पनीका अधिकारीहरुले बताएका छन् ।