नेपाल लाइफ इन्स्योरेन्सको नाफा ८३ प्रतिशत बढ्यो
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनामा खुदनाफा ८३ प्रतिशत बढाएको छ । कम्पनीले गत पुससम्म २७ करोड ९६ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १५ करोड ३० लाख रुपैयाँ नाफा गरेको थियो । नेपाल लाइफले आइतबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाशिक वित्तीय विवरणमा नाफा बढको उल्लेख गरिएको छ । गत पुससम्म कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको बीमा शुल्क आम्दानी ४६ प्रतिशत बढेर ७ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । कम्पनीले न्युनतम प्रतिहजार ६२ देखि ८२ रुपैयाँसम्म बोनस दिदै आएको छ । ६ महिनामा कम्पनीले ५६ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको आम्दानी २९ करोड ३२ लाख रुपैयाँ थियो ।
एसियन लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर स्वीकृत, न्युनतम ४१ देखि ८५ रुपैयाँसम्म पाउने
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर घोषणा गरेको छ ।कम्पनीले प्रतिहजार वार्षिक न्युनतम ४१ देखि ८५ रुपैयाँसम्म नयाँ बोनस दर घोषणा गरेको हो । नियामक बीमा समितिले स्वीकृत गरेपछि नयाँ बोनस दर सार्वजनिक गरिएको एसियनले जनाएको छ । गत आर्थिक वर्षको आर्थिक स्थितीको लेखाजोखा दर दायित्व मूल्याँकन बीमांकीय प्रतिवेदन समितिले स्वीकृत गरेको छ । कम्पनीको सावधिक तथा आजीवन बीमा न्यतम ५० देखि ८५ रुपैयाँसम्म निर्धारण गरिएको छ । यस्तै बालबच्चाको सावधिक जीवन बीमा ४१ देखि ७४ सम्म र सावधिक पनि ४१ देखि ७४ रुपैयाँ निर्धारण गरिएको छ । अगिम भुक्तानीअन्र्तगत १० देखि २५ वर्षसम्म न्युनतम ४३ देखि ७८ रुपैयाँसम्म बोनस पाइने कम्पनीले जनाएको छ ।
गुराँस लाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकासुरेन्स सम्झौता
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडका बीच बैंकासुरेन्स सम्झौता भएको छ । शुक्रबार सम्पन्न उक्त सम्झौतामा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र बैंकको तर्फबाट डेपुटी सीईओ प्रध्युमन पोखरेलले हस्ताक्षर गरेका छन् । सम्झौता मार्फत बैंकले गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक नगद फिर्ता जीवन बीमा र एउटै योजनामा सार्वधिक, आजीवन र पेन्सन जीवन बीमा योजना सहित १२ वटा जीवन बीमा योजना बिक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले उक्त सम्झौता गरेको हो । साथै, यस बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट यस कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । यस इन्स्योरेन्स कम्पनीले हालमात्र नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गरेको छ ।