राष्ट्र बैंकको ८ बुँदे नीतिगत व्यवस्था, बैंकलाई सहायक कम्पनी खोलेर ब्रोकरको काम गर्न खुला
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई सहायक कम्पनी खोलेर शेयर दलाल व्यवसायी (ब्रोकर)को काम गर्न पाउने व्यवस्था गरेको छ। त्यसका लागि सहायक कम्तिमा ५१ प्रतिशत स्वामित्व हुनु पर्नेछ । राष्ट्र बैंकले बुधबार एक निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई ब्रोकरको काम गर्नका लागि आठ बुँदे नीतिगत व्यवस्था गरेको हो । यस्ता छन् नीतिगत व्यवस्थाः १. वाणिज्य बैंकहरुले ब्रोकरको काम गर्न खोलिएको सहायक कम्पनीमा लगानी गर्दा वित्तीय स्वार्थ स्थापित हुने भएकोले सहायक कम्पनीमा गरिएको कूल लगानी रकमलाई पूँजीकोष गणना गर्दा प्राथमिक पूँजीबाट घटाई पूँजीकोष कायम गर्नु पर्नेछ । २. सहायक कम्पनी स्थापना प्रयोजनका लागि वाणिज्य बैंकले संगठित संस्थाहरुको संस्थाहरुको शेयर तथा डिबेञ्चरमा लगानी गर्दा लगानी हुने संस्थाको चुक्ता पूँजीको अधिकतम १० प्रतिशतको सीमामा छुट प्रदान गरिएको छ । ३. सहायक कम्पनीको नियमन, निरीक्षण र अन्य व्यवस्थाहरु नेपाल धितोपत्र बोर्डले तय गरेको नीति निर्देशन तथा विद्यमान व्यवस्था अनुरुप हुने व्यवस्था गरिएको छ। यस व्यवस्थाबाट उक्त सहायक कम्पनीमा नेपाल राष्ट्र बैंकको तर्फबाट आवश्यकता अनुसार निरीक्षण\सुपरिवेक्षण गर्नसक्नेछ । ४. वाणिज्य बैंकले आफ्नो वित्तीय विवरण पेश गर्दा सहायक कम्पनीको वित्तीय विवरणहरु समेत एकीकृत रुपमा पेश गर्नुपर्नेछ । सो प्रयोजनार्थ लेखा नीति र वित्तीय विवरण इ.प्रा. निर्देशन नं. ४ मा तोकिएबमोजिम पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । ५. वाणिज्य बैंक तथा सहायक कम्पनीबीच हुने कारोबरमा वित्तीय स्वार्थ हुने हुँदा त्यस्तो कारोबारलाई दुवै कम्पनीले सम्बन्धित पक्षबीच हुने कारोबार शीर्षक अन्तर्गत उल्लेख गरेर वित्तीय विवरणमा सो कारोबारको जानकारी दिनुपर्नेछ। प्रतिस्पर्धात्मक बजार मूल्यमा कारोबार नगरेमा वा त्यस्तो कारोबारबारे विस्तृत विवरण निर्देशानुसार प्रकाशित नगरेमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९९ र १०० बमोजिम केन्द्रीय बैंकले जुनसुकै जरिवाना र सजायँ गर्नसक्ने उल्लेख छ । ६. सहायक कम्पनीले आफूले जारी गरेको वा आफ्नो मूख्य (माउ) कम्पनीले जारी गरेको धितोपत्रको कारोबार गर्न बन्देज लगाइएको छ । ७. वाणिज्य बैंकहरुलाई सहायक कम्पनीले वित्तीय स्रोत संकलन गर्ने प्रयोजनले दायित्व स्वरुप निष्काशन गर्ने कुनैपनि सुरक्षणपत्रहरुमा लगानी गर्न नपाउने र सोको धितोमा कर्जा प्रवाह गर्न समेत रोक लगाएको छ । ८. सहायक कम्पनीले धितोपत्र व्यवसाय सम्बन्धि अन्य कार्य गर्न नपाउने व्यवस्था गरिएको छ ।
सन नेपाल र सिभिल बैंकबीच बैंकास्योरेन्स सम्झौता
काठमाण्डौ । सन नेपाल लाइफइन्स्योरेन्स र सिभिल बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफइन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र सिभिल बैंकको तर्फबाट सिबिओ सुजितकुमार शाक्यले हस्ताक्षर गरे । सम्झौता पछि सिभिल बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफइन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् । उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफइन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु सिभिल बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।
उपभोक्ता मुद्रास्फिती बढ्यो, काठमाडौँ उपत्यकामा ४.५ % पुग्यो
काठमाडौँ । काठमाडौँ उपत्यकामा गत वर्षको कात्तिक महिनाको तुलनामा उपभोक्ता मुद्रास्फीति बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको चार महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीमा गत कात्तिक महिनामा उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा चार दशमलव पाँच प्रतिशत पुगेको छ । विवरणअनुसार हिमालमा ४.६ प्रतिशत, पहाडमा ४.३ प्रतिशत र तराईमा ३.८ प्रतिशत उपभोक्ता मुद्रास्फति रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ५.४ प्रतिशत, ३.२ प्रतिशत, ४.७ प्रतिशत र ३.७ प्रतिशत रहेको थियो । यस्तै गैर–खाद्य तथा सेवा मुद्रास्फीति समीक्षा अवधिमा ६.४ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ५.१ प्रतिशत थियो । यस समूहअन्तर्गत यातायात, फर्निसिङ तथा घरायसी उपकरण, घरायसी सेवा तथा उपयोगिता लगायतका उप–समूहका वस्तु तथा सेवाहरुको मूल्यमा वृद्धि भएकोले समग्र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति बढ्न गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत कात्तिक महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति एक दशमलव तीन प्रतिशत थियो । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति दुई दशमलव तीन प्रतिशत थियो । समीक्षा अवधिमा दाल तथा गेडागुडी, चिनी तथा चिनीजन्य पदार्थ, तरकारी उप–समूहका वस्तुहरुको मूल्य घटेका कारण समग्र खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति न्यून रहेको हो । नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति गत कात्तिक महीनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव दुई प्रतिशत र भारतको दुई दशमलव तीन प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति तीन दशमलव नौ प्रतिशत र भारतको चार दशमलव नौ प्रतिशत थियो । गत कात्तिक महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति आठ दशमलव छ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति शुन्य दशमलव आठ प्रतिशत थियो । गैर–खाद्य पदार्थ, पेट्रोलियम पदार्थ, तयारी पोशाक, आधारभूत धातु लगायतका वस्तुको मूल्यमा वृद्धि भएकोले समग्र थोक मुद्रास्फीति बढ्न गएको हो । बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रलाई सो अवधिमा आठ दशमलव पाँच प्रतिशत कर्जा दिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो कर्जा छ दशमलव सात प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकको कर्जा आठ दशमलव तीन, विकास बैंकको ११ दशमलव दुई र वित्त कम्पनीको पाँच दशमलव एक प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा गत कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रलाई प्रवाह गरेको कर्जा २४ दशमलव पाँच प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६३ दशमलव दुई प्रतिशत कर्जा घर जग्गाको धितोमा गएको छ । यस्तै १४ दशमलव सात प्रतिशत कर्जा कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । गत वर्षको कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१ दशमलव दुई र १४ दशमलव पाँच प्रतिशत थियो ।