सबैको लघुवित्तको दोश्रो वार्षिक साधारण सभामा ९१ लाख नाफा सार्वजनिक

काठमाडौं । तनहुको बन्दीपुर १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्थाको दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले चालु आर्थिक वर्षमा सर्वसाधारणका लागी साधारण शेयर निष्काशन गर्ने सहितका निर्णय गरेको संस्थाका अध्यक्ष सृजना जोशीले बताइन । संस्थाले गत मंसिर मसान्त सम्म ३३ शाखाहरु मार्फत् १९ हजार १२९ सदस्यहरुमा असुल गर्न बाँकी कर्जा रु. १ अर्ब ५ करोड ८२ लाख २८ हजार लगानी गरी रु. २१ करोड ३२ लाख ५७ हजार बचत गरेको छ । यस अवधीमा संस्थाले रु ९१ लाख २ हजार खुद नाफा आर्जन गर्न सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव पौडेलले बताए ।

सानिमा लाईफ इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच बैंकास्याेरेन्स सम्झौता

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच बैंकास्याेरेन्स संझौता भएको छ । उक्त कार्यक्रममा कम्पनीका तर्फबाट महा प्रबन्धक शिवराम तिमल्सिना तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सानिमा लाईफ इन्स्योरेन्सका नायव महा प्रबन्धक केशव राज के.सी तथा वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठको समेत उपस्थिति रहेको थियो । सम्झौता अनुसार ग्राहकहकहरुले एनआईसी एसिया बैंकका २७८ वटै शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको प्रविधि युक्त आधुनिक स्तरको उत्कृष्ट जीवन बीमा सेवा उपभोग  गर्न सक्नेछन् ।  

प्रभु बैंकको शाखा गोरखाको बारपाकमा, भूकम्पपीडितलाई घरकर्जा हस्तान्तरण

काठमाडौँ । गोरखा जिल्लाको बारपाक सुलीकोट गाउँपालिका वडा नं. १ स्थित बारपाकमा पुस १४ गते प्रभु बैंकको बारपाक शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको छ । भूतपूर्व उप-प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले एक समारोहका बीच बैंकको बारपाक शाखा कार्यालयको उद्घाटन गरेका हुन् । बारपाक शाखा कार्यालय समुदघाटन समारोहमा प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै श्रेष्ठले २०७२ सालको महाभूकम्पबाट अति प्रभावित बारपाक सुलिकोट गाउँपालिकामा आप्mनो शाखा कार्यालय खोलेर सर्वसाधारणहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराई प्रभु बैंकले प्रशंसनीय कार्य गरेको एवम् यहाँका सम्पूर्ण संघ संस्था लगायत सर्वसाधारणहरुलाई प्रभु बैंकको अत्याधुनिक बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर प्राप्त भएको बताए । शाखा कार्यालय उद्घाटन समारोहमा विशेष अतिथिका रुपमा आमन्त्रित नेपाल पुनर्निर्माण प्राधिकारणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवालीज्यूले २०७२ सालको महाभूकम्पको केन्द्रविन्दु रहेको यस बारपाक सुलिकोट गाउँपालिकामा भूकम्प पीडितहरुलाई प्राथमिकताका साथ सहुलियत ब्याजदरमा भूकम्प पिडित कर्जा प्रवाह गर्ने उद्देश्यले शाखा कार्यालय विस्तार गरेकोमा प्रभु बैंक प्रति हार्दिक आभार प्रकट गर्दै प्रभु बैंकले नेपाल पुननिर्माण प्राधिकरणको कार्यमा सहयोगीको भुमिका निर्वाह गरेको बताए । उद्घाटन समारोहमा मन्तव्य राख्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समृद्ध नेपाल सुखी नेपाली भन्ने नेपाल सरकारको मुख्य लक्ष्यलाई प्रभु बैंकले बैंकिङ्ग सेवा मार्फत योगदान पुर्याउने अठोट गरे अनुसार बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका आम सर्वसाधारणहरुलाई बैंकिङ्ग प्रणालीमा ल्याउन गाउँगाउँमा पुगेर शाखा कार्यालय स्थापना गरिरहेको बताए । उक्त अवसरमा नेपाल राष्ट्र बैंकबाट जारी सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ अन्तर्गत विभिन्न ५ जना भुकम्प पीडितहरुलाई सहुलियत ब्याजमा भूकम्प पीडित घरकर्जा स्वीकृत गरी प्रमुख अतिथि श्रेष्ठबाट  हस्तान्तरण गरिएको थियो ।