अजोड इन्स्योरेन्स र ओम हस्पिटलबीच क्यासलेस सेवा सम्झौता

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेण्टर बीचनगद रहित(क्यासलेस) उपचार सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री तथा अस्पतालका तर्फबाट प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले सहमतीपत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अजोड इन्स्योरेन्सबाट औषधोपचार बीमालेख लिएका ग्राहकहरुले हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा ओम हस्पिटलबाट क्यासलेस अर्थात नगदरहित उपचार सेवा उपयोग गर्न पाउने छन् । अजोड इन्स्योरेन्सले स्वास्थ बीमामा जोड दिएको र आगामी दिनमा पनि धेरै भन्दा धेरै मानिसमा स्वास्थ बीमाबारे सचेतना बृद्धि गर्ने उद्धेश्यले उक्त सम्झौता गरेको जनाएको छ । त्यस्तै, इन्स्योरेन्सले देशैभरीका हस्पिटलसंग सम्झौता गर्ने उद्देश्यका साथ उपत्यकाका विभिन्न हस्पिटलमा उक्त सम्झौता गरिसकेको छ । साथै, उपत्यका बाहिरका अस्पतालमा पनि छिटै सम्झौता गर्ने कम्पनीले जनाएको छ ।

नागरिक लगानी कोषमा भद्रगोल, हिसाब किताब नमिलेपछि सेयरधनी आक्रोषित

काठमाडौं । नेपाल सरकारको समेत लगानी रहेको नागरिक लगानी कोषको हिसाब किताब भद्रगोल देखिएपछि सर्वसाधारण सेयरधनी आक्रोषित भएका छन् । महालेखापरीक्षकको प्रतिवेदनले नागरिक लगानी कोषका काम कारवाही प्रक्रियामा प्रश्न चिह्न देखाएपछि सेयरधनी रुष्ट भएका हुन् । आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुपर्नेमा सो समस्याका कारण कोषले शुक्रबार(आज) राजधानीमा २३औँ वार्षिक साधारणसभामा आव २०७३/७४को मात्रै प्रतिवेदन पेश गरेको छ । उक्त प्रतिवेदनमाथि टिप्पणी गर्दै सेयर सदस्य जयन्द्र बानियाँले नागरिक लगानी कोषको हिसाबमा भद्रगोल देखिएको भन्दै संलग्न व्यक्तिलाई कारवाहीको माग गरेका छन् । “लगानीको हिसाब यकिन छैन, बैंकको ब्याज चुस्त छैन, आफ्नै संस्थाको योजना र लगानी विभागकै हिसाब फरक छ, यो कसले हेर्ने, उनीहरुलाई कारवाही नगरे कसलाई गर्ने”, उनले आक्रोश पोखेका छन् । महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनअनुसार आव २०७३/७४ मा नागरिक लगानी कोषले अधिकांश काम प्रक्रियागत रुपमा देखिएको छैन । कोषले भौतिक सम्पत्तिको परीक्षणसमेत नगराएको र जोखिम कम हुने लगानीका क्षेत्र पहिचान गर्न नसकेको प्रतिवेदनमा जनाइएको छ । कोषको लेखातर्फको अभिलेखानुसार १२ योजनामा आव २०७३/७४ मा कूल ७१ अर्ब ४५ करोड रुपैयाँ लगानी रहेकोमा लगानी विभागको अभिलेखमा ६५ अर्ब २२ करोड रुपैयाँ मात्र देखिएकाले यकिन गरी फरफारक नगरेको प्रतिवेदनमा उल्लेख छ । लगानीमा अख्तियार प्राप्त अधिकारीबाट स्वीकृत गराउनुपर्नेमा सञ्चालक समितिको निर्णयको आधारमा लगानी गरेको पाइएको छ । सेयर लगानीको समेत अध्यावधिक नगरेको तथा मुद्दती निक्षेपमा लगानी रकम भिडान नगरेकाले योजना र लगानी विभागको विवरणमा पाँच अर्ब ७२ करोड रुपैयाँ फरक परेको देखिएको छ । यस्तै ब्याज असुलीमा ध्यान नदिएको र समस्याग्रस्त बैंकबाट पाउनुपर्ने ब्याज ६१ करोड ९९ लाख रुपैयाँ असुलउपर गर्नसमेत ध्यान नदिएको उल्लेख छ । कोषको ४० बैंक खातामा लेजर हिसाबमा मौज्दात ४३ करोड ८२ लाख रुपैयाँ देखिएको र बैंक स्टेटमेन्टमा एक अर्ब १० करोड १७ लाख रुपैयाँ देखिएकाले ६६ करोड ३५ लाख रुपैयाँ फरक रहेको देखिएको छ । विभिन्न योजनामा बैंक हिसाब मिलान विवरण तयार नगरिएको र भएकामा पनि ठूलो भिन्नता रहेकाले कार्यसम्पन्न नगर्ने पदाधिकारी तथा कर्मचारीलाई जिम्मेवार बनाउन विगतमा भनिएपछि समस्या दोहोरिएको पाइएको छ । अन्तरशाखा लेनदेन हर हिसाब फछ्र्यौट नगरेको, कोषको फण्ड खाता सञ्चालनमा विनियमावलीभन्दा फरक किसिमले कारोवार गरेको पाइएकाले उल्लङ्घन गर्नेलाई कारवाही गर्नुपर्ने प्रतिवेदनले औँल्याएको छ । रासस

सिभिल क्यापिटलले मेडिसिटीका कर्मचारीलाई ५० प्रतिशतसम्म सहुलियत दिने

काठमाडौं । सिभिल क्यापिटल मार्केटले नेपाल मेडिसिटी अस्पतालका कर्मचारीलाई ५० प्रतिशतसम्म सहुलियत दिने भएको छ । सो सम्बन्धि सम्झौतापत्रमा नेपाल मेडिसिटीका तर्फबाट महाप्रबन्धक विजय रिमाल तथा सिभिल क्यापीटलका कार्यकारी सीईओ सुमन आचार्यले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार क्यापिटल मार्केटमा संलग्न हुने मेडिसिटीका कर्मचारीले सिभिल क्यापीटलमार्फत ५० प्रतिशत सहुलियतका साथै अस्पतालको सेवामा सिभिल क्यापीटलका कर्मचारी तथा सेवाग्राहीले अस्पतालको उपचार सेवामा विशेष सहुलियत पाउने छन् । स्वास्थ्य उपचारमा संलग्न भई स्वास्थ राष्ट्र निर्माण गर्ने उद्धेश्यले यस सम्झौता गरिएको अस्पतालका महाप्रबन्धक विजय रिमालले बताएका छन् ।