अब मोबाइलबाटै पाइन्छ सांग्रिला बैंकको बैंकिङ्ग सुविधा

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मोबाईल बैंकिङ्ग सुविधा ल्याएको छ । नयाँ मोबाईल बैंकिङ्ग (बैंक स्मार्ट) मा थप सुविधा सहित अन्तर बैंक रकम ट्रान्सफर, इन्स्योरेन्स पेमेन्ट, बायोमेट्रिक लग इन, क्युआर पेमेन्ट, मोबाईल टपअप, एअर टिकट खरिद जस्ता विभिन्न अन्य सुविधाहरु सहित बैंक स्मार्ट भि फाईभको शुरुवात गरेको हो । मोबाईल एप्सबाट ग्राहकहरुले आफूसंग रहेका मोबाईलबाट नयाँ सुविधाहरु उपयोग गर्न सक्ने छन् । नयाँ सुविधा भएको मोबाईल बैंकिङ्ग (बैंक स्मार्ट) एप्स एसएमएस र जिपिआरएस दुबैबाट प्रयोग गर्न सकिने बैंकले जनाएको छ । बैंकले हाल संचालनमा रहेका ८५ वटै शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई यो सुविधाको थालनी गरेको जनाएको छ । साथै बैंकले मोबाईल बैंकिङ्ग, लकर, एटिम, इन्टरनेट बैंकिङ्ग, एबिबिस, रेमिटयान्स जस्ता सुविधाहरु दिंदै आएको बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।

छिमेक लघुवित्तको नगद लाभांश वितरण सुरु, बोनस सेयर चाँहि कहिले ?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(जेठ ६ गते)आइतबारदेखि सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । संस्थाले गत आर्थिक वर्षको चुक्ता पुँजीको २२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्न लागेको हो । संस्थाले उक्त नगद लाभांश सेयर रजिष्टार एनएमबी क्यापिटल लिमिटेडले सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरिदिने भएको छ । त्यसैले डिम्याट खाता अद्यावधिक गर्न संस्थाले लगानीकर्तालाई आग्रह गरेको छ । सेयरधनीको संख्या धेरै भएकाले क्रमश बैंक खातामा लाभांश जम्मा हुने संस्थाले जानकारी दिएको छ । साधारणसभा प्रयोजनका लागि बुक क्लोज हुने मितिसम्म कायम रहेका सेयरधनीको हितग्राही बैंक खाताको विवरण अद्यावधिक भएको हकमा सोही खातामा रकम जम्मा हुने भएको छ । संस्थाको हालैमात्र सम्पन्न १७औँ वार्षिक साधारणसभाले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको थियो । सो मध्ये २२ प्रतिशत नगद लाभांश आज देखि वितरण भएपनि १८ प्रतिशत बोनस सेयर वितरणमा भने ढिलाई हुने संस्थाले जनाएको छ । उक्त बोनस सेयर नेप्सेमा सूचिकृत भएपश्चात प्रत्येक सेयरधनीहरुको खातामा जम्मा गरिदिने लघुवित्तले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकका उत्कृष्ट कर्मचारी पुरस्कृत, सर्वोत्कृष्ट पुरस्कार बिमल डंगोललाई

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५४ औं वाषिकोत्सबको अवसरमा २०७५ माघ १० गते घोषणा गरिएको आव २०७४÷०७५ मा उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालयहरु तथा कर्मचारीहरुलाई पुरस्कार वितरण गरिएको छ । बैंक संचालक समितिका अध्यक्ष महेन्दमान गुरुङ्गले एक समारोहका बीच पुरस्कार वितरण गरेका हुन् ।सर्वोत्कृष्ठ कार्य सम्पादन गरे वापत सर्वोत्कृष्ठ कर्मचारी पुरस्कार बित्त विभागका विभागीय प्रमुख मुख्य प्रवन्धक बिमल डंगोललाई नगद रु ५० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी उत्कृष्ठ कार्य सम्पादन गरे बापत अन्य २८ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी पुरस्कार नगद रु २० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । सो अवसरमा सर्वप्रथम हुने शाखा कार्यालय सन्धिखर्क शाखालाई नगद रु ५० हजार, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरियो । सन्धिखर्क शाखाका तर्फबाट शाखा प्रवन्धक गोपालप्रसाद न्यौपानेलाई हस्तान्तरण गरियो । त्यसैगरी, अन्य उत्कृष्ट कार्य सम्पादन गर्ने १४ वटा शाखा कार्यालयका प्रवन्धकहरुलाई नगद रु १० हजार देखि रु ३० हजार सम्म, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरियो । उत्कृष्ठ कार्य गर्ने पाँच जना शाखा प्रवन्धकहरुलाई पनि पुरस्कृत गरियो । साथै कर्मचारीहरुलाई विषगत प्रशिक्षण समेत प्रदान गरिएको बैंकले जनाएको छ । उक्त कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष गुरुङ्गले उत्कृष्ट कर्मचारी तथा शाखा कार्यालयका प्रवन्धकहरुलाई पुरस्कार प्रदान गर्दै बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ प्रविधि र सोचको विकास भैरहेको सन्दर्भमा सरकारी बैंकले साधारण बैंकिङ्ग सेवा मात्र दिएर प्रतिस्पर्धी बजारमा टिक्न नसकिने हुँदा आधुनिक सेवा दिनु पर्ने विचार ब्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रावा बैंक क्लिन र स्मार्ट बैंकिङ्गको रुपमा अगाडि बढ्दै हरेक क्षेत्रमा आफुलाई सक्षम साबित गरेको विचार ब्यक्त गरे । कार्यक्रममा बैंक संचलक समितिका सदस्यहरु रवीन्द्रलाल श्रेष्ठ, जनककुमार बराल, अर्जुनबहादुर अधिकारी, नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृतहरु केशबप्रसाद लम्साल, टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, विभागीय प्रमुखहरु लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, रावा बैंक कर्मचारी संघ नेपालका महासचिव लक्ष्मीप्रसाद पाण्डेय, नेपाल वित्तीय संस्था कर्मचारी संघ, रावा बैंकका अध्यक्ष गगनसिंह घिमिरे, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रावा बैंकका अध्यक्ष दिपेन्द्र कार्कीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । उपकार्यकारी अधिकृत टेकराज जोशीले स्वागत मन्तब्य तथा ब्रान्च अपरेशन विभागका उप प्रवन्धक जितेन्द्रसिंह थापाले कार्यक्रम संचालन गरेका थिए ।