ज्योति र हाम्रोबीच एकिकृत कारोबार शुरु, सबैभन्दा ठूलो विकास बैंक बन्न सफल

काठमाडौं । राष्ट्रियस्तरकाे ज्योति विकास बैंक र हाम्रो विकास बैंकबीच एकिकृत कारोबार शुरु भएको छ । ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई प्राप्ति गरी ज्योति विकास बैंक लिमिटेडको नामबाट शुक्रबारदेखि एकिकृत कारोबार शुरु गरेको हो । उक्त एकिकृत कारोबारको शुभारम्भ शुक्रबार एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले गरेका छन् । कार्यक्रममा रेग्मीले ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई प्राप्ती गरेपछि झनै बलियो भएको र बैंकिङ्ग सेवा अझ विस्तारित हुने विश्वास व्यक्त गरेका छन् । साथै, ज्योति विकास बैंकका अध्यक्ष हरिचन्द्र खड्काले अब थप जिम्मेवारी बढेको बताउँदै अझ विस्तारित सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै, हाम्रो विकास बैंकका अध्यक्ष हरि प्रसादले हाम्रो विकास बैंकले नागरिक र देशको लागि योगदान दिएको र उक्त कार्य अब अझ विस्तारित रुपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । त्यसैगरी, ज्योति विकास बैंकका प्रमूख कार्यकारी अधिकृत(सीईओ) मनोजकुमार ज्ञवालीले एकिकृत कारोबार पश्चात् ज्योति विकास बैंक राष्ट्रियस्तरको बैंकहरुमा चुक्ता पुँजीको हिसावले सबैभन्दा ठुलो विकास बैंक भएको बताएका छन् । साथै, शाखा सञ्जाल र बैंङ्गिग सेवाको दृष्टिले उत्कृष्ट बैंक भएको बताउँदै लघुकर्जा देखि ठुला औद्योगिक कर्जा लगानी गर्न र अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्न प्रतिवद्ध रहेको उनले जानकारी दिए । एकिकृत कारोबार पश्चात् ज्योति विकास बैंक चुक्ता पुँजीको हिसावले देशकै ठुलो विकास बैंक बन्न सफल भएको छ । विकास बैंकको चुक्ता पुँजी ३ अर्ब १० करोड रुपैयाँ पुगेको छ । त्यस्तै, निक्षेप २६ अर्ब ३८ करोड र कर्जा २३ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । ग्राहक संख्या २ लाख ४० हजारभन्दा बढि पुगेको ज्योति विकास बैंकले सो अवसरमा नुवाकोटको बट्टार बजारमा नयाँ एटिएम समेत संचालनमा ल्याएको छ । अब विकास बैंकको एटिएम संख्या २३, शाखा संख्या ९५ र एक्स्टेन्सन काउन्टर संख्या २ पुगेको संस्थाले जानकारी दिएको छ ।

नेशनल लाईफ इन्स्योरेन्सको १३.५ प्रतिशत बोनस पारित, बीमा शुल्क ५०६ करोड

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको १३.५ प्रतिशत बोनस प्रस्ताव पारित भएको छ । शुक्रबार सम्पन्न कम्पनीको ३०औँ वार्षिक साधारणसभाले कम्पनीको सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७३/७४(गत आव)को लागि चुक्ता पुँजीको सो मात्राको बोनस सेयर बितरण गर्ने छ । साथै, सभाले कर प्रयोजनको लागि नगद लाभांश एक करोड ८८ लाख रुपैयाँ पारित गरेको छ । गत आवमा कम्पनीले कूल ५०६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको कम्पनीका अध्यक्ष प्रेमा सिंहले बताएकी छिन् । सो अवधिमा कम्पनीले १६९ करोड रुपैयाँ कूल दावी भुक्तानी गरेको एवम् द्धज्ञ करोड रुपैयाँको खुद मुनाफा आर्जन अध्यक्ष सिंहले जानकारी दिएकी छिन् । यसैगरी आर्थिक वर्ष २०७३/७४को अन्तसम्ममा कम्पनीको कुल लगानी १९.४२ प्रतिशतले बृद्धि भई १६ अर्ब ९६ करोड पुगेको छ । कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २०.८० प्रतिशतले वृद्धि भई २०७४ असार मसान्तसम्ममा १७ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । गत साधारण सभाबाट पारित निर्णय अनुसार ६० प्रतिशत हकप्रद सेयर र बोनस सेयर वितरण पश्चात कम्पनीको कूल चुक्ता पूँजी ३ अर्बभन्दा बढी इन्स्योरेन्सले जानकारी दिएको छ ।

यूनिभर्सल पावरको वार्षिक साधारणसभा जेठ २० गते, कम्पनी सचिवमा श्रेष्ठ नियुक्त हुँदै

काठमाडौं । यूनिभर्सल पावर कम्पनीले आगामी २०७६ जेठ २० गते वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणसभा उक्त दिन गर्न लागेको हो । उक्त सभाले कम्पनीको कम्पनी सचिव परिवर्तन गरी देबबहादुर श्रेष्ठलाई नियुक्त गर्दै छ । साथै, कम्पनीका संचालक पुष्पेन्द्र भट्टराईले दिएका राजीनामालाई जेठ २० गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने कम्पनीले जनाएको छ । उक्त निर्णय कम्पनीको २०७५ चैत १४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो ।