कामना सेवाबाट शिखर इन्स्योरेन्सको बीमा सेवा पाइने

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र शिखर इन्स्योरेन्स लिमिटेडबीच बैंकान्स्योरेन्स सम्बन्धी संझौता भएको छ । सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ८१ वटै शाखाहरुबाट सहज रुपमा शिखर इन्स्योरेन्स लिमिटेडको निर्जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र शिखर इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् ।

महोत्तरीको बर्दिवासमा ग्लोबल आइएमई बैंकका शाखा सञ्चालन

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रदेश नं. २को महोत्तरी जिल्ला, बर्दिवास नगरपालिका वडा नं. १ बर्दिवास चोकमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बुधबार बर्दिवास शाखा कार्यालय थप भए संगै बैंकको शाखा कार्यालयहरुको संख्या १३६ पुगेको छ । महोत्तरी जिल्ला र त्यस वरपरका बासिन्दालाई सेवा पुर्याउने उद्देश्यले खोलिएको शाखाले सरल तथा सुलभ बैंकिङ्ग सेवा प्रदान गर्नेछ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमाशाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

खाता खोल्दा ग्राहकलाई बैंक तथा वित्तीय संस्थाबाट सय रुपैयाँ !

काठमाडौँ । नयाँ बचत खाता खोल्ने ग्राहकलाई बैंक तथा वित्तीय संस्थाले प्रतिखाता सय रुपैयाँ हालिदिने भएका छन् । सरकारको ‘सबै नेपालीको बैंक खाता’ कार्यक्रमलाई सहयोग पुर्‍याउने उद्देश्यले बैंक तथा वित्तीय संस्थाले प्रतिखाता सय रुपैयाँ खर्च गर्न लागेका हुन् । यसका लागि राष्ट्र बैंकले परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थालाई निर्देशन पनि दिइसकेको छ । बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले बुधबार हरेक नयाँ खातामा सय रुपैयाँ जम्मा गरिदिने निर्णय गरेको छ । यो कार्यक्रम ०७६ वैशाख १ देखि लागू हुनेछ । उक्त वर्षभरि खुल्ने प्राकृतिक व्यक्ति (व्यक्तिगत) खातामा बैंक तथा वित्तीय संस्थाले सय रुपैयाँ हालिदिन लागेका हुन् । उक्त रकम बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) मा गणना गर्न पाउनेछन् । संस्थागत खातामा भने यो व्यवस्था लागू हुने छैन । बचत खाताको ब्याजदर भने बैंकअनुसार फरकफरक हुनेछ । पछिल्ला केही वर्षयता सरकारले वित्तीय पहुँच विस्तारका लागि सबै नेपालीको बैंक खाता कार्यक्रम घोषणा गर्दै आएको छ । कार्यक्रम घोषणा भए पनि अपेक्षित रूपमा वित्तीय पहुँच विस्तार भएको देखिँदैन । यही कारण सरकारले आउँदो वैशाखदेखि उक्त कार्यक्रमलाई व्यापक बनाउन लागेको छ । कार्यक्रमलाई सफल प्रभावकारी बनाउन अर्थ मन्त्रालय, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाले सहकार्य गर्न लागेका हुन् । यो कार्यक्रमअनुसार नयाँ खाता खोल्दा ग्राहकले यसअघि कुनै बैंक तथा वित्तीय संस्थामा खाता नभएको पुष्टि गर्नुपर्नेछ । यसको अर्थ यसअघि बैंक खाता खोलिसकेका ग्राहक यो कार्यक्रममा सहभागी हुन पाउने छैन । बैंकिङ पहुँचमा नभएका ग्राहकलाई लक्ष्यित गरी यो कार्यक्रम ल्याइएकाले पहिल्यै खाता भइसकेका ग्राहकले सुविधा नपाउने राष्ट्र बैंकले जनाएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।