
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले डिजिटल भुक्तानी प्रणाली विस्तार र प्रवद्र्धन गर्न युकेएडको सक्षमसँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधान र सक्षमका टीम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका हुन् ।
एनसीएचएलले कनेक्टआईपीएस ई पेमेन्ट प्रणाली प्रवद्र्धन गर्न, नेशनल पेमेन्ट इन्टरफेस(एनपीआई) लागू गर्न तथा सेटलमेन्ट ग्यारेन्टी फण्ड(एसजीएफ) विस्तार गर्न एक्सेस् टु फाइनान्स(सक्षम) प्रोग्रामसँग साझेदारी सम्झौता गरेको हो ।
उक्त परियोजना अन्तर्गत कनेक्ट आईपीएस ई पेमेन्ट प्रणालीको प्रवर्द्धन गर्ने तथा त्यसको बारेमा सचेतना जगाउने र तालिम दिने एनसीएचएलले जनाएको छ । साथै, नेशनल पेमेन्ट इन्टरफेस(एनपीआई) निर्माण गरी लागू गर्ने र सेटलमेन्ट ग्यारेन्टी फण्डको विस्तार गर्ने बताइएको छ ।
उक्त परियोजनाले नेपालका बैंक वित्तिय संस्थाहरु लगायत तीनका ग्राहकहरु, सरकारी तथा अर्ध(सरकारी निकायहरु, ठूला कर्पोरेटहरु, साना तथा मझौला कम्पनीहरु, पीएसपी/पीएसओ लगायतका विभिन्न लाभग्राही समूहहरुलाई प्रभाव पार्ने विश्वास लिइएको छ । यस परियोजनाले पीटुपी, पीटुजी, जीटुपी, सीटुबी तथा सीटुबी जस्ता कारोबारहरुलाई बृद्धि गरी डिजिटल अर्थतन्त्रको निर्माण गर्ने सरकारी योजनालाई समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
उक्त कार्यक्रममा एनसीएचएलका सीईओ प्रधानले भने, “हामीले नेपाल राष्ट्र बैंकको राष्ट्रिय भुक्तानी प्रणाली विकास रणनीतिसँग मेल खाने गरी विभिन्न भुक्तानी प्रणालीहरूको स्थापना तथा सञ्चालन गरि आएका छौं । हाल रणनीतिक रुपमा त्यस्ता प्रणालीहरूलाई समेत एकीकृत गर्ने, बैंक तथा वित्तीय संस्थाहरू तथा भुक्तानी क्षेत्रका सरोकारवालाहरूलाई डिजिटल भुक्तानी सेवाहरू विस्तार गर्नको लागि आवश्यक मद्दत पुर्याउने रहेको छ । हाम्रो डिजिटल भुक्तानी सेवा विस्तार गर्न गरिएका पहलहरुका लागि आजको साझेदारीले मद्दत पुग्ने अपेक्षा गरेका छौं । ”
सक्षमका टीम लिडर दाहालले मन्तव्यको क्रममा भने, “आरटीजीएस तथा सीएसडी प्रणालीहरूको स्थापना तथा सञ्चालनको लागि सक्षमले नेपाल राष्ट्र बैंकलाई सहयोग गर्दै आएको र हाल कार्यन्वयनको चरणमा रहेको छ । सक्षमले सहयोग गर्ने तथा मुख्य सरोकारवालाहरूसँग काम गर्ने परिकल्पना गरेको छ । नेपालमा डिजिटल भुक्तानी प्रणालीको विकासलाई, बैंक तथा वित्तीय संस्था, पीएसपी÷पीएसओ, विभिन्न संस्था र ग्राहकहरूको लागि साझा प्रणाली उपलब्ध गराई ती संस्थाहरूले विना अवरोध भुक्तानी सेवा प्रवाह गर्न एनसीएचएलसँगको यस साझेदारीले सहयोग गर्ने छ ।”
सक्षम– एक्सेस् टु फाइनान्स प्रोग्राम नेपाल तथा युके सरकारबीच भएको सम्झौताको अनुसार युकेएडको सहयोगमा सञ्चालित कार्यक्रम हो । उक्त प्रोग्रामलाई लुइस बर्जरले स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको साझेदारीमा डीएफआईडीको लागि नेपालमा कार्यान्वयन गर्दै आएको छ ।
नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्धारा प्रवद्र्धित संस्था एनसीएचएलले अधिकांश बैंक तथा वित्तीय संस्थाहरू तथा केही गैर बैंकिङ संस्थाहरूको निम्ती एनसीएचएल-इसीसी, एनसीएचएल-आईपीएस तथा कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीहरू स्थापना गरी संचालन गर्दै आइरहेको छ ।