काठमाडौं । बजारमा नक्कली नोट छ्यापछ्याप्ती बढ्न थालेपछि राष्ट्र बैंकले सर्वसाधारणलाई नोट पहिचान गर्ने उपाय सिकाएको हो ।
बैंकले सोमबार एक सय, पाँच सय र एक हजारदरका सक्कली नोटहरूमा कहाँ कस्ता विशेषता हुन्छन् र नोटलाई कसरी सक्कली र नक्कली छुट्याउन सकिन्छ भनी सुझाएको छ ।

सक्कली नोटमा विशेष सुरक्षा अपनाइएको हुनाले यस्ता नोट सहजै छुट्याउन सकिने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए । ‘आम सर्वसाधारणले सक्कली नोट सहजै पहिचान गर्न सकुन् भनेर सक्कली नोटका विशेषताहरूका वारेमा जानकारी गराइएको हो,’ उनले भने ‘एक हजारदरका नोट दृष्टिविहिनले पनि सहजै छामेर पहिचान गर्न सक्छन् ।’