अनिल शाहको व्यङ्ग्य, ‘१५ दिनमा बिहे गर्नुपर्छ, लभ गर्न हिँडें’

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले आफूहरुले १५ दिनपछि बिहे गर्नुपर्ने भन्दै लभ गर्न हतारो भएको भन्दै गभर्नरप्रति व्यङ्ग्य गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीतिपछि बिहे गर्नुपर्ने भन्दै त्योभन्दा अघि लभ गर्न बैंकहरुलाई निर्देशन दिएका थिए । शुक्रबार नेपाल वित्तीय संस्था कर्मचारी संघको कार्यक्रममा सामाजिक सुरक्षा कार्यक्रममा बैंकको सहभागितामा देखिएको अन्यौलबारे बोल्दै शाहले राष्ट्र बैंक र सरकारले दिएको निर्देशन मान्न आफूहरु बाध्य हुने भन्दै सरकारले बैंक तथा वित्तीय संस्थालाई पत्र लेख्नुअघि नै त्यसो सम्बोधन गर्न पहल गर्न भनेका हुन् । ‘सरकारले दिएको निर्देशनलाई हामी कुनै पनि अवस्थामा नमान्न सक्दैनौं, लभ गर्न ७ दिनको समय छ, १५ दिनभित्र बिहे गर्नुपर्छ, म त लभ गर्न हिँडें’ शाहले भने । सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थाअनुसार बैंकका कर्मचारीहरु सो कार्यक्रममा जाँदा हाल पाउँदै आएको सेवासुविधा समेत कटौती हुने अवस्था आएपछि कर्मचारीहरुमा सो कार्यक्रममा जाने कि नजाने भन्ने बारेमा अन्यौलता उत्पन्न भएको छ । बाध्यकारी मानिएको सो कार्यक्रमले हाल बैंक तथा वित्तीय संस्थाले सञ्चालन गरेको स्वायत्त कोषहरुलाई समेत कोषको दायरामा लैजाने व्यवस्था गरेको छ । यसले गर्दा कर्मचारीहरुले पाइसकेको सुविधा समेत गुम्नसक्ने डर कर्मचारीहरुमा छ ।

ग्लोबल आइएमइ बैंकले आइएफसीसँग २ अर्ब ऋण लिने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) बाट करीब रु दुई अर्ब २० करोड ऋण लिने भएको छ । ऋण लिने सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएपनि बैंकले आज जानकारी दिएको हो । बैँकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्टरनेशनल फाइनान्स कर्पोरेशनका आवासीय प्रतिनिधि तथा नेपाल प्रमुख एम रेहन रशिदले आज बैकमा आयोजित एक समारोहबीच सम्झौता आदानप्रदान गरेका हुन् । सम्झौताअनुसार, नेपाल राष्ट्र बैंकबाट स्वीकृति पश्चात ग्लोबल आइएमई बैंकले करीब दुई करोड अमेरिकी डलर ऋण लिई विभिन्न क्षेत्रमा ऋण लगानी गर्नेछ । यो सम्झौताले हाल बैंकिङ क्षेत्रमा देखिएको लगानी योग्य पूँजीको अभावलाई केही हदसम्म कम गर्ने विश्वास बैंकले लिएको छ । आइएफसीबाट ल्याइने ऋणलाई विशेष गरी साना तथा मझौला उद्योग, पर्यटन तथा कृषि क्षेत्रमा ऋण लगानी गर्ने बैँकको योजना रहेको छ । रासस

सगरमाथा इन्स्योरेन्सको साधारण सभाले पारित गर्यो ८६ प्रतिशत बोनश सेयर दिने प्रस्ताव

काठमाडौ । सगरमाथा इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ८६ प्रतिशत बोनश सेयर दिने भएको छ । शुक्रबार सम्पन्न २२ औँ वार्षिक साधारण सभाबाट बोनश सेयर दिने प्रस्ताव पारित भएको हो । उक्त ईन्स्योरेन्स कम्पनीले ८० भन्दा बढी शाखाहरुबाट बीमा सेवा प्रदान गर्दै आईरहेको छ । कम्पनीले फायर इन्स्योरेन्स, मोटर इन्स्योरेन्स, म्यारिन इन्स्योरेन्स, एभियसन इन्स्योरेन्स, माईक्रो इन्स्योरेन्स, ईन्जिनियरिङ इन्स्योरेन्स, मनी इन्स्योरेन्स शीर्षकमा बीमा गराउँदै आएको छ । यस्तै, लायबलिटी इन्स्योरेन्स, एक्सीडेन्टल इन्स्योरेन्स, मिस्चीलिनिअस इन्स्योरेन्स, बैंकर्स ब्लाङ्केट इन्स्योरेन्स, हाउस होल्ड पोलिसी, थेप्फट बल्गरी इन्स्योरेन्स र ट्राभल मेडिकल इन्स्योरेन्स शीर्षकमापनि कम्पनीले बीमा सेवा दिँदै आएको छ । कम्पनीको १ करोड १२ हजार कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत छ । बिहीबार बजार बन्द हुँदा सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयर मूल्य प्रति कित्ता ६ सय १३ रुपैयाँ छ । कम्पनीका संचालक समिति अध्यक्ष रामकृष्ण मानन्धरको अध्यक्षतामा सम्पन्न भएको वार्षिक सधारण सभामासोही कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री लगायत सञ्चालकहरुको उपस्थिति थियो ।