
काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले आफूहरुले १५ दिनपछि बिहे गर्नुपर्ने भन्दै लभ गर्न हतारो भएको भन्दै गभर्नरप्रति व्यङ्ग्य गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीतिपछि बिहे गर्नुपर्ने भन्दै त्योभन्दा अघि लभ गर्न बैंकहरुलाई निर्देशन दिएका थिए ।
शुक्रबार नेपाल वित्तीय संस्था कर्मचारी संघको कार्यक्रममा सामाजिक सुरक्षा कार्यक्रममा बैंकको सहभागितामा देखिएको अन्यौलबारे बोल्दै शाहले राष्ट्र बैंक र सरकारले दिएको निर्देशन मान्न आफूहरु बाध्य हुने भन्दै सरकारले बैंक तथा वित्तीय संस्थालाई पत्र लेख्नुअघि नै त्यसो सम्बोधन गर्न पहल गर्न भनेका हुन् ।
‘सरकारले दिएको निर्देशनलाई हामी कुनै पनि अवस्थामा नमान्न सक्दैनौं, लभ गर्न ७ दिनको समय छ, १५ दिनभित्र बिहे गर्नुपर्छ, म त लभ गर्न हिँडें’ शाहले भने ।
सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थाअनुसार बैंकका कर्मचारीहरु सो कार्यक्रममा जाँदा हाल पाउँदै आएको सेवासुविधा समेत कटौती हुने अवस्था आएपछि कर्मचारीहरुमा सो कार्यक्रममा जाने कि नजाने भन्ने बारेमा अन्यौलता उत्पन्न भएको छ ।
बाध्यकारी मानिएको सो कार्यक्रमले हाल बैंक तथा वित्तीय संस्थाले सञ्चालन गरेको स्वायत्त कोषहरुलाई समेत कोषको दायरामा लैजाने व्यवस्था गरेको छ । यसले गर्दा कर्मचारीहरुले पाइसकेको सुविधा समेत गुम्नसक्ने डर कर्मचारीहरुमा छ ।