शेयर बजारमा ओरालो यात्रा कायमै, ४६ करोडको कारोबार

काठमाडौँ । बुधबार ओरालो लागेर बन्द भएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आजपनि सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ६२ बिन्दुले घटेर एक हजार २४८ दशमलव ५३ मा पुगेको छ । यस्तै ठूला कम्पनीका शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव शून्य एक अङ्कले घटेर २६८ दशमलव ३२ मा पुगेको छ । परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि औषतमा समेटिएको छ । कूल १७२ कम्पनीको १६ लाख ५४ हजार २५१ कित्ता शेयर रु ४६ करोड ३६ हजार ५७१ मा कारोवार भए । कारोवार भएका ११ मध्ये दुई उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ एक दशमलव नौ र जलविद्युत् एक दशमलव २७ अङ्कले बढेको छ । यस्तै होटल २० दशमलव ४४, विकास बैंक तीन दशमलव ५२, वित्त शून्य दशमलव ६१, निर्जीवन बीमा २ दशमलव ९९, उत्पादन १९ दशमलव २८, अन्य २ दशमलव १२, लघुवित्त ५ दशमलव ५३, जीवन बीमा २४ दशमलव ४ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य सात अङ्कले घटेको छ । स्टकका अनुसार कारोबार रकमका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्षस्थानमा रह्यो । सो बैंकको रु पाँच करोड २९ लाख ६२ हजार २७६ मूल्यमा खरीद बिक्री भयो । यस्तै शिवम् सिमेन्ट रु तीन करोड २० लाख दुई हजार १८९, सिभिल बैंक रु एक करोड ७७ लाख ४२ हजार १६७, एनआइसी एशिया बैंक रु एक करोड ७४ लाख १७ हजार ८०७, एनसिसी बैंक रु एक करोड ४६ लाख एक हजार ८१९ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु एक करोड ४५ लाख ५३ हजार ४२७ मा कारोवार भई शीर्षस्थानमा रह्यो । परिसूचक घट्दा नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४ दशमलव ७३ प्रतिशतले कमाए । यस्तै श्री इन्भेष्टमेन्ट फाइनान्स ३ दशमलव २५, घलेम्दी हाइड्रो २ दशमलव ३३, आइएमई जनरल इन्स्योरेन्स २ दशमलव २७, गुँरास लघुवित्त वित्तीय संस्था २ दशमलव शून्य चार र एनआइबीएल समृद्धि फण्ड १ का लगानीकर्ताले एक दशमलव ९९ प्रतिशतले कमाए । यस्तै मल्टिप्रपोज फाइनान्स कम्पनी ५ दशमलव ६७, लक्ष्मी लघुवित्त वित्तीय संस्था ५ दशमलव १०, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ४ दशमलव ३४, जोशी हाइड्रोपावर ३ दशमलव ७९, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ३ दशमलव ६२ र गुँरास लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले ३ दशमलव ५१ प्रतिशतले गुमाए ।

सनराइज बैंकको १० लाख कित्ता ऋणपत्र सूचीकृत

काठमाडौँ । सनराइज बैंक लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लि. बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु. १००० कायम भएको सनराइज बैंक लिमिटेडको १० लाख कित्ता ऋणपत्र सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा नेपाल स्टक एक्सचेन्ज लि. का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र सनराइज बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले हस्ताक्षर गरेका छन् ।

बेष्ट फाइनान्सका अध्यक्ष प्रधानले लिए पद तथा गोपनियताको शपथ

काठमाडौँ । काठमाण्डौको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनीको अध्यक्षमा चयन भएका अमीरध्वज प्रधानले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनियताको शपथ लिएका छन । बिहिबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा बैंक तथा वित्तीय संस्था नियमन विभागका कामु कार्यकारी निर्देशक बमबहादुर मिश्रले अध्यक्षमा चयन भएका प्रधानलाई शपथ ग्रहण गराएका हुन् । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकको तर्फबाट निर्देशकहरु नरेन्द्र सिंह विष्ट, विरेन्द्र दत्त अवस्थी, दीपक पोखरेल तथा बेष्ट फाइनान्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी लगायतको उपस्थिति रहेको थियो । असार २२ गते बसेको फाइनान्स कम्पनीको संचालक समितिको ४७६औं बैंठकबाट संचालक समितिको अध्यक्षमा प्रधानलाई सर्वसम्मत चयन गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।