काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २९ गते ११ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ८ वर्षको लागि सो ऋणपत्र निष्कासन गर्न लागेको हो । ऋणपत्र खरिद गर्न चाहनेले असार २९ गते ३ बजेसम्म अनलाइन बिडिङ सिष्टममार्फत बोलकबोल पेश गर्नुपर्ने छ । ३० गते बोलकबोल खोलिने छ ।
ऋणपत्रको सावा भुक्तानी भने २०८४ असार ३० गते हुनेछ । उक्त रकमको ब्याजदर बोलकबोलबाट निर्धारण गरिने राष्ट्र बैंकले जानकारी दिएको छ । विकास ऋणपत्र खरिदकर्तालाई अर्ध वार्षिक रुपमा राष्ट्र बैंकले ब्याज उपलब्ध गराउने छ । आर्जित ब्याजमा ब्याजकर लाग्ने छ । ऋणपत्रलाई धितो रुपमा पनि प्रयोग गरी ऋण लिन सकिने छ ।
नेपाली सर्वसाधारण नागरिक, बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा संगठित संस्थाले ऋणपत्र खरिद गर्न सक्नेछन् । निष्कासित रकम प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलको ८० र २० प्रतिशत अर्थात प्रतिस्पर्धीलाई ८ अर्ब ८० करोड रुपैयाँ र अप्रतिस्पर्धीलाई दुई अर्ब २० करोड छुट्याएको छ । यसरी छुट्याएको रकम पुरा बोल नभएमा वाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलकबोललाई बिक्रि गर्ने राष्ट्र बैंकले जनाएको छ ।
सहभागी खरिदकर्ताले घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भागगर्दा निः शेष भाग जाने अंक हुनुपर्ने बताइएको छ । बैकिङ क्षेत्रमा तरलताकाे अभाव बढेकाे बेलामा यस ऋण पत्रले थप समस्या सिर्जना गर्ने जानकारहरू बताउँछन् ।