सिटिजन्स बैंकबाट भाटभटेनी मनी ट्रान्सफरको बिप्रेषण सेवा पाइने

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र भाटभटेनी मनी ट्रान्सफरबीच बिप्रेषण कारोबार सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापश्चात भाटभटेनीमनी ट्रान्सफरको बिप्रेषण सेवा सिटिजन्स बैंकका कुनैपनि शाखाबाट प्राप्त गर्न सकिने भएको छ । यो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने जनाइएको छ ।

कामना सेवाको ‘कामना सेवा रेमिट’ सेवा शुरु, ७५०० केन्द्रबाट भुक्तानी हुने

काठमाडौँ । कामना सेवाविकास बैंकले बुधबारबाट ‘कामना सेवा रेमिट’ शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष सुदीप आचार्य, संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा सो सेवाको शुभारम्भ गरेका हुन् । विविध विशेषताहरु सहित सम्पूर्ण शाखा तथा देशभरका करिब ७,५०० एजेन्टस् मार्फत यो सेवा प्रदान गर्न लागिएको हो । समय सापेक्ष ग्राहकहरुको आवश्यकता र प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै भविष्यमा पनि एजेन्टहरु थप गर्दै जाने बैंकको योजना रहेको जनाएको छ ।

गरिमा विकास बैंकले वीरगञ्जमा खोल्यो नयाँ शाखा

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले बुधबार बीरगञ्जमा शाखा कार्यालय बिस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन बीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले देशको मुख्य व्यापारिक केन्द्र बीरगञ्जमा आफ्नो उपस्थिति जनाएको र बीरगञ्ज शाखाबाट समेत देशका अन्य शाखाहरुबाट जस्तै उत्कृष्ट सेवा प्रदान गरिने बताए । त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले विकास बैंकले देशका सातवटै प्रदेशमा आफ्नो उपस्थिति जनाईसकेको र आगामी दिनमा समेत शाखा विस्तारको क्रमलाई तीव्रता दिने एवम् ग्राहकहरुलाई उत्कृष्ट सेवाप्रदान गर्ने कार्यमा विकास बैंक सदैव प्रतिवद्ध रहेको जानकारी दिए । कार्यक्रममा नेपाल राष्ट्र बैंक बीरगञ्ज कार्यालयका निर्देशक राजनबिक्रम थापा, बीरगञ्ज नगरपालिका वार्ड नं. ८ का वडाध्यक्ष राजकिशोर गुप्ता, बीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया लगायतले आफ्नो मन्तव्य राखेका थिए ।