सनराइज बैंकको नयाँ २ शाखा र १ एक्टेन्सन काउण्टर बिस्तार
काठमाडौँ । सनराइज बैंकले नयाँ २ शाखा र १ एक्टेन्सन काउण्टर बिस्तार गरेको छ । तम्घासमा ११८ औँ, कुश्मामा ११९ औं शाखा तथा सानागाउँमा छैठौं एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको हो । आइतबार आयोजित औपचारिक कार्यक्रममा पर्वत स्थित कुश्मामा कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशी र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे । सोही कार्याक्रममा पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले संयुक्त रmपमा एटीएमको उद्घाटन गरे । यता, गुल्मी स्थित तम्घासमा रेशुङ्घा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुषाल र धुर्कोट गाउँपालिकाका अध्यथ भुपाल पोखरेलले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे । यसैगरी आइताबार नै ललितपुर महानगरपालिका स्थित सानागाउँमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र सहायक महाप्रबन्धक सर्वेन्द्र मिश्रले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
जनता बैंकद्वारा गुणस्तरीय शिक्षा सम्बन्धि अन्तराष्ट्रिय सम्मेलनका लागि २ लाख सहयोग प्रदान
काठमाडौँ । जनता बैंकले ‘गुणस्तरीय शिक्षा सम्बन्धि दोस्रो अन्तराष्ट्रिय सम्मेलन’लाई रु. २ लाख सहयोग प्रदान गरेको छ । रातो बंगला फाउण्डेसनले शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा आगामी भदौ ७ देखि ९ गते सम्म आयोजना गरिने‘गुणस्तरीय शिक्षा सम्बन्धि दोस्रो अन्तराष्ट्रिय सम्मेलन’मा देशको बिभिन्न स्थानबाट आउने १० जना राष्ट्रिय वक्ताको लागि प्रायोजन स्वरुप उक्त सहयोग प्रदान गरेको हो । उक्त सहयोग रकम बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले रातो बंगाला फाउण्डेसनका प्रोग्राम अफिसर स्मृति पोखरेललाई हस्तान्तरण गरेका हुन् ।
ग्लोबल आइएमई बैंकको सेवा बिहान ८ देखि बेलुका ८ सम्म
काठमाडौँ । ग्लोबल आइएमई बैकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै आइतबारदेखि बैंकको कान्तिपथस्थित शाखाबाट दैनिक १२ घण्टा सेवा सुचारु गरेको छ । आइतबारदेखि बैंकको कान्तिपथ शाखा बिहान ८ बजे देखि बेलुका ८ बजेसम्म खुल्ला हुने भएको हो । बैंकले सरकारी तथा अन्य कार्यालयमा कार्यरत कर्मचारी, व्यापारी र तथा अन्य वर्गको व्यस्ततालाई लक्षित गर्दै साविकको कार्यालय समय अघि र पछि पनि बैंकिङ्ग सेवा उपलब्ध गराउन यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ । यो सेवा शनिबार र अन्य बिदाको दिन बाहेक हप्तामा ६ दिन नै सञ्चालन हुने बैंकले जनाएको छ । शनिबार तथा अन्य विदाको दिनमा बैंकले बिहान १० बजेदेखि १ बजेसम्म होलिडे काउण्टर सेवा सञ्चालन गर्दै आएको छ ।