कृषि विकास बैंक पनि कनेक्टआईपीएस ई-पेमेन्ट प्रणालीमा, अनलाइन भुक्तानी गर्न सकिने
काठमाडौँ । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्टआईपीएस ई–पेमेन्ट प्रणालीमा कारोबार गर्ने बैंकहरुमा कृषि विकास बैंक पनि जोडिएको छ । कृषि विकास बैंकले प्रणालीमा आवद्ध भई आजबाट कारोबार सञ्चालनमा ल्याएको छ । अब बैंकका ग्राहकहरुले पनि यस प्रणालीमार्फत आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्नेछन् । यस प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने भुक्तानी सेवाहरु प्राप्त गर्न सक्नेछन् । हाल यस प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानीे लगायतमा अन्य विभिन्न सेवा प्रदायकहरुलाई भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ । कनेक्टआईपीएस ई-पेमेन्ट प्रणालीमा हालसम्म ५७ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकोमा हाल सम्म ५१ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेको जनाइएको छ ।
हुलाक बैंकले संकलन गर्याे पाँच करोड बढी निक्षेप
कलैया । बारा जिल्ला हुलाक कार्यालय बाराद्वारा सञ्चालित हुलाक बचत बैंकमा आर्थिक वर्ष २०७५/७६ मा कूल रु पाँच करोड ३५ लाख ३८ हजार ३०१ निक्षेप जम्मा भएको छ । यस वर्ष मात्र एक हजार ३२२ ग्राहकले रु चार करोड ६७ लाख पाँच हजार ३०२ निक्षेप जम्मा गरेकामा सोको ब्याज रु चार लाख तीन हजार ९५१ र गत वर्षको निक्षेप रु ६४ लाख २९ हजार ५७ समेत गरी कूल पाँच करोड ३५ लाख ३८ लाख ३०१ मध्ये निक्षेपकर्ताले रु चार करोड ८६ लाख ३० हजार ५६३ झिकेको र बाँकी ४९ लाख सात हजार ७४७ हुलाक कार्यालयको कूल सम्पत्ति रहेको कार्यालय प्रमुख सुरेन्द्र यादवले जानकारी दिएका छन् । आर्थिक वर्ष २०७५/७६ मा हुलाक बचत बैंकले ४३ ग्राहकलाई रु ७० लाख २८ हजार ३०३ ऋण लगानी गरेको र २०७६ असार मसान्तसम्म आठ लाख २९ हजार ४४७ मौज्दात रहेकामा रु ३० लाख ५० हजार ३६८ हुलाकको केन्द्रीय चल्ती खातामा जम्मा रहेको प्रमुख यादवले बताएका हुन् । रासस
प्राइम बैंकको बिशेष साधारण सभा सम्पन्न, कन्काईलाई प्राप्ती गर्ने प्रस्ताव पारित
काठमाडौं । विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद् एवम् व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित प्राइम कमर्सियल बैंकको विशेष साधारण सभा बुधबार सम्पन्न भएको छ । बिशेष साधारण सभाले कन्काई बिकास बैंकलाई प्राप्ती गर्ने बिशेष प्रस्ताव पारित गर्दै कन्काई विकास बैंक लि.को १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंक लिमिटेडको ७१.५ कित्ता स्वाप रेसियो कायम हुने प्रस्ताव बिशेष साधारण सभाले पारित गरेको छ । प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति पछि शाखा संख्या ९४ हुनेछ । बैंकले आगामी दिनहरुमा पनि बैंकको सेवा र शाखाहरुको सञ्जाल बिस्तार गर्दै सेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफल दिने निमित्त कार्यकारी अधिकृत सञ्जीव मानन्धरले जनाएका छन् ।