एनआईसी एशियाले कञ्चनपुर भन्सार कार्यालयमा विस्तारित काउण्टर स्थापना गर्ने
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागबीच कञ्चनपुर भन्सार कार्यालय परिसरमा बैंकको विस्तारित काउण्टर स्थापना गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा स्थापना हुने बैंकको काउण्टरबाट भन्सार कार्यालयको कारोबारका साथै भन्सारमा आउने सेवाग्राहीले थप सुविधा प्राप्त गर्न सक्ने छन् । नेपाल सरकारको भन्सार तथा राजस्व कार्यालयहरुमा नगदरहित कारोबारको सुनिश्चितता गर्ने उद्देश्यमा सहकार्य गर्दै एनआईसी एशिया बैंकले विभिन्न भन्सार कार्यालयहरु, आन्तरिक राजश्व कार्यालयहरु लगायत राजश्व संकलन हुने अन्य कार्यालयहरुमा विस्तारित काउन्टर खोली आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । यसै क्रममा उक्त विस्तारित काउण्टर खोल्ने सम्झौता भएको हो । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र भन्सार विभागका तर्फबाट विभागका महानिर्देशक रामेश्वर दंगालले हस्ताक्षर गरेका छन् ।
पोखराको बुढीबजारमा सनराइज बैंकको १२०औं शाखा संचालन
काठमाडौँ । सनराइज बैंकले पोखराको बुढीबजारमा १२० औँ शाखा संचालनमा ल्याएको छ । सोमबार आयोजित औपचारिक कार्यक्रमा पोखरा महानगरपालिका मेयर मानबहादुर जिसी र सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले संयुक्त रmपमा शाखा कार्यालय तथा एटीएमको उद्घाटन गरेका हुन् । हालसम्म सन्राइज बैंकले १२० वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १३८वटा एटीएम मार्फत ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
इटहरी र कटारीमा मेटलाइफको नयाँ एजेन्सी कार्यालय उद्घाटन
काठमाडौँ । मेटलाइफले प्रदेश नं. १ अन्तर्गतका इटहरी र कटारीमा दुईटा नयाँ एजेन्सी कार्यालय विस्तार गरेको छ । कम्पनीका प्रमुख वितरण अधिकृत अरुण बस्नेत तथा अन्य स्थानीय कर्मचारीहरुको उपस्थितिमा कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले दुवै कार्यालय उद्घाटन गरेका हुन् । कम्पनीका ग्राहकहरुलाई थप सुबिधा तथा सहजता प्रदान गर्न सहयोग मिल्ने उद्देश्यका साथ नयाँ एजेन्सी कार्यालय बिस्तार गरेको जनाएको छ । कार्यालयले ग्राहकहरुलाई बीमा शुल्क तथा आवेदन संकलन, बीमालेख हस्तान्तरण तथा बीमालेख परिवर्तन र पुनस्र्थापना, ग्राहकको जिज्ञासा अनुरोधहरु बुझ्ने तथा अन्य कागजपत्रहरुको पर्याप्तता हेर्ने जस्ता सेवाहरु प्रदान गर्नेछ । थप गरिएका दुई नयाँ कार्यालयहरु बिराटनगरमा रहेको शाखा कार्यालयको मातहतमा रहने कम्पनीले जनाएको छ ।