नेप्से दोहोरो अंकले घट्यो, उत्पादनमूलक बाहेक सबै समूह राताम्मे

काठमाडौं । साताको पहिलो दिनको बजारमा नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागको छ । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको परिसूचक बन्द हुँदा १३.७० अंकले घटेर १३२० अंकमा झरेको छ । दिनभरको बजारमा परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । पछिल्लो समय एक अर्ब बढी कारोबार भएको बजारमा आइतबार भने जम्मा ९५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कूलक १७३ कम्पनीको २५ लाख ५० हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । बजारमा चार कम्पनीको ३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नेको इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक, एनआईसी एशिया बैंक र नागरिक लगानीकोषको ३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । जसमध्ये नेको इन्स्योरेन्सको ३ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएका छन् । आइतबारकाे बजारमा १२ वटा समूह कारोबारमा आएका थिए । जसमध्ये उत्पादनमूलक समूह बाहेक बाँकी समूह ओरालो लागेका छन् । निर्जीवन बीमा समूह सबैभन्दा बढी १३१ अंकले घटेको छ । उत्पादनमूलक समूह भने १७ अंकले उकालो लागेको छ ।

एभरेष्ट र प्राईम लाईफ इन्स्योरेन्सले शुरू गरे घुम्ती बीमा सेवा

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी र प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले संयुक्त रुपमा घुम्ती बीमा सेवा संचालन गरेको छ । ठाकुरवावा मन्दिर परिसर बर्दियाबाट शुरु गरिएको उक्त कार्यक्रम घरदैलोबाटै बीमा सेवा प्रदान गर्ने उद्देश्यले शुभारम्भ गरिएको हो । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईको सभापतित्वमा सञ्चालित कार्यक्रमा भट्टराईले ग्राहकको चाहना बमोजिम भविश्यको लागि वचत तथा जीवन सुरक्षका विभिन्न जीवन बीमा योजना प्रस्तुत गरिएको जानकारी दिए । घुम्ती बीमा सेवा शुभारम्भ कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले कम्पनीले उत्कृष्ट बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीका विभिन्न निर्जीवन बिमा सेवा लिई आफ्नो धन सम्पतिको सुरक्षाको सुनिश्चितता गरी व्यवसाय संचालन गर्न सम्पूर्ण कृषक तथा व्यवसायी महानुभावहरुमा हार्दिक अनुरोध गरेका छन् । उक्त समारोहमा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बिमालाई आम जनतामा सर्वसुलभ रुपमा उपलव्ध गराउनको लागि बीमा कम्पनी मार्फत घुम्ती बिमा सेवाको अवधारण अगाडि बढाइएको जानकारी दिए ।

सानिमा जनरल इन्स्योरेन्सको ३० करोडको आईपीओ प्रस्ताव पारित

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको प्रस्तावित ३० करोडको आईपीओ(साधारण सेयर) पारित भएको छ । माघ २४ गते सम्पन्न कम्पनीको दोश्रो वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै कम्पनीले हाल कायम चुक्ता पुँजीको ३० लाख कित्ता सेयर निष्काशन गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । उक्त आईपीओ पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब नाघ्ने छ । कम्पनीले नियमक निकाय बीमा समितिको निर्देशन बमोजिम १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्ने व्यवस्था भएअनुसार सो मात्राको सेयर निष्काशन गर्न लागेको हो । त्यसैगरि सभाले आगामी आर्थिक वर्ष ०७६।०७७ का लागि कम्पनीको वार्षिक लेखा परिक्षकमा एल.आर. एसोसियट्सका चाटर्ड एकाउण्टेण्ट सुजन काफ्लेलाई नियुक्त गरेको छ । यस कम्पनीले २०७५ आसार २७ बाट आफ्नो व्यवसायिक बीमा कारोवार शुरु गरेको हो ।