सिभिल बैंकको नाफा ३१ करोड, निक्षेप बढेर ५२ अर्ब पुग्याे
काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ३१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले ३७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा बैंकको निक्षेप २१ प्रतिशतले बढेको छ । गत आवको पुस मसान्तसम्ममा ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकले चालु आवको सोही अवधिमा ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै, कर्जा परिचालन ६ अर्बले बढेर ५० अर्ब रुपैयाँ पुगेको छ । गत आवको दोश्रो त्रैमाससम्ममा बैंकले ४४ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो । त्यस्तै, बैंककाे खुद व्याज आम्दानी एक अर्ब १९ करोड रुपैयाँ र संचालन आम्दानी १ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । बैंकको पुँजी प्रयाप्तता घटेर १५.९२ प्रतिशत, निष्कृय कर्जा(एनपीएल) घटेर २.६९ प्रतिशत, सीसीडी रेसियो घटेर ७७.४६ प्रतिशत र बेस रेट(आधार दर) घटेर १०.९८ प्रतिशतमा रहेको छ ।
नेपाल व्यवस्थापन संघको अध्यक्षमा किरणकुमार श्रेष्ठ, उपाध्यक्षमा मिश्र र पोखरेल निर्वाचित
काठमाडौं । नेपाल व्यवस्थापन संघ(म्यान)को अध्यक्षमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) किरणकुमार श्रेष्ठ निर्वाचित भएका छन् । उनी व्यक्तिगत तर्फबाट संघमा सदस्य निवार्चित भएका थिए । त्यस्तै, म्यानको उपाध्यक्षमा दुई जना निर्वाचित भएका छन् । जसमध्ये प्रथम उपाध्यक्षमा राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र निर्वाचित भएका छन् भने दोश्रो उपाध्यक्षमा आईएमई समूहका सीईओ सुमन पोखरेल निर्वाचित भएका छन् । नवनिर्वाचित प्रथम उपाध्यक्ष मिश्र संस्थागत सदस्यबाट निर्वाचित भएका हुन् भने दोश्रो उपाध्यक्ष पोखरेल व्यक्तिगततर्फबाट सदस्यमा निर्वाचित भएका म्यानले जानकारी दिएको छ ।
एनएमबिले किन्न लागेको कञ्चन डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का
काठमाडौं । एनएमबि बैंकले प्राप्ति गर्न अथवा किन्न लागेको कञ्चन डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ । सो सम्बन्धि दुई संस्थाबीच सम्झौता भएसँगै राष्ट्रिय स्तरको ‘ख’ वर्गको कञ्चन डेभलपमेन्ट बैंकको माघ २७ गते(साेमबार)देखि सेयर कारोबार बन्द भएको छ । उक्त सम्झौता माघ २६ गते(आइतबार) एक कार्यक्रमकाबीच भएको थियो । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरे पश्चात यस बैंकको सुदूर पश्चिमका प्रदेशमा शाखा संख्या २४ पुग्नेछ भने एक्सटेन्सन काउन्टरको संख्या ४ पुग्नेछ ।