दोहोरो अंकले बढ्यो नेप्से, साढे एक अर्बको कारोबार, शिवम् र एनआईसी एशियाको सबैभन्दा बढी
काठमाडौं । मंगलबारको नेप्से १७.११ अंकले उकालो लागेको छ । सोमबार सामान्य अंकले बढेको बजार मंगलबार दोहोरो अंकले बढेर १३४१.३८ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.२९ प्रतिशत बढी हो । त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.७५ अंकले उकालो लागेर २८५.३७ अंकमा पुगेको छ । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । मंगलबारको बजारमा कूल एक अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ६० करोड रुपैयाँ बढी हो । सोमबारको बजारमा कूल ९३ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएका छन् । १७५ कम्पनीको कारोबार भएको बजारमा शिवम् सिमेन्ट र एनआईसी एशिया बैंकको ११ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । सबैभन्दा बढी शिवमको १५ करोड २ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएको छ भने एनआईसी एशियाको ११ करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । समूहतर्फ हेर्दा ट्रेडिङ् समूह बाहेक कारोबारमा आएका बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह ९३ अंकले उकालो लागेको छ । ओरालो लागेको ट्रेडिङ् समूह भने १०.६७ अंकले घटेको छ । दोहोरो अंकले बढेको बजारमा कालिका पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । सो कम्पनीका लगानीकर्ताले एकैदिन १० प्रतिशत कमाएका छन् । त्यस्तै, नेपाल सेवा लघुवित्तका लगानीकर्ताले ९.८३ प्रतिशत कमाएका छन् । संस्थाको सेयर मूल्य प्रतिकित्ता ७९३ रुपैयाँ रहेको छ ।
महिला सहयात्रा लघुवित्तको कर्मचारी पुनर्ताजगी तालिम सम्पन्न
काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले दुई दिने पुनर्ताजगी तालिम सम्पन्न गरेको छ । प्रदेश ४,५,र ६ मा रहेका शाखा कार्यालयको ३६ जना सहायक स्तरका कर्मचारीहरुको सहभागितामा माघ २७ र २८ गते उक्त तालिम संचालन भएको हो । कार्यक्रममा यस संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. सुमित्रा मानन्धर गुरुङले भिडियो मार्फत सहभागी कर्मचारीहरुलाई संस्थाको उद्देश्य बमोजिम कार्य गर्न तथा सदस्यहरुको कर्जा बचतको साथ साथै सीप तथा उद्यमशिलता तालिम मार्फत आयस्रोत बृद्धिको लागी कर्मचारीहरु लागि पर्न सल्लाह सुझाब दिएका थिए । तालिमका सहभागीहरुलाई स्वागत गर्दै तालिम सञ्चालनको उद्देश्य, लघुवित्त कार्यक्रमको वर्तमान अवस्था,सहायक कर्मचारीको काम कतव्य, साथै “स्वच्छ र ईमान्दार कर्मचारी ,हाम्रो अभियान” उद्देश्य सहित संस्थाको कम्पनी सचिव कमल कुमार काफ्लेले प्रकाश पारेका थिए । यस कार्यक्रममा लघुवित्त व्यवस्थापन,बचत तथा कर्जाको प्रोडक्ट,कर्जा विश्लेषण,धितो कर्जा मुल्यांकन तथा आधारहरु र कर्जा सम्बन्धी कैफियतहरु सुधारको बारेमा विभागीय प्रमुख निराजन श्रेष्ठले सिकाएका हुन् । शाखाको विकास तथा राम्रो व्यवस्थापन गर्न ,केन्द्र बैठक व्यवस्थापन,संस्थागत संस्कार र कर्मचारी व्यवहारसँग सम्बन्धित आवश्यक कुराहरु विभागीय प्रमुख सुजीत खतिवडाले सिकाएका थिए । त्यस्तैगरी, कर्जा जोखिम व्यवस्थापन तथा कर्जा असुली सम्बन्धी आवश्यक कुराहरु श्री शकंर थापा र सुचना प्रबिधि,ट्याबलेट बैन्किङ ,कर्जा सुचना केन्द्रबाट लिने साख सुचनासँग सम्बन्धित आवश्यक जानकारीहरुको बारेमा सन्जीब मानन्धरले सिकाएका थिए । यस क्रममा लघुवित्त कार्यक्रमको फिल्डमा देखा परेको विभिन्न चुनौती तथा समस्याहरुलाई चिर्दै फिल्डको व्यवस्थापन गर्न र फिल्ड कर्मचारीहरुलाई सबैले जिम्मेवार तथा गम्भिर भएर गुणस्तरीयता कायम गर्दै कार्यक्रमको विस्तार गरी आफ्नो शाखाको निर्धारित लक्ष्य हासिल गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो ।
नेपाल लाइफ इन्स्योरेन्सको आय ४ अर्बले वृद्धि
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ अर्ब रुपैयाँले आय वृद्धि गरेको छ । कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आय १९ अर्ब १२ लाख ९९ करोड रुपैयाँ छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा आय १५ अर्ब १२ करोड ८ लाख ८१ हजार रुपैयाँ रहेको थियो । खुद बीमाशुल्कः नेपाल लाइफको खुद बीमाशुल्क चालु आवको दोस्रो त्रैमासमा १३ अर्ब ९१ करोड १० लाख रुपैयाँ छ । यस्तै, अघिल्लो आवको दोस्रो त्रैमासमा कम्पनीको खुद बीमाशुल्क १० अर्ब ४७ करोड ५४ हजार रुपैयाँ रहेको थियो । उक्त रकम ३ अर्ब ४३ करोड ५६ लाख रुपैयाँले बढ्न पुगेको हो । पुनर्बीमा कमिशन आयमाः पुनर्बीमा कमिशन आयमा नेपाल लाइफको चालु आवको दोस्रो त्रैमासमा २ करोड ७९ लाख रुपैयाँ छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा १ करोड ५१ लाख रुपैयाँ रहेको थियो । लगानी, कर्जा तथा अन्य आयः लगानी, कर्जा तथा अन्य आयबाट नेपाल लाइफले चालु आवको दोस्रो त्रैमासमा २ अर्ब ७६ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको थियो भने गत आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब १८ करोड ८९ लाख रुपैयाँ रहेको छ । हाल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४९ करोड ६१ हजार रुपैयाँ रहेको छ ।