एनआईसी एशियाले सार्वजनिक गर्याे नयाँ वेबसाइट, घरबाटै खाता खोल्न सकिने
काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकमैत्री नयाँ वेबसाइट सार्वजनिक गरेको छ । ग्राहकको सुविधालाई थप परिष्कृत गर्ने उद्देश्यका साथ डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै उक्त वेबसाइज सञ्चालनमा ल्याएको हो । नयाँ वेबसाइटमा बैंकको सेवा सुविधाकोे विवरण हेर्न चाहनेहरुको लागि अन्तरक्रियात्मक शैलीमा जानकारी प्रस्तुत गर्नुको साथै उक्त वेबसाइट नेपाली भाषामा समेत उपलब्ध गराइएको बैंकले जानकारी दिएको छ । गूगल म्याप लाई समेत संलग्न गरिएकोले उक्त वेबसाईटबाट सजिलै बैंकको शाखा, एक्स्टेन्सन काउण्टर, एटिएम रहेको स्थान सजिलै पत्ता लगाउन सकिनेछ । साथै बैंकको कार्ड तथा मोबाईल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने पसल तथा ब्यवसायीको स्थानको पहिचान समेत गर्न सकिनेछ । साथै, वेबसाईट बाटै खाता खोल्न मिल्ने सुविधाका साथ बैंक सम्बन्धी विविध जानकारी तथा सहयोगका लागि चौबीसै घण्टा साथी च्याटबट वेबसाईटमै उपलब्ध रहेको छ । वेबसाईटमा प्रयोगकर्ताको रुची अनुसार बैंकले उपलब्ध गराउने विभिन्न सुविधा तथा जानकारी प्रयोगकर्ताको वेब–ब्राउजरमा स्वचालित सुचना अलर्ट मार्फत पठाउन सकिने प्रविधिको समेत प्रयोग गरिएको छ । साथै, आफुलाई मनपरेका जानकारी र सुचना सामाजिक सञ्जालमा सेयर गर्न सकिने गरी व्यवस्था मिलाईएको बैंकले जनाएको छ । प्रयोगकर्ताको डाटा सुरक्षाको लागीे भने विशेष सुरक्षा संयन्त्रको प्रयोग गरिएको छ्र बैंकले जानकारी दिएको छ । बैंकको नयाँ वेबसाइट सार्वजनिक भएसँगै बैंकले डिजीटल प्रविधिको उच्चतम प्रयोग गरी गतिशील बैंकिङ्गको अभ्यासलाई थप टेवा पुग्ने कम्पनीको विश्वास छ ।
सेञ्चुरी बैंकले पौने ७ प्रतिशत लाभांश दिने
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेयरधनीलाई पौने ७ अर्थात ६.७५ प्रतिशत लाभांश दिने घोषणा छ । माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । बैठकले असार मसान्तमा कायम चुक्ता पुँजीको २ प्रतिशत बोनस र कर सहित ४.७५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । २ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ नाघ्ने छ ।
बोर्डका अध्यक्षद्धारा माछापुच्छ्रे क्यापिटलको उद्घाटन, भन्छन्- पुँजीबजार क्षेत्रकाे विकासमा सहयाेग पुग्छ
काठमाडौं । माछापुच्छ्रे बैंकको पूर्ण स्वामित्वमा रहेको माछापुच्छ्रे क्यापिटलको उद्घाटन भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोले बिहीबार एक औपचारिक कार्यक्रमबीच क्यापिटलको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उक्त समारोहमा बोर्डका अध्यक्ष ढुङ्गानाले माछापुच्छ्रे क्यापिटलले देशको खुम्चिएको पुँजीबजार क्षेत्रको विकास गर्न तथा नयाँ क्षेत्रहरुको पहिचान गरी नयाँ कार्यक्रमहरु बजारमा ल्याउन सफल बन्न शुभकामना दिएका छन् । साथै, पुँजीबजार क्षेत्रमा नविनता ल्याउन जरुरी भएको परिप्रेक्ष्यमा यस क्यापिटलले थप व्यवसायिकता र नयाँ कार्यशैली सहित मर्चेन्ट बैकिंग क्षेत्रमा प्रवेश गर्नेछ भन्ने विश्वास लिएको उनले बताए । त्यस्तै, माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोले माछापुच्छ्रे क्यापिटललाई बधाई दिँदै यस क्यापिटलले आफ्नो व्यवसाय विस्तारको क्रममा राजधानी भित्र मात्र नभै देशभरी रहेका लगानीकर्ताहरुलाई सेवा पुर्याउनु पर्नेमा जोड दिँदै अन्य सेवाको रुपमा क्यापिटललाई विस्तार गर्ने प्रतिवद्घता व्यक्त गरेका छन् ।