नागरिक लगानी कोषले दर्ता गर्यो १० अर्बकाे स्टक डिलर कम्पनी
काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले सेयर बजारमा आउने उथलपुथललाई स्थीरता प्रदान गर्न स्टक डिलर कम्पनी दर्ता गरेको छ । कोषले बुधबार(माघ २९ गते) मात्रै १० अर्बको उक्त कम्पनी दर्ता गरेको हो । यससँगै कम्पनीले आगामी साता अर्थात फागुनको पहिलो हप्तामा बोर्ड गठन गर्ने तयारी गरेको कोषका उपकार्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेलले जानकारी दिए । उनले भने- ‘सेयर बजारमा ठूलो घटबढ हुन नदिन स्टक डिलर स्थापना गर्न लागेका हौं, बजार धेरै घट्यो भने सेयर किन्ने र धेरै बढ्यो भने बेच्ने गरेर बजारलाई स्थायित्व प्रदान गर्ने काम डिलरले गर्नेछ ।’ कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ हुनेछ भने चुक्ता पुँजी ५ अर्ब रुपैयाँ हुनेछ । ४ वटा कम्पनीको लगानीमा खोलिएको उक्त कम्पनीमा सबैभन्दा बढी लगानी सीआईटीको रहेको छ । जसको ५१ प्रतिशत सेयर रहेको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत, नेपाल दुरसञ्चार कम्पनी(एनटीसी) को ९ प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर रहेको कोषले जानकारी दिएको छ । यस्तै, कम्पनीले बढीमा १० अर्ब रुपैयाँसम्म बजारबाट उठाउनेछ । स्टक डिलर कम्पनीले सेयर बजारमा करिब १५ अर्ब रुपैयाँ लगानी गर्नेछ । आफूसँग भएको ५ अर्ब रुपैयाँ र बजारबाट बास्केट फण्डको रुपमा उठाएको १० अर्ब रुपैयाँ लगानी गरेर सेयर बजारलाई स्थायित्व प्रदान गर्ने काममा कोष लागेको कोषका उपकार्यकारी निर्देशक कट्टेलले जानकारी दिए ।
बजेटको अर्धवार्षिक समीक्षा: यी हुन बजेट खर्च नबढ्नुका ६ कारण
काठमाडौं। नेपाल सरकरले चालु आर्थिक वर्ष २०७६/०७७ मा विनियोजित बजेटमध्ये पहिलो ६ महिनामा २७.६ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्षको कुल विनियोजन १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखमध्ये पहिलो ६ महिनामा ४ खर्ब २२ अर्ब ५५ करोड ६ लाख खर्च भएको छ। यो खर्च कुल विनियोजनको २७.६ प्रतिशत हो । गत आर्थिक वर्ष २०७५÷७६ को यही अवधिमा कुल ३ खर्ब ७५ अर्ब ८२ करोड ९ लाख अर्थात वार्षिक विनियोजनको २८.६ प्रतिशत खर्च भएको थियो। समीक्षा अवधिमा गत वर्षको तुलनामा कुल खर्च ४६ अर्ब ७२ करोड ९७ लाख रुपैयाँ अर्थात १२.४ प्रतिशत वृद्धि भएको छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष समानीकरण अनुदान हस्तान्तरण कम हुँदा पनि संघतर्फको खर्चको अनुपात केही कम देखिएको अर्थमन्त्री युवराज खतिवडाले बताए । खतिवडाले विभिन्न कारणले यस वर्षको ६ महिनाको अवधिमा खर्च गर्न नसकिएको बताएका छन् । मन्त्रालयले बजेटकाे अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै विभिन्न कारणले चालु आर्थिक वर्षको बजेट खर्च गर्न नसकेको उल्लेख गरेको छ । यी हुन बजेट खर्च नबढ्नुका ६ कारण: १. भकम्पपीडितलाई व्यक्तिगत आवास निर्माणको अनुदानको रूपमा दिइने किस्ता वितरण अन्तिम चरणमा पुगेकोले गत वर्षको भन्दा १४ अर्ब १४ करोड रुपैयाँ कम अनुदान गएको। २. नेपाल र अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन बीच भएको अनुदान सहायता सम्झौता संघीय संसदबाट अनुमोदन हुन ढिलाइ भइरहेकोले विनियोजित १० अर्ब रुपैयाँ खर्च हुन नसकेको। ३. अघिल्लो वर्षको बजेट विनियोजनबाट सञ्चित रहेको रकमबाट नै कतिपय प्रदेश तथा स्थानीय तहमा चालु वर्षको खर्च भइरहेकोले गत वर्षको तुलनामा यो वर्ष १८ अर्ब रुपैयाँ बराबर कम वित्तीय समानीकरण र सशर्त अनुदानको रकम संघीय सञ्चित कोषबाट प्रदेश सञ्चित कोषमा हस्तान्तरण भएको। प्रदेश नं २ र कर्णाली प्रदेशमा समीक्षा अवधिमा कुनै पनि रकम संघीय सञ्चित कोषबाट हस्तान्तरण नभएको। ४. स्थानीय तहको खर्चमध्ये ६ सय ६६ स्थानीय तहमा मात्र क्गत्च्ब् बाट प्रतिवेदन प्राप्त भई ८७ स्थानीय तहबाट खर्चको प्रतिवेदन प्राप्त हुन नसकेको। गत वर्षको खर्चको प्रतिवेदनसहित निकासा माग नभएकोले २० भन्दा बढी स्थानीय तहमा चाल वर्षको वित्तीय हस्तान्तरण हुन नसकेको। ५. पौष मसान्तसम्म पनि केही ठूला आयोजनारकार्यक्रमहरूको कार्यान्वयन विधिको निर्णय, कार्यविधि तर्जुमा, रकम बाँडफाँट र खरीद प्रक्रिया नै शुरु हुन नसकेको। ६. सार्वजनिक खरीद प्रणाली र निर्माण व्यवसायीका सन्दर्भमा देखिएका समस्या हल हुन समय लागेका कारण केही समयसम्म आयोजना कार्यान्वयनमा ढिलाइ भएकोले अपेक्षाकृत खर्च हुन नसकेको।
लुम्बिनी जनरल इन्स्योरेन्सको बीमाशुल्क ३१ करोड बढी, पुर्नबीमा कमिशन आयमा वृद्धि
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको बीमाशुल्क चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड रुपैयाँले घटेको छ । चालु आवको दोस्रो त्रैमासमा कम्पनीको बीमाशुल्क ३१ करोड ३७ लाख रुपैयाँ रहेको छ । गत आवमा भने कम्पनीको बीमा शुल्क ३६ करोड ८३ लाख रुपैयाँ रहेको थियो । आय: कम्पनीकाे आय चालु आवको दोस्रो त्रैमासमा ९७ करोड २० लाख रुपैयाँ रहेको छ भने गत आवको दोस्रो त्रैमासमा कम्पनीको आय ३६ करोड ८३ लाख रुपैयाँ रहेको छ । कम्पनीको आय गत आवको दोस्रो त्रैमासको तुलनामा चालुको दोस्रो त्रैमासमा ३ करोड रुपैयाँले घट्न पुगेको हो । पुर्नबीमा कमिशन आय चालु आवको दोस्रो त्रैमासमा कम्पनीको पुर्नबीमा कमिशनबाट आय ७ करोड ९५ लाख रुपैयाँ रहेको छ भने गत आवमा ५ करोड ८८ लाख रुपैयाँ रहेको थियो । लगानी, कर्जा तथा अन्य आयः कम्पनीको चालु आवको दोस्रो त्रैमासमा लगानी, कर्जा तथा अन्य आयमा ३ करोड १७ लाख रुपैयाँ रहेको छ भने गत अवाको दोस्रो त्रैमासमा कम्पनीको लगानी, कर्जा तथा अन्य आय ३ करोड १ लाख रुपैयाँ रहेको छ । हाल कम्पनीको बीमा कोषमा ५८ करोड ९ लाख रुपैयाँ रहेको छ ।