मेगा बैंकका ग्राहकलाई फुडमाण्डुले विशेष छुटमा घरमै किराना सामान ल्याइदिने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले लकडाउनको बेलामा पनि घरमै बसेर फुडमाण्डुबाट घरायसी सामान खरिद गर्न सक्ने भएका छन् । मेगा बैंकसँग भएको सम्झौता अनुसार, फुडमाण्डु डटकमले दैनिक अत्यावश्यक किराना सामाग्रीहरु घरमै उपलब्ध गराउने भएको छ । फुडमाण्डुको अनलाइन सेवाबाट सामान अर्डर गरी बिना झण्झट घरमै प्राप्त गर्न सकिनेछ । मेगा बैंकका ग्राहकहरुले मेगा स्मार्ट क्यूआर कोडबाट रकम भुक्तानी गरी १० प्रतिशतसम्म छुट पाउने सहमति भएको छ । देशव्यापी लकडाउनको विषम परिस्थितिलाई ध्यानमा राख्दै यसअघि मेगा बैंकले दैनिक उपभोग्य सामानका लागि किराना डटकम र औषधिका लागि केन फार्मेसीसँग सम्झौता गरिसकेको छ । विभिन्न सेवा प्रदायकहरुसँग सम्झौता गरी लकडाउनमा पनि आफ्ना ग्राहकहरुलाई अतिरिक्त सेवा र सुविधाहरु प्रदान गरेको मेगा बैंकले जनाएको छ ।

कोरोना उपचार कोषमा जीवन बीमक संघले गर्याे करिब साढे चार करोड सहयोग

काठमाडौं । कोरोना रोकथाम तथा उपचार कोषमा जीवन बीमक संघले एक मुष्ट ४ करोड ४९ लाख ५१ हजार सहयोग गरेका छन् । जीवन बीमक संघसँग आवद्ध जीवन बीमा कम्पनी एकमुष्ट ८२ लाख ५० हजार र सोझै उक्त कोषमा ३ करोड ६७ लाख एक हजार गरी जम्मा ४ करोड ४९ लाख ५१ हजार योगदान गरेका हुन् । जीवक बीमक संघ नेपाल सम्पूर्ण बीमित, ग्राहक तथा अभिकर्तामा सेवा तथा सूचनाको लागि सम्बन्धित जीवन बीमा कम्पनीद्धारा जारी गरिएको सूचना बमोजिम आवश्यक सम्पर्क गरी सिमित सेवा तथा जानकारी लिन हुन आग्रह गरेको छ । जीवन वीमक संघ यस विषय परिस्थितिमा सम्पूर्ण बीमित, कर्मचारी, अभिकर्ता तथा सावुन पानीले हात धुने, सामाजिक दुरी कायम गर्ने अनुरोध गरेका छन् ।

सानिमा बैंक गर्याे कोरोना रोकथाम कोषमा साढे एक करोड बढी सहयोग

काठमाडौं । सानिमा बैंकले कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा १ करोड ६८ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।जसअन्तर्गत बैंकका कर्मचारीहरुको तर्फबाट ३३ लाख रुपैयाँ प्रदान गरिएको छ । केन्द्रीय सरकार अन्तर्गत कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा ९८ लाख रुपैयाँ र प्रत्येक प्रदेश सरकारलाई १० लाखका दरले ७० लाख रुपैयाँ सहयोग रकम उपलब्ध गराएको हो । बैंकका हरेक प्रादेशिक कार्यालयका प्रतिनिधिहरु मार्फत् आ–आफ्ना प्रदेश सरकारलाई सो सहयोग रकम हस्तान्तरण तथा केन्द्र सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा रकम जम्मा गरेको हो । यसबाट कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि सरकारलाई मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । हाल बैंकले काठमाडौं उपत्यकाभित्र र बाहिरका विभिन्न शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै विभिन्न डिजिटल बैंकिङ्ग च्यानलहरु मार्फत निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ ।