प्राइम लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको १२.५० प्रतिशत अर्थात २५ लाख ९ हजार ९ सय २५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै उक्त सेयर लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न सकिने छ । सोमबारको बजारमा कम्पनीको सेयर बढ्दो क्रममा रहेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर मूल्य १८ रुपैयाँले बढेर प्रतिकित्ता ५ सय ८७ रुपैयाँ पुगेको छ ।

नागरिक लगानी कोषको विभिन्न भुक्तानी एनसीएचएलबाटै अनलाइन गरिने

काठमाडौं । नागरिक लगानी कोषको विभिन्न भुक्तानीहरु नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)का प्रणालीहरु मार्फत अनलाइन गरिने भएको छ । जसको लागि लगानी कोष उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाईन मार्फत कुमारी बैंकमा रहेको आफ्नो खाताबाट लाभग्राहीहरुको बैंक खातामा सिधै भुक्तानी गर्न एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस(एनपीआई) मा इन्डाइरेक्ट मेम्बरको रुपमा आवद्ध भएको छ । यस आवद्धतासँगै कोषले एनसीएचएलको एनसीएचएल आईपीएस तथा कनेक्ट आईपीएस प्रणालीहरु प्रयोग गरी सदस्य बैंक वित्तीय संस्थाहरुमा रहेका लाभग्राहीका खातामा सोझै भुक्तानी गर्न सक्नेछ । भुक्तानी प्राप्त गर्नका लागि लाभग्राहीले एक पटक आफ्नो खाताको विवरण कोषमा अद्यावधिक गराउनु पर्दछ । कोषले हालै आफ्नो नयाँ कोर सिस्टम लागू गरेको छ साथै एनपीआईमा आवद्ध भई भुक्तानी कारोबारहरु स्वचालित गर्ने आफ्नो योजनालाई थप अगाडि बढाएको छ । कोषले हालको लागी उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाईन मार्फत सुरुवात गरेको छ भने क्रमश कोषले विभिन्न योजनाहरु अन्तर्गत व्यक्तिगत तथा संस्थाहरु मार्फत संकलन गर्ने भुक्तानी रकम पनि सोझै आफ्नो तोकिएको बैंक खातामा प्राप्त गर्नेछ । कर्माचारी बचत वृद्धि अवकाश कोषको (८० प्रतिशत) कर्जा भुक्तानी भने गत वर्षदेखि नै एनसीएचएलको कनेक्ट आईपीएस ईपेमेन्ट प्रणाली मार्फत अन्लाईन नै गरिँदै आएकोमा श्रावण मसान्त २०७७ सम्म कनेक्ट आईपीएस मार्फत ४४ करोड ७ लाख रुपैयाँ बराबरको ६ हजार ५ सयभन्दा बढी कर्जा भुक्तानीहरुको संकलन भैसकेको छ ।

प्रुडेन्सियल इन्स्योरेन्सको भदौ १२ गतेदेखि बुक क्लोज

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको आगामी भदौ १२ गतेदेखि बुक क्लोज हुने भएको छ । कम्पनीले सो दिनदेखि आगामी भदौ २६ गतेसम्म बुक क्लोज गर्न लागेको हो । साधारण सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले सो दिनदेखि बुक क्लोज गर्ने निर्णय गरेको हो । कम्पनीको अठारौं वार्षिक साधारण सभा भदौ २६ गते शुक्रबार बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय वीरगञ्ज, पर्सामा हुन लागेको छ । सम्बन्धित समाचारः प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा भदौ २६ गते, छैन लाभांश प्रस्ताव