सीडीएससीको नवनियुक्त सीईओ आचार्यले गरे पदबहाली, यस्ता छन् प्राथमिकताका कामहरू

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड(सीडीएससी)को नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले पदवहाली गरेका छन् । सोमबार मात्रै सीईओकाे पदमा नियुक्ती पाएका आचार्यले मंगलबार(भदौ ९ गते) सीडीएससीकै कार्यालयमा आफ्नो पदको पदवहाली गरेका हुन् । गत सोमबार(भदौ ८ गते) नेप्सेको सञ्चालक समितिको बैठकले आचार्यलाई सीडीएससीको सीईओ पदमा नियुक्त गरेको थियो । करिब ११ महिनादेखि रिक्त रहेकाे सीडीएससीकाे सीईओ पदमा आचार्य खुल्ला प्रतिस्पर्धाबाट नियुक्त भएका हुन् । उनले अब आगामी ४ वर्षसम्म सीडीएससीमा आफ्नाे कार्यभार सम्हाल्ने छन् । यससँगै, विभिन्न ५ वटा कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने उनकाे याेजना रहेकाे छ । जसअन्तर्गत सीडीएसको सेवा प्रभावकारी बनाउने तथा लगानीकर्ताको विश्वास जित्न प्रयास गर्ने, सेयर कारोबार सेटलमेन्टका काम २ दिनभित्र गर्ने, लगानीकर्ताको डिजिटल केवाइसी गर्ने, लाखौं लगानीकर्ताको डाटा सुरक्षा प्रणालीलाई अझ बलियो बनाउने र सीडीएससी सम्बन्धि छुट्टै नियम कानुन बनाउने काम उनकाे प्राथमिकतामा रहेकाे छ । सम्बन्धित समाचारः सीडीएससीकाे नयाँ सीईओका पाँच प्राथमिकता, तत्काल टीप्लसटूमा जाने प्रतिवद्धता  पूर्व बैंकर आचार्य सिडिएससीको सीईओमा नियुक्त

एनआरएन इन्फ्रास्टक्चरको आईपीओ सूचीकृत, बुधबारदेखि किनबेच गर्न पाइने, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओ नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको छ । कम्पनीको एक करोड १३ लाख २६ हजार ८ सय २१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले हालै सर्वसाधारणमा निष्काशन गरेको उक्त सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै बुधबारदेखि दोश्रो बजारमा कम्पनीको सेयर किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल एनआरएन दिईएको छ । यससँगै नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम १०२.६ रुपैयाँ र अधिकतम ३०६.१८ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकेको छ । कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको साधारण सेयर गत साउन २७ गते मात्र सेयर बाँडफाँड गरेको थियो । जसमा ३ लाख २० हजार ६ सय १४ जना आवेदकले गोलाप्रथाबाट १० कित्ताको दरले सेयर हात पारेका थिए । सम्बन्धित समाचारः ९७ हजार ३४४ जनाले पाएनन् एनआरएन इन्फ्राइस्टक्चरको सेयर, बाँकीले कति पाए ?  

पुनर्बीमा कम्पनीको अध्यक्षमा अर्थमन्त्रायका सहसचिव भुसाल

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सहसचिव यमलाल भुसाल नियुक्त भएका छन् । उनी अर्थमन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख हुन् । अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रिस्तरीय निर्णय गर्दै भुसाललाई कम्पनीको अध्यक्ष बनाउने निर्णय गरेका हुन् । भुसाललाई भदौ ३ गतेको मन्त्रिस्तरीय निर्णयका आधारमा अध्यक्षको जिम्मेवारी दिइएको हो । कम्पनीले मंगलबार कम्पनीको अध्यक्षमा भुषाल नियुक्त भएको जानकारी नेपाल स्टक एक्सचेनजलाई गराएको छ । त्यसैगरी पुनर्बीमा कम्पनीको सञ्चालक समितिको सदस्यमा रमेश लम्साल नियुक्त भएका छन् । लम्साललाई पनि सरकारको तर्फबाट संचालक समितिको सदस्य बनाइएको हो । कम्पनीमा ७ जना संचालक हुनुपर्नेमा अब ३ पद खाली छ । खाली रहेका संचालकमा पब्लिक सेयरधनीको तर्फबाट २ जना र विज्ञ संचालकको तर्फबाट १ जनाको पद रिक्त छ । यसअघि मन्त्रिपरिषदले संचालक समिति अध्यक्ष नियुक्त गर्ने र सो अध्यक्षले ४ वर्षको लागि संचालक समितिको नेतृत्व गर्ने परम्परा थियो । तर, यसपटक मन्त्रिस्तरीय निर्णयबाट भुसाललाई अर्काे व्यवस्था नभएसम्मको लागि भनेर अध्यक्ष बनाइएको छ । कम्पनीमा संस्थापक सेयरधनीको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व छ । संस्थापक सेयर स्वामित्वमध्ये कुल प्रमोटर सेयरको करिब ६० प्रतिशत सरकारको र बाँकी प्रमोटर सेयर बीमा कम्पनीहरुको छ ।