८ हजार ७० जनाले समाज लघुवित्तको आईपीओ पाउने

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर(आईपीओ)को शुक्रबार प्रिअलोटमेन्ट भएको छ । जस अनुसार ८ हजार ७० जना आवेदकले १० कित्ताकाे दरले संस्थाको सेयर पाउने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार उक्त आईपीओमा परेको आवेदन मध्ये ५ लाख ४७ हजार ३ सय ७० वटा आवेदन योग्य भएका छन् भने बाँकी १६ हजार ७ सय ६८ वटा आवेदन रद्द भएकाे छ । गत भदौ ४ गतेदेखि भदाै ८ गतेसम्म निष्काशन भएकाे उक्त आईपीओमा ५ लाख ६४ हजार एक सय ३८ जना आवेदकबाट एक करोड १९ लाख ८९ हजार ८० कित्ता सेयरको लागि आवेदन परेको थियाे । जुन संस्थाले सर्वसाधारणमा माग गरेको तुलनामा १४८.५६ गुणा बढी आवेदन परेको थियो । साथै, कम्पनीकाे सेयर बाँडफाँड भने सम्भवतः बेलुकासम्म हुन सक्ने क्यापिटलले जनाएकाे छ । ‘हामीले प्रिअलोटमेन्ट गरी बाेर्डमा रिपाेर्ट पठाएका छाैं । उताबाट अनुमति आयाे भने आजै बाँडफाँड हुन्छ । आज अनुमति आएन भने साेमबारसम्ममा बाँडफाँड गर्छाैं ।’, क्यापिटलका प्रमुख कार्यकारी अधिकृत धुर्व तिमल्सिनाले विकासन्युजसँग भने । संस्थाले गत भदौ ४ गतेदेखि भदाै ८ गतेसम्म ८३ हजार कित्ता अर्थात ८३ लाख रुपैयाँ बराबरको सेयर निष्काशन खुल्ला गरेको थियो । जसमध्ये जारी पुँजीको ०.५० प्रतिशत अर्थात एक हजार सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, कूल साधारण सेयर मध्येको ५ प्रतिशत अर्थात ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहने ८० हजार ७ सय कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरेकाे छ । उक्त सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेकाे थियाे ।

सामुदायिक लघुवित्तको ३२ प्रतिशत बोनस सूचीकृत

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको ३२ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको शुक्रबार मात्रै ३ लाख २० हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । यससँगै, लघुवित्तको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।

उन्नति सहकार्य लघुवित्तको साधारण सेयर सूचीकृत

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको १४ लाख ९५ हजार ३ सय ६६ कित्ता साधारण सेयर सूचीकृत भएको छ । उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिए पश्चात बनेको उन्नति सहकार्य लघुवित्तको बिहीबार मात्रै सो मात्राको साधारण सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो । यी दुई संस्था १ बराबर ०.७५ को अनुपातमा एक आपसमा गाभिएका हुन् । त्यसपश्चात प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ दरको १४ लाख ९५ हजार ३ सय ६६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै संस्थाको आगामी आइतबारदेखि दोश्रो बजारमा सेयर किनबेच हुने छ ।