नेशनल लाइफको नाफा ११ करोड ८३ लाख, यस्ता छन् १५ महिनाका प्रमुख परिसुचक

काठमाडौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म) मा २ अर्ब ८० करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही समयमा १ अर्ब ९१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा ११ करोड ८३ लाख रुपैयाँ रहेको छ । गत वर्ष सोही अवधिमा कम्पनीको खुद नाफा ११ करोड ५३ लाख रुपैयाँ थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १५ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको नेशनल लाइफले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १६ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेशनल लाइफको खर्च ४ करोड १५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खर्च ४ करोड ८६ लाख रुपैयाँ रहेको थियो । यस आर्थिक वर्षको पहिलो ३ महिनामा कुल कायम रहेको बीमालेखको संख्या ८ लाख ८२ हजार छ । आगामी रणनीति कम्पनीले वहन गर्नुपरेको आन्तरिक र वाह्य समस्या तथा चुनौती र त्यसलाई समाधान गर्न व्यवस्थापनले अवलम्बन गरेको रणनीति सम्बन्धी कम्पनीले केही जानकारी दिएको छ । सो जानकारी अनुसार अहिले विश्वभर फैलिएको कोरोना भाईरसको कारणले अर्थतन्त्रमा मन्दी आएको अवस्था छ । त्यस्तै, उक्त मन्दीले जीवन बीमा व्यवसायमा प्रतिकूल प्रभाव पर्ने कम्पनीको अनुमान छ । कम्पनीले दिएको जानकारी अनुसार वर्तमान स्थितिमा बजार बृद्धि गर्न बीमा सेवा प्रभावकारी ढंगले अघि बढाउने आगामी रणनीति रहेको छ ।

प्राइम लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क र नाफा दुबैमा वृद्धि

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ४०.७२ प्रतिशत अर्थात ३१ करोड १७ लाख रुपैयाँले बढी हो । गत वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले ७६ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्कसंगै खुद नाफा पनि २०.४७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा कम्पनीले १० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको सोहि अवधिमा १२ करोड ७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोषको रकम ३१ प्रतिशतले बढेर १२ अर्ब ३७ लाख रुपैयाँ पुगेको छ । ११ अर्ब ३५ करोड रुपैयाँ रहेको कम्पनीको कुल लगानी बढेर १४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । जुन २४.४१ प्रतिशतले बढी हो । त्यस्तै, इन्स्योरेन्सको खुद सम्पत्ती ३ अर्ब १७ करोड रुपैयाँबाट बढेर ३ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । जुन ४.२१ प्रतिशतले बढी हो । समिक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी बढेर २१.३९ रुपैयाँ पुगेको छ । जुन गत आवको असोज मसान्तमा प्रतिकित्ता १९.९७ रुपैयाँ रहेको थियो । त्यस्तै, प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २९.९७ गुणा छ । इन्स्योरेन्सले हालसम्म १७ लाख १७ हजार ४२८ वटा बीमालेख जारी गरी कुल १९ अर्ब ५२ करोड कूल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, ६७९ वटा दाबी बापत कूल २९ करोड २८ लाख रुपैयाँको भुक्तानी गरेको छ भने ४४ वटा दाबी बापत एक करोड १ लाख ७४ हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ । आफ्नो कारोबारको पुनर्बीमा विश्व प्रसिद्ध रि इन्सयोरेन्स कम्पनी हेनोभर रीसंग गरेको कम्पनीकाे चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा ९० करोड ६० लाख रुपैयाँ सञ्चित छ ।

सिटी एक्सप्रेसले जित्यो अन्तर्राष्ट्रिय ‘पपुलारिटी अवार्ड’

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले अमेरिकाको फ्लोरिडामा आयोजित रेमटेक अवार्ड २०२० मा “पपुलारिटी अवार्ड” जित्न सफल भएको छ । रेमिटान्स क्षेत्रमा नेपालबाट सामाजिक प्रभावका निम्ती अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको यो पहिलो पटक हो । यस कार्यक्रममा संसारभर बाट ३२ प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा प्रभावकारी एवं कानूनी उत्तरदायित्व बहन गरी विश्वासिलो सेवा प्रदान गर्दै समाजमा सकारात्मक प्रभाव पार्न सफल भएको कारणबाट उक्त अवार्ड जित्न सफल भएको हो । यस अवार्ड प्राप्त गर्नाले सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो जिम्मेवारी अझ थपिएको र अबका दिनमा झन चुस्त, दुरुस्त, छिटो छरिता एवं प्रभावकारी गराउन कोशिस गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछ । यस अवार्डले हरेक वर्ष विश्वका विभिन्न मुलुकहरुबाट भित्रिने विप्रेषणलाई सुव्यवस्थित गर्न र आप्रवासीहरुलाई विश्वासिलो सेवा प्रदान गर्ने सहयोगको वातावरणलाई प्रोत्साहित गर्दै आइरहेको महशुष गरिएको छ ।