दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि आवेदन आह्वान
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खुला प्रतिस्पर्धाबाट सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि आवेदन आह्वान गरेको छ । सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ बमोजिम उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि मन्त्रालयले आवेदन मागेको हो । उम्मेदवारलाई आवेदनका साथ अवधारण र रणनीतिकपत्रसमेत पेस गर्न मन्त्रालयले आज १५ दिने सूचना जारी गरेको छ । साविक गेटा मेडिकल कलेज सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय हो ।
सिंहदरबारमा सर्यो शिक्षा मन्त्रालय, मन्त्री पुन सिंहदरबारमै बस्ने
काठमाडौं । शिक्षा मन्त्रालय सिंहदरबार सरेको छ । जेनजी आन्दोलनपछि केशरमहल सरेको मन्त्रालय फेरि सिंहदरबारभित्र रहेको पुरानै भवनमा सरेको हो । मन्त्रालय सिंहदरबार सरेपछि आइतबार दिनभरी मन्त्रालयका अधिकारीहरूले केशरमहलमा रहेका सबै सामग्री ओसारेका छन् । आइतबार केशरमहलको आफ्नै कार्यकक्षमा भेटिएका मन्त्री महावीर पुनले आजै सिंहदरबार सर्ने तयारी रहेकाको बताए । उनले भने, 'धेरैजसो सामग्री सारिसक्यो, रहेको सामान अहिले पनि ओसार्ने काम भइरहेको छ, अब सिंहदरबारबाटै काम सुरु हुनेछ ।’ उनका अनुसार अब मन्त्रालय जेनजी आन्दोलनबाट जलेको मन्त्रालयमै बस्ने भएको छ । मन्त्रालयका सूचना अधिकारी मधुप्रसाद घिमिरेले केशरमहलमा काम गर्न असहज भएपछि सिंहदरबार फर्केको बताए । ‘केशरमहलमा ठाउँ पनि साँघुरो भयो, काम गर्न पनि अफ्ठेरो हुँदा जलेकै भवन भएपनि पुरानै भवनमा फर्कियौं,' उनी भन्छन्, ‘सबै स्रोत साधन सिंहदरबारमै रह्यो, हामी महलमा रह्यौ यसो हुँदा काम गर्न समस्या भयो अब भत्केको ठाउँ बनाउँदै बस्नेगरी पहिलेकै ठाउँमा फर्कियौँ ।’ मन्त्री पुन सिंहदरबारमै बस्ने मन्त्रालय सिंहदरबार सरेसँगै मन्त्री पुनको बसाइँ पनि अब सिंहदरबारमै हुने भएको छ । गत असोज ६ गते शिक्षा मन्त्री बनेर केशर महलमै बसेका मन्त्री पुन अब सिंहदरबारमै बस्ने भएका हुन् । उनको सचिवालयका अनुसार मन्त्रालय सरेसँगै उनको कार्यकक्ष पनि सरेको हो । मन्त्रीका निजी सचिव डा. सागर ढकालले मन्त्रीको आवास पनि सिंहदरबारको मन्त्रालयमै सरिसकेको बताए । उनले भने, ‘मन्त्रालय केशरमहल हुँदा कार्यकक्षमै बस्नुभएको थियो, अब मन्त्रालय सिंहदरबारमा सर्यो, मन्त्रीज्यू पनि यतै बस्नुहुन्छ, यहाँ सबै तयारी पुरा भइसकेको छ ।’ मन्त्री कार्यकक्षमा बस्न थालेसँगै राम्रो नराम्रो प्रतिक्रिया आइरहेको छ । कसैले मन्त्री पुनको सादगी र काम गर्ने लगाव भन्दै प्रशंसा गरेका छन् भने कतिपयले भने कहीँ नभएको जात्रा भन्दै आएका छन् । पुनर्निमाणको काम जारी जेनजी आन्दोलनबाट जलेको शिक्षा मन्त्रालयको पुनर्निर्माणको काम पनि जारी रहेको मन्त्रालयका पदाधिकारीले बताएका छन् । जलेर कालो भएको ठाउँमा रङरोगन लगाइएको र फुटेका ठाउँमा टाल्ने काम भइरहेको छ । धेरै जसो काम सकिए पनि बाँकी पुनर्निर्माणको काम भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सूचना अधिकारी घिमिरे भन्छन्, ‘टालटुल गर्ने काम पनि भइरहेको छ, हामीले दिने सेवा पनि सुरु भइरहेको छ, अब भत्केकाे ठाउँ पुनर्निर्माण गर्दै सबै सेवा यहीँबाट सुरु गर्दैछौं ।’ यस्तै, रामशाह पथमा रहेको स्वास्थ्य मन्त्रालय पनि सिंहदरबारभित्र जाने प्रयासमा रहेको छ । जेनजी प्रदर्शनकारीहरूले मन्त्रालय जलाएर खरानी बनाएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यालयमा रहेको मन्त्रालय सिंहदरबारभित्र आफ्नो ठाउँ खोजिरहेको छ । भवन पाएपछि तुरुन्तै सर्ने तयारी भइरहेको मन्त्रालयले जानकारी दिएकाे छ ।
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयन गरिने
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदनमा प्राप्त सुझावका आधारमा मन्त्रालयले उपयुक्त कदम चाल्ने बताएका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आज पत्रकार सम्मेलन आयोजना गरी उनले खोजबिन समितिले औँल्याएका केही विषय कार्यान्वयनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइने बताए । ‘त्रिभुवन विश्वविद्यालयको जग्गा हड्पेर धेरै वर्षदेखि उपयोग गरेर नाजायज फाइदा लिइरहेको अवस्था रहेको छ । समितिको प्रतिवेदनका आधारमा मन्त्रालयले उपयुक्त कदम चाल्ने छ । मन्त्रालयबाट सल्टाउन नसकिने विषयको थप छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाइनेछ’, मन्त्री पुनले भने। त्रिविको जग्गा खोजबिनसम्बन्धी समितिको प्रतिवेदन अपूरो रहेको उल्लेख गर्दै उनले अझै गहन छानबिन गर्न गर्नुपर्ने आवश्यकता रहेको बताए। समितिको सिफारिसलाई नै टेकेर अर्को छानबिन समिति बनाउने तयारी गरिएको उनको भनाइ छ । यस्तै सुदूरपश्चिम विश्वविद्यालयको धेरै जग्गा हड्पेको भन्ने उजुरी मन्त्रालयमा प्राप्त भएको जानकारी दिँदै उनले त्यसका लागि पनि छानबिन समिति गठन गरिने बताए। मन्त्री पुनले पछिल्लो समय प्रविधिको विकास भएअनुसार हाम्रा विद्यार्थी पछि नपरून् भनेर माध्यमिक तहसम्म एक सय पूर्णांकको ‘कम्प्युटर’ विषय थप गर्ने निर्णय भएको जानकारी दिए ।