प्रश्नपत्र छपाईमा पनि कर्मचारीको बेइमानी, २३ प्रतिशत बढी प्रश्नपत्र छाप्दा पनि अभाव
काठमाडौं । कक्षा १२ को परीक्षामा विद्यार्थी संख्याको आधारमा आवश्यकताभन्दा २३ प्रतिशत बढी प्रश्नपत्र छपाइ गर्दा पनि देशभर अभाव भएको भेटिएको छ । तर, परीक्षा केन्द्रमा प्रश्नपत्र नपुग्दा दुई सयभन्दा बढी केन्द्रमा इमेल–फ्याक्सबाट पठाइएको छानबिनमा भेटिएको हो । एक महिनाअघि सञ्चालन भएको कक्षा १२ को परीक्षामा समस्या देखिएपछि छानबिन गर्न शिक्षा मन्त्रालयका प्रवक्ता डा। हरिप्रसाद लम्साल, डिल्ली लुइँटेल र ज्ञानेन्द्र बनको टोली गठन भएको थियो । टोलीले बुझाएको प्रतिवेदनमा परीक्षामा गम्भीर लापरबाही भएको भन्दै ६ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ । तर, कक्षा ११ को परीक्षा प्रभावित हुने डरले शिक्षा मन्त्रालयले प्रतिवेदन नै सार्वजनिक गरेको छैन । राष्ट्रिय परीक्षा बोर्डका परीक्षामा काम गर्ने नियन्त्रकलगायतका कर्मचारीको चरम लापरबाहीका कारण परीक्षा केन्द्रमा विद्यार्थीले घन्टौँसम्म प्रश्नपत्र पाएका थिएनन् । एक महिनाअघि सञ्चालन भएको कक्षा १२ को परीक्षामा प्रश्नपत्र नै अपुग भएपछि तत्कालीन परीक्षा नियन्त्रक सन्तोष अर्याललाई हटाएर नयाँ नियुक्त गरिएको छ । छानबिन टोलीको प्रतिवेदनमा अधिकांश केन्द्रहरूमा प्रश्नपत्र नपुगेर इमेलमार्फत पठाइएको उल्लेख छ । ‘एकै दिन रेगुलर र पूरक परीक्षा भएका सबै विषयमा प्रश्नपत्र नपुगेको पाइयो,’ छानबिन समितिका एक सदस्यले भने, ‘रेगुलर र पूरक परीक्षा एकै दिन भएका विषयमा रेगुलर विद्यार्थीका लागि प्रश्नपत्र छपाइ भयो । तर, पूरकको गणना नै भएन छ ।’ फरक दिन परीक्षा रहेका विषयमा आंशिक विषयको पनि प्रश्नपत्र छपाइ भएको पाइएको प्रतिवेदनमा छ । आवश्यकताभन्दा २३ प्रतिशत प्रश्नपत्र बढी छपाइ गरे पनि विद्यार्थीको संख्या सही आँकलन नहुँदा ठूलो क्षति भएको पनि छानबिन प्रतिवेदनमा छ । ‘अघिल्लो वर्षको विद्यार्थी संख्याको आधारमा प्रश्नपत्र छापिए छ,’ टोलीका एक सदस्यले भने, ‘एकातिर २३ प्रतिशत बढी छापेर क्षति भयो, अर्कोतर्फ विद्यार्थीले मानसिक रूपमा पीडा खेपे ।’ तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्को विनियमअनुसार प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा १० प्रतिशत प्रश्नपत्र अतिरिक्त पठाउनुपर्छ । कुल प्रश्नपत्र छपाइमा १० प्रतिशतदेखि अधिकतम २० प्रतिशत मात्र छाप्न पाउने व्यवस्था छ । १० देखि २२ वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षामा तीन लाख ५३ हजार विद्यार्थी परीक्षामा सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । देशभरमा ९ सय ९२ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव डा। डिल्लीराम रिमालले छानबिन टोलीको प्रतिवेदन आफूले प्राप्त नगरेको र अबको बोर्ड बैठकबाट सार्वजनिक हुने बताए । अबको बैठकबाट प्रतिवेदनमा सिफारिस भएका विषयमा निर्णय हुने उनको भनाइ छ । नयाँ पत्रिका दैनिकबाट ।
कक्षा ११ को परीक्षा असार १ गतेदेखि शुरु
काठमाडौं । कक्षा ११ को परीक्षा असार १ गतेदेखि शुरु हुने भएको छ । यसअघि असार ८ गतेदेखि शुरु हुने भनिएको परिक्षा दोस्रो चरणको चुनावले गर्दा ८ दिन अगाडि सरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले जेठ ३१ गतेको दोस्रो चरणको चुनाव असार १४ मा सार्ने निर्णय परेपछि ११ को परीक्षा अगाडि सारिएको हो । साथै, सोही दिन बसेको राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) को बैठकले कक्षा ११ को परीक्षा १ असारदेखि १० गतेसम्म गर्ने निर्णय छ ।
अब नेपाली विद्यार्थीलाई अष्ट्रेलिया जान सजिलो
काठमाडौं । नेपालबाट अष्ट्रेलिया पढ्न र करिअर बनाउन जान चाहने विद्यार्थीलाई पहिले भन्दा अलिक सजिलो हुने भएको छ। अष्ट्रेलियाबाटै त्यहाँको जिवन, विश्वविद्यालय, कोर्ष, आम्दानीको अवस्था साथै कसरी अष्ट्रेलिया प्रोसेस गर्ने आदी विषयमा जानकारी दिन सिड्नीमा रहेका केही युवाले पोर्टल नै सुरू गरे पछी अब अष्ट्रेलिया जान चाहनेका लागी सुसूचित हुन सजिलो हुने भएको हो। नेपालबाट अष्ट्रेलिया जान चाहने तथा अष्ट्रेलिया पुगिसकेका नेपालीहरूलाई त्यहाँको जीवन शैली तथा पढाई र भविष्यको बसाईंका बारेमा जानकारी दिने हिसाबले नेपालीपेजडटकम www.nepalipage.com वेब पोर्टल सुरू गरिएको छ। वेब पोर्टलले नेपाली तथा अंग्रेजी भाषामा नेपालबाट अष्ट्रेलिया जान चाहने तथा अष्ट्रेलियामा रहेका नेपालीहरूलाई अष्ट्रेलिया र त्यहाँको अवसर बारे सूचित गर्ने वेब पोर्टल संचालक तथा प्रोग्रामर मदनमणि अधिकारीले बताए। ‘हामीले एक वर्ष देखी अष्ट्रेलियाको नेपाली उपस्थिती, विद्यार्थीका समस्या अध्ययन गरेर यसको प्राविधिक तथा सामग्री योजनाबद्ध ढंगले विकास गरेका छौं’ अधिकारीले बताए। उनले नेपालमा पत्रकारिता गरेको अनुभव र अष्ट्रेलियाको सफ्टवेयर ईन्जिनियरिङको सिप प्रयोग गरेर आफू जस्तै अष्ट्रेलिया आउन चाहने विद्यार्थीलाई अष्ट्रेलिया अध्ययनका तिता मिठा भोगाई र संभावनाका बाटा पहिल्याउन सहयोग गर्ने हिसाबले यसलाई अघि बढाएको बताए। ‘नेपालबाट अष्ट्रेलिया जाने भनेपछी स्वर्गै हो कि जस्तो मान्ने गरिन्छ, यहाँका समस्या र प्रतिस्पर्धा अनि जोगिनुपर्ने धेरै विषय छन् जसको बारेमा नेपालमा धेरै कमलाई थाहा छ’ अधिकारीले भने ‘त्यस्ता विषय जसले अष्ट्रेलिया जाने निर्णयलाई सही र सफल बनाउन मदत गर्छन् ती कुराहरू हामीले समेट्छौं’। अधिकारी वेबसाइटका डेभेलोपर, प्रोग्रामर हुन्। उनले वेब पोर्टलको एण्ड्रोईड एप समेत सुरू हुन लागेको जानकारी दिए। वेब पोर्टलकी म्यानेजिङ एडिटर संगिता घिमीरेले आफूहरूले विशेष गरेर अष्ट्रेलियामा कस्तो कलेज एवम् कोर्ष पढ्ने, कसरी सस्तो शुल्क भएको कोर्ष तथा कलेज, युनिभर्सिटी छान्ने, कुन शहरमा बस्दा सस्तो सजिलो हुन्छ, कसरी पीआरको प्रक्रिया अपनाउने देखी अष्ट्रेलियामा घर किन्ने सम्मको जानकारी प्रकृयागत रूपमा प्रस्तुत गर्दै जाने बताईन। उनका अनुसार यसले नेपालबाट पीआर लिएर तथा विद्यार्थी भिषामा अष्ट्रेलिया जान चाहनेहरूका लागी अष्ट्रेलियाको रोजगारको बजार, सामयिक कोर्ष तथा अष्ट्रेलिया पुगेपछी काम तथा बसोबासको अवस्था बारे जानकारी लिन मदत गर्नेछ। पोर्टलका डिजीटल पब्लिसिङ म्यानेजर प्रमेश श्रेष्ठले नेपालीपेजले अष्ट्रेलिया र नेपालमा रहेका नेपालीलाई गुणस्तरिय डिजिटल कन्टेन्ट नेपाली र अंग्रेजी भाषामा उपलब्ध गराउने र त्यसबाट दुवै देशमा रहेका नेपाली साथै विश्वभरका नेपाली लाभान्वित हुने बताए। ‘हामीले दिने सूचना र जानकारीले नेपालीहरूलाई आफ्नो करिअर, शैक्षिक तथा आर्थिक अवस्था र अष्ट्रेलिया सपनालाई जोड्न सजिलो बनाउँछ’ श्रेष्ठले भने ‘यसका सामग्री मनन गर्ने हो भने नेपालीलाई अष्ट्रेलियामा जाने, बस्ने र निर्णय गर्ने विषय सजिलो हुन्छ, हाम्रो चाहना पनि नेपालीलाई अष्ट्रेलिया सजिलो बनाउने नै हो’। पछील्लो समय अष्ट्रेलियामा नेपाली विद्यार्थी विभिन्न सामुन्द्री दुर्घटना, झगडा तथा आत्महत्या जस्ता घटनाहरूमा जोडिएको धेरै समाचार आउने गरेका छन्। त्यसो त अष्ट्रेलियामा नेपाली विद्यार्थीहरू लामो समय सम्म काम नपाउने, श्रम शोषणमा पर्ने, कलेज तथा विश्वविद्यालयको फि जम्मा गर्न नै गाह्रो हुने जस्ता समस्यामा पर्दै आएका छन्। अष्ट्रेलिया पुगेपछी कलेज, कोर्ष परिवर्तन गर्ने देखी भिजा क्यान्सिलमा पर्ने विद्यार्थीको संख्या पनि बढ्दो छ। नेपालमा धेरै कन्सल्टेन्सीले सही सूचना र जानकारी नदिँदा अष्ट्रेलिया पुगेपछी विद्यार्थीले भोग्नुपर्ने समस्याहरू ठूलो हुने भएकाले सबैलाई सुसूचित हुने अवसर बढाउनका लागि पोर्टलको सुरूवात भएको वेब पोर्टल टीमले बताएको छ।