एसइई परीक्षाको नतिजा एक साताभित्र

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत दोस्रो साता लिएको परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सबै उत्तर पुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजू गर्ने काम भइरहेको जानकारी दिए । उनले भने-“नतिजा प्रकाशनका लागि अन्तिम तयारीमा जुटेका छौँ, कुनै प्राविधिक गडबढी भएन भने पाँच दिनभित्र नतिजा सार्वजनिक गछौँ ।” यसवर्षको परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए । रासस

३ बर्षभित्र ‘साक्षर कर्णाली प्रदेश’ घोषणा गरिने, २ करोड बजेट विनियोजन

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी ३ वर्षभित्र ‘साक्षर कर्णाली प्रदेश’ घोषणा गर्ने अभियानलाई लक्ष्यबिन्दुमा पु¥याउने नीति लिएको छ । साक्षरताको हिसाबले ५८.२५ प्रतिशत रहेको विद्यमान अवस्थाबाट पूर्ण साक्षर कर्णाली प्रदेश बनाउन सरकारले यो नीति लिएको हो । देशकै औसत साक्षरता दर ६५.९५ प्रतिशत भइरहेका बेला कर्णालीको साक्षरता दर ८ प्रतिशतभन्दा तल छ । सरकारले यही कुरालाई गम्भीरताका साथ लिएर नीतिगत लक्ष्यलाई सफल तुल्याउन अनौपचारिक शिक्षा एवं साक्षरता अभियानसम्बन्धी कार्यक्रमका लागि स्थानीय तहसँगको समन्वयमा कार्य मोडालिटी तथा कार्यपद्धति निर्माणगरी कार्यान्वयन गरिने बजेटमा उल्लेख गरेको छ । यसका लागि प्रदेश सरकारले २ करोड रुपैयाँ बजेटको विनियोजन गरेको छ । विद्यालय नजाने तथा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न, विद्यार्थी सिकाइ उपलब्धि अभिवृद्धि गर्न, बालबालिकालाई ‘विद्यालय ल्याऔँ, टिकाऔँ र सिकाऔँ’ भन्ने राष्ट्रिय अभियानलाई प्रभावकारी बनाउन सरकारले स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गर्ने नीति तय गरेको छ । विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराई नियमित पठनपाठनको व्यवस्थापन गर्ने स्थानीय तहलाई प्रोत्साहन गर्ने भन्दै सरकारले यसका लागि १ करोड ७० लाख रुपैयाँ बजेट व्यवस्था गरेको छ । त्यसैगरी, सरकारले प्राविधिक शिक्षामा महिलाको पहुँच वृद्धि गर्न ‘छोरी–बुहारी प्राविधिक शिक्षा छात्रवृत्ति’ कार्यक्रम लागूगर्ने नीति लिएको छ । दलित, विपन्न, द्वन्द्वपीडित, दुर्गम क्षेत्रका विद्यार्थीका लागि समेत प्राविधिक शिक्षामा पहँुच वृद्धि गर्न थप छात्रवृत्ति कार्यक्रमको व्यवस्था गरेर प्रदेश सरकारले १ करोड ५० लाख रुपैया बजेट विनियोजन गरेको छ । सरकारले आव २०७५÷०७६ मा छ हजार युवालाई छोटो अवधिको सीप विकास तालीम कार्यक्रम सञ्चालन गर्ने र सहभागी छनोट गर्दा महिला, एकल महिला, द्वन्द्व प्रभावित तथा दलित समुदायलाई प्राथमिकता दिने व्यवस्था गरेको छ । यसका लागि भनेर सशर्त अनुदानबाट सरकारले १० करोड ३० लाख रुपैयाँ बजेट व्यवस्था गरेको छ । त्यस्तै, प्रदेश सरकारले विद्यालय तहको शैक्षिक गुणस्तर र भौतिक विकासका लागि निर्वाचन क्षेत्रलाई आधार बनाएर विद्यालय पूर्वाधार सुधार कार्यक्रम सञ्चालन गर्न २१ करोड रुपैयाँ बजेट छुट्याएको छ । रासस

चौधरी फाउण्डेसनले लागू गर्यो विभिन्न विद्यालयमा ‘डिजिटल क्लासरूम’, प्राविधिक सामाग्री सहयोग

काठमाडौं । चौधरी फाउण्डेसनले तीन वटा विद्यालयमा ‘डिजिटल क्लासरूम’को अवधारणा कार्यान्वयनमा ल्याएको छ । सूचना प्रविधिमा आधारित विश्व ब्यापी अध्ययन/अध्यापनको पहु्ँचमा नेपाली बालबालिका पनि पुग्न सकून् भन्ने सोचका साथ यो अवधारणा कार्यान्वयनमा ल्याइएको हो । पहिलो चरणमा नवलपुरका दुई र सिन्धुपाल्चोकको एक विद्यालय डिजिटल क्लासरूम परियोजनाका लागि छनौट भएका छन् । जसमा नवलपुरकाे शान्ति श्रृजना आधारभूत विद्यालय र कावासोतीकाे कालिका आधारभूत विद्यालय रहेका छन् । चौधरी फाउण्डेसनका अध्यक्ष एवं सांसद विनोद चौधरीले नवलपुरका दुई विद्यालयमा स्थापित डिजिटल क्लासरूमको शनिवार छुट्टाछुट्टै कार्यक्रमकाबीच उद्घाटन गरेका छन् । यस परियोजनाअन्र्तगत पहिलो चरणमा प्रत्येक विद्यालयले सातवटा ल्यापटप, चारवटा डेक्सटप, ३२ इन्चको एउटा एलजी टेलिभिजन र प्रोजेक्टर प्राप्त गरेका छन् । डिजिटल क्लासरूमको विस्तारमा पनि फाउण्डेसनले सहयोग गर्नेछ । अध्यक्ष चौधरीले विश्वमा अहिले साक्षरताको परिभाषा परिवर्तन भएको भन्दै कम्प्युटर शिक्षा र अंग्रेजी भाषाको ज्ञान भएको व्यक्तिलाई मात्रै साक्षर मान्ने प्रचलन विकास भएको बताए । विश्वब्यापी यस्तो वातावरणमा नेपाली बालबालिकाको भविष्य सुरक्षित बनाईदिन कम्प्युटर, इन्टरनेटका माध्यमद्वारा डिजिटल क्लासरूमहरू स्थापना गर्नुको विकल्प नरहेको बताएका छन् । ‘डिजिटल क्लासरूम मार्फत् मात्रै हामीले हाम्रा विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सम्भव हुनेछ’, अध्यक्ष चौधरीले भने– शिक्षाको गुणस्तर सुधार्न यो अभियानलाई द्रुतगतिमा राष्ट्रब्यापी बनाउन आवश्यक छ । यसका लागि सरकार, निजी क्षेत्र र फाउण्डेसनहरूबीचमा सहकार्यको खाँचो छ ।’ डिजिटल क्लासरूम संचालन गर्न फाउण्डेसनले सूचना प्रविधिमा दख्खल भएका शिक्षकलाई तालिम पनि दिएको छ । डिजिटल क्लासरूमको अवधारणा कार्यान्वयनमा ल्याएकोमा अभिभावक र शिक्षकहरूले प्रसन्नता व्यक्त गरेका छन् । शान्ति श्रृजना आधारभूत विद्यालय, व्यवस्थापन समितिका अध्यक्ष रामथापाले विद्यार्थीको सिकाइ प्रकृयामा यस अवधारणाले सकारात्मक प्रभाव पार्ने बताउँदै फाउण्डेसनप्रति कृतज्ञता व्यक्त गरे । सिन्धुपाल्चोकको विद्यालयमा निकट भविष्यमै डिजिटल क्लासरूम उद्घाटन गर्ने कार्यक्रम छ । डिजिटल क्लासरूम संचालन गरिएका विद्यालयसहित पाँच विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था समेत मिलाईएको छ । विदेशबाट ‘वाटर फिल्ट्रेसन सिस्टम’ आयातगरि अन्तर्राष्ट्रिय मापदण्डमा शुद्ध खानेपानीको व्यवस्था मिलाइएको हो । यस प्रणाली प्राप्त गर्ने विद्यालयहरूमा शान्तिश्रृजना आधारभूत विद्यालय, सकलादेवी माध्यमिक विद्यालय, नवजागरण आधारभूत विद्यालय, कालिका आधारभूत विद्यालय र राष्ट्रिय आधारभूत विद्यालय रहेका छन् । विद्यार्थी, शिक्षक एवं स्थानीयवासीले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसारको शुद्ध खानेपानी पाएका छन् । अध्यक्ष चौधरीले यी सबै परियोजनाको उद्घाटन गरि शुद्ध खानेपानी प्रणाली समेत विद्यालयहरूलाई हस्तान्तरण गरेका छन् ।