सीटीईभीटीको ओरालो यात्रा : विद्यार्थी नपाउँदा धमाधम बन्द हुँदै विद्यालय, पुनर्संरचनाको आवश्यकता

काठमाडौं । ‘जनताको समृद्धिका लागि सीपयुक्त नेपाल’ भिजन र ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग अनुसार सक्षम जनशक्ति विकास गर्ने’  लक्ष्यका साथ स्थापना भएको संस्था हो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)  । तर, सीटीईभीटीले न भिजन पुरा गर्नसकेको छ न मिसन नै । स्वदेशमै रहेका विद्यार्थी र उद्योगीबीचको दूरी बढ्दो छ भने अन्तर्राष्ट्रिय बजारमा गएका श्रमिकहरू अदक्ष छन् । यसले पनि सीटीईभीटीले लिएको मिसन भिजन दुवै पूरा नगरेको देखाउँछ ।  बरु स्थापना भएको तीन दशकमै संस्था ओरालो लाग्दै गएको छ ।  राजनीतिले थिलोथिलो परेको र आवश्यक सीपयुक्त कार्यक्रम दिन नसकेको गुनासो अब नयाँ रहेन । बरु विद्यार्थीले सीटीईभीटीको शिक्षा लिनै छोडेका छन् । सीटीईभीटीबाट मान्यता लिएका शैक्षिक संस्था धमाधम बन्द हुँदा विद्यार्थी घटेको स्पष्ट पार्छ । शिक्षालाई प्राविधिक र सीपयुक्त हुनुपर्छ भन्ने आवाज उठिरहेको बेला प्राविधिक शिक्षा लिने विद्यार्थीको संख्या भने बर्सेनि घटिरहेको छ ।  सीटीईभीटीको सुधारका लागि पटक-पटक गठन गरिएका कार्यदलले पुनर्संरचना, गुणस्तर अभिवृद्धि, कार्यक्षमता वृद्धि तथा शिक्षाको पहुँच विस्तार सम्बन्धी  सुझाव पेश गर्दा पनि कार्यान्वयन हुन सकेको छैन ।  विगतमा तीन पटक बनाइएका कार्यदलले पेश गरेको सुझाव कार्यान्वयन नभएको अवस्थामा आइतबार अर्को कार्यदलले संस्थाको प्रतिवेदन बुझाएको छ । एक महिना अगाडि काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा डा.सुरजराज शर्माको संयोजकत्वमा गठन गरिएको कार्यदलले शिक्षामन्त्री महावीर पुनलाई प्रतिवेदन बुझाएको हो ।  प्रतिवेदन बुझ्दै शिक्षामन्त्री महावीर पुनले भने, ‘अब यो प्रतिवेदन अलमलमा पर्दैन, बरु छिट्टै सार्वजनिक गरेर छिटो भन्दा छिटो सुधारका लागि पहल गर्नेछु ।’ उनले प्रतिवेदन बुझेको फोटो सामाजिक सञ्जाल फेसबुकमा राख्दै लेखेका छन्, ‘प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद (सीटीईभीटी ) को पुनर्संरचना नगरी नहुने देखिएकोले प्राविधिक तालिम कार्यक्रमलाई समयको मागअनुसार सुधार गर्ने उद्देश्यले प्रा.डा. सुरेशराज शर्माज्यू (पूर्वउपकुलपति)को संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । एक महिनापछि कार्यदलले प्रतिवेदन बुझाएको छ । अब प्रतिवेदन अनुसार भटाभट पुनर्संरचनाको काम हुनेछ । त्यसको लागि कार्यान्वयन समिति बनाइयो ।’ मन्त्री पुनले कार्यान्वयन समिति पनि बनाइसकेको बताएका छन् ।  समितिले बुझाएको फाइल नै अलपत्र सीटीईभीटी को पुनर्संरचना र सक्षम जनशक्तिको को कुरा सुधारको उठेको अहिलेमात्र होइन, पहिले पनि उठेको थियो ।  पूर्वशिक्षामन्त्री विद्या भट्टराईले पनि सुधारका लागि आवाज उठाउँदै कार्यदल गठन गर्न निर्देशन दिएकी थिइन् । भट्टराईको निर्देशनपछि आयोगको शिक्षा हेर्ने सदस्य गीता पौडेल अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । अधिकारीको संयोजकत्वमा गठित कार्यदलले २०८१ पुसमै सुझाव सहितको प्रतिवेदन बुझाएको थियो । तर उनले राजीनामा दिएपछि प्रतिवेदन त्यत्तिकै थन्कियो ।  भट्टराईपछि मन्त्री बनेका शिक्षामन्त्री रघुजी पन्तले त्यो छलफल अगाडि बढाउने प्रयास गरेका थिए । तर, छलफल नहुँदै जेनजी आन्दोलनले सरकार परिवर्तन भयो । उसो त २०७५ सालमै प्रा.डा. प्रमोद श्रेष्ठको संयोजकत्वमा पनि कार्यदल गठन गरिएको थियो । त्यो कार्यदलले बनाएको प्रतिवेदन पनि सार्वजनिक हुन सकेन ।  पटक पटक सुधारको आवश्यकता भएर गठन गरिएका कार्यदलले काम गरेर बुझाएका प्रतिवेदनसमेत अलपत्र पारिएको भन्दै विज्ञहरू सरकारको आलोचना गर्छन् ।  सीटीईभीटी पुनर्संरचना आवश्यक किन ? विज्ञहरू अहिलेको अवस्थामा सीटीईभीटीको पुनर्संरचना, सक्षम जनशक्ति र कार्यक्रमहरू सबैमा पुन:छलफल आवश्यक रहेको बताउँछन् । विश्वमै आवश्यक ठानिएको प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण घट्नु नै सीटीईभीटीको गम्भीर समीक्षा आवश्यक रहेको बताउँछन् ।  शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला पहिला सीटीईभीटीमा विद्यार्थीको संख्या धेरै हुनु र आजभोलि घट्दो क्रममा हुनु नै ठूलो प्रश्न रहेको बताउँछन् । उनी भन्छन्, ‘हामी शिक्षा व्यवहारिक भएन, सीपमूलक भएन भनेर भनिरहने तर नहुने किन ? यो विषयमा सोच्नुपर्ने आवश्यकता छ ।’ उनी सरकारले प्राविधिक धार र प्राविधिक शिक्षालाई दुई ढंगले ल्याउँदा त्यति प्रभावकारी हुन नसकेको बताउँछन्। ‘यो बलियो भएन भनेर सीटीईभीटीले पनि बारम्बार भनिरहेको थियो, तर यहाँ सुन्ने कोही भएनन्,’ कोइराला भन्छन्, ‘सीटीईभीटी भनेको पैसा कमाउने राम्रो र असल स्रोत बन्यो, सीटीईभीटीले सम्बन्धन दिँदा पैसा खुवाउने प्रवृत्ति निकै बलियो हुँदै गयो । यस्ता गतिविधिबाट बचाउन जरुरी हुँदा यसको पुनर्संरचनाको निकै आवश्यक छ।’  कोइराला परम्परागत सीपलाई प्राविधिक बनाउनु पर्ने बताउँछन् । सरकारले हाम्रा सीपलाई प्राविधिक हो भनेर भन्न सकेन, दलितहरू परम्परागत रूपमा लगाउँदै आएको आरन व्यवसायलाई हामीले प्राविधिक हो भनेर कोर्स बनाउन सकेनौं, जसको परिणाम यस्तो अवस्था आयो । उनी यस्ता कुरा गर्न पनि सुधार र परिमार्जनको आवश्यक रहेको बताउँछन् ।  अदक्ष जनशक्ति र स्मार्ट विद्यार्थीको परिणाम अहिलेका विद्यार्थी स्मार्ट छन् । विद्यालय गएर शिक्षकले पढाउनुभन्दा अगाडि उनीहरूले कुरा थाहा पाइसकेका हुन्छन् । बढ्दो प्रविधिको पहुँचले अहिलेको विद्यालय उमेरका पुस्ता निकै स्मार्ट बनिसकेका छन् । विद्यार्थी आफैले घरमा सिकिसकेको कुरा कलेजमा गएर पढ्दा त्यति रुचि हुँदैन । विज्ञहरू अब विद्यार्थीलाई शिक्षा दिने शिक्षकले नै कसरी शिक्षा दिने भन्नेबारे चनाखो हुनुपर्ने बेला आएको बताउँछन् ।  नेपाली विद्यार्थीलाई प्राविधिक तथा व्यावसायिक शिक्षा दिन वि.सं. २०४५ सालमा सीटीईभीटी स्थापना गरिएको हो ।  जसले देशलाई आवश्यक पर्ने प्राविधिक तथा सीपयुक्त जनशक्ति उत्पादनमा प्रतिवद्धता गरेको छ । तर, प्रतिवद्धता अनुसारको परिणाम भने दिन सकेको छैन । नेपालमा सीटीईभीटीबाट मान्यता लिएर चार प्रकारका शैक्षिक संस्था सञ्चालन भइरहेका छन् । जसमा आंगिक शिक्षालयको ६७ वटा सञ्चालनमा छन् भने सीटीईभीटीको साझेदारीमा ५८ वटा शैक्षिक संस्था सञ्चालन भइरहेका छन् ।  यस्तै, सामुदायिक विद्यालय ६ सय ३९ र निजी ४ सय ३९ र छोटो अवधिको व्यवसायिक तालिम सञ्चालन गर्न सीटीईभीटीबाट सम्बन्धन लिने संस्थाको संख्या १८ सय ५० छ । ग्रामीणस्तरमा रहेका सामुदायिक विद्यालयले सञ्चालन गरेका सीटीईभीटीका कार्यक्रम अधिकांश रूपमा बन्द भइसकेका छन् । विद्यार्थीहरू नपाउँदा कार्यक्रम नै बन्द गर्नुपर्ने अवस्था आएको शिक्षकहरू बताउँछन् । पछिल्लो समय प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या समेत घट्दै गएको छ । सीटीईभीटीका अनुसार डिप्लोमा र प्री-डिप्लोमाका कार्यक्रममा निर्धारित कोटा अनुरूप विद्यार्थी पाउन मुस्किल छ ।  गत वर्ष २०८१ सालमा सीटीईभीटीले प्री-डिप्लोमाका कार्यक्रमका लागि २४ हजार ५ सय ९३ सिट खुलाए पनि ७ हजार तीन सय विद्यार्थीमात्र भर्ना भए । प्री-डिप्लोमा मात्र होइन, डिप्लोमा कार्यक्रममा पनि अवस्था उस्तै छ । २०८१ सालमै सीटीईभीटीले विभिन्न कार्यक्रमका लागि ५३ हजार ७ सय ५९ सिटका लागि भर्ना खुलाउँदा २५ हजार २ सय ४९ जना विद्यार्थीमात्र भर्ना भए । पछिल्ला केही वर्षमा भर्नादर घट्दै गइरहेको छ ।  सीटीईभीटीका सूचना अधिकारी एकराज अधिकारीका अनुसार पछिल्ला केही वर्ष यता  विद्यार्थीको संख्या घट्दै गएको छ । अधिकारी यो वर्षको लागि अहिले पनि रजिष्टशेन जारी रहेकाले ठ्याक्कै यति विद्यार्थी भर्ना भए भन्न नसकिने बताउँछन् । उनी रजिष्टेशन बन्द भइसकेपछिमात्र यकिन तथ्यांक आउने बताउँछन् । अधिकारीका अनुसार सीटीईभीटीमा विद्यार्थी घट्नाका मुख्य चारवटा कारण छन् । किन सीटीईभीटीमा विद्यार्थीको संख्या घट्यो भन्नेबारे गरिएको अध्ययनअनुसार अधिकारी विभिन्न कारण भएपनि मुख्य चारवटा कारण रहेको बताउँछन् । अधिकारीका अनुसार सबैभन्दा पहिलो कारण विद्यालय शिक्षा १२ कक्षा हुनु रहेको छ । उनी भन्छन्, ‘विद्यालय शिक्षा १२ कक्षा सम्मको भयो, हाम्रो डिप्लोमा तहका कार्यक्रमहरू एसईईपछि छ, यसो हुँदा विद्यार्थीलाई कक्षा १२ सम्म अनिवार्य गर्नुपर्छ, विद्यार्थी घट्नुको सबैभन्दा मुख्य कारण यही हो ।’ दोस्रो, शिक्षा विभागले कक्षा ९ देखि १२ सम्म प्राविधिक धारका कार्यक्रम सञ्चालन गर्नु हो । सामुदायिक विद्यालयमै विद्यार्थीले बिना शुल्क प्राविधिक धारका कार्यक्रम सञ्चालन हुँदा विद्यार्थीलाई सीटीईभीटी जानुपर्छ भन्ने लागेन । तेस्रो, विद्यार्थीमा जतिसक्दो छिटो प्लस टु पास गर्ने र विदेश जाने लहर हो ।  ‘सीटीईभीटीको कोर्ष गर्न तीन वर्ष लाग्छ, तर हाम्रा विद्यार्थीलाई जसोतसो प्लस टु पास हुनुपर्छ भन्ने हतार हुन्छ, विद्यार्थी प्लस टु पास गरेर विदेश जाने लहरले पनि हाम्रा विद्यार्थी कम भएका हुन्,’ अधिकारीले भने । उनी सीटीईभीटीमा विद्यार्थी कम हुनुको चौथो कारण पढेका विद्यार्थीलाई काम गर्न पर्याप्त उद्योग, कलकारखाना, प्रतिष्ठान नहुँदा  पनि विद्यार्थीको रुचि घटेको बताउँछन् ।  सीटीईभीटीका अन्य कार्यक्रममा विद्यार्थीको संख्या घटेपनि डिप्लोमा तहको स्वास्थ्य क्षेत्रका कार्यमा भने विद्यार्थीको आकर्षण बढिरहेको अधिकारीले बताए । यस्तो भन्छन् विज्ञ सीटीईभीटीले विद्यार्थी घट्नुका विभिन्न कारण देखाएपनि विज्ञहरू भने अदक्ष जनशक्ति, स्मार्ट विद्यार्थीको परिणाम र राजनीतिक कारणले सीटीईभीटीमा विद्यार्थीको आकर्षण घटेको बताउँछन् । शिक्षाविद् डा. विष्णु कार्की सीटीईभीटीले सञ्चालन गरिरहेका कार्यक्रम नै समयअनुसार हुन नसकेको बताउँछन् । विद्यार्थीलाई छोटो समयमा पढेर पैसा कमाउनुपर्ने हतार भइरहेको बेला तीन वर्षमा एउटै कोर्ष अध्ययन गर्नुभन्दा विदेश गएर पैसा कमाउने इच्छा हुने भएकाले अब कार्यक्रमहरू नै परिमार्जन गर्नुपर्ने बताउँछन् ।  शिक्षाविद् प्रा.डा विद्यानाथ कोइराला  विद्याथीले सीप युट्यबमा हेरेर केही समयमै सिक्ने सीप सीटीईभीटीले दुई/तीन वर्ष लगाउँदाको समस्या भएको बताउँछन् ।  उनी भन्छन्, ‘सीप सिक्नलाई विज्ञान र गणित चाहिन्छ भनियो, विज्ञान र गणित भन्नेबित्तिकै गाह्रो हुन्छ भन्ने बुझियो, पढाउने शिक्षक पनि  अदक्ष हुनु र विद्यार्थीले  विज्ञान र गणितलाई असजिलो मान्नुको परिणाम पनि  सीटीईभीटीका विद्यार्थी घट्नु हो ।’ कोइरालाका अनुसार सीटीईभीटीबाट प्राविधिक शिक्षा अध्ययन गरेका विद्यार्थी ६५ देखि ६८ प्रतिशत विदेश जाने गरेको बताउँछन् । उनी हरेक मान्छेसँग गरिखाने सीप हुनुपर्ने बताउँछन् । उनी सीटीईभीटीले केही मान्छेलाई मात्र गरिखाने बनाएको बताउँदै प्राविधिक शिक्षामा पनि परम्परागत तरिका हुँदाको परिणाम भएको बताए ।  नेपाल राष्ट्र बैकको तथ्यांकअनुसार २५ देखि ३० प्रतिशत नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ । अहिलेकै अवस्था रहने हो भने यो प्रतिशत अझै बढ्दै जाने छ । रेमिट्यान्स पठाउने मान्छे उच्च शिक्षा पढ्न नपाएका र मुस्किलले कक्षा १० पास गरेका व्यक्ति हुन् । सरकारले यस्ता व्यक्तिहरूलाई मध्यनजर गर्दै सीटीईभीटी स्थापना गरेको हो ।   शिक्षाविद् डा. विष्णु कार्की अहिले सीटीईभीटीको संरचना भन्दा पनि कार्यक्रममा ध्यान दिनु आवश्यक रहेको बताउँछन् । उनी भन्छन्, ‘संरचना र कार्यक्रम दुवै परिमार्जनको आवश्यक छ ।’ अहिले सीटीईभीटीले सञ्चालन गरिरहेका कार्यक्रम सरकारले छात्रवृत्ति दिएर पढ्न आह्वान गर्दा पनि विद्यार्थी नपाइरहेको अवस्था छ । ‘जसलाई राज्यले टार्गेट गरेर छात्रवृत्ति दिन्छौं, पढ्न आऊ भन्छ यस्ता विद्यार्थी ५० प्रतिशतसम्म नपाइरहेको अवस्था छ, यो भनेको हामीले विद्यार्थीलाई आवश्यक कार्यक्रम ल्याउन नसकेको भन्ने हो, हामीले त्यस्ता विद्यार्थीलाई चाहिने तालिम अथवा शैक्षिक कार्यक्रम दिन नसकेको हो,’ कार्कीले भने ।   

इटहरी इन्टरनेशनल कलेजको दीक्षान्त समारोह सम्पन्न, उत्कृष्ट विद्यार्थी लेनिसा घिमिरे सम्मानित

काठमाडौं । इटहरी इन्टरनेशनल कलेजले इटहरीको सोल्टी वेस्टेन्डमा वार्षिक दीक्षान्त समारोह २०२५ रूपमा सम्पन्न गरेको छ । सोमबार आयोजित कार्यक्रममा बिएससी (अनर्स) कम्प्युटिङ तथा बिए (अनर्स) बिजनेस एडमिनिस्ट्रेशन कार्यक्रमका स्नातक विद्यार्थीहरूको सहभागिता थियो । अभिभावक, शिक्षक तथा कलेज प्रशासनको उपस्थिति रहेको समारोहमा स्नातकहरूको उपलब्धि, सिकाइ यात्रा र भविष्यका अवसरबारे चर्चा गरियो । कलेजका अनुसार यस वर्षका उत्कृष्ट विद्यार्थीका रूपमा लेनिसा घिमिरेलाई आइएनजी छात्रवृत्ति प्रदान गरिएको छ । निरन्तर परिश्रम, नेतृत्व क्षमता र शैक्षिक उत्कृष्टताका आधारमा प्रदान गरिने यस छात्रवृत्तिले विद्यार्थीलाई आगामी शैक्षिक यात्रामा थप प्रेरणा दिने विश्वास कलेजले व्यक्त गरेको छ । कार्यक्रममा आइएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकी, लन्डन मेट्रोपोलिटन विश्वविद्यालयका एकेडेमिक प्रमुखलगायत प्रतिष्ठित व्यक्तित्वहरूको विशेष उपस्थिति थियो । स्नातकहरूलाई बधाई दिँदै अध्यक्ष बुढाथोकीले भने, 'विद्यार्थीहरूको मेहनत, धैर्य र समर्पण नै आजको सफलता हो ।' सोही कार्यक्रममा लन्डन मेट्रोपोलिटन विश्वविद्यालयका कम्प्युटिङ तथा डिजिटल मिडिया विद्यालयका डिन क्रिष्टोफर लेनले कलेज तथा विद्यार्थीहरूको प्रगतिको प्रशंसा गर्दै आइएनजी–लन्डन मेट्रोपोलिटन विश्वविद्यालयबीचको दिगो शैक्षिक साझेदारीलाई अझ सुदृढ बनाइने बताए । कलेजले दीक्षान्त समारोह आफ्नो वार्षिक शैक्षिक क्यालेन्डर अनुसार आयोजना गरिएको जनाउँदै आगामी दिनमा पनि शैक्षिक गुणस्तर र विद्यार्थी क्षमताविकासलाई प्राथमिकतामा राखेर कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

विश्वविद्यालय भन्दै ट्रेनिङ सेन्टरमा भर्ना, ठगिए ६५ जना विद्यार्थी

काठमाडौं । प्लस टुपछि कमाउँदै पढ्न पाइने आशामा कपिलवस्तुका सुलभ पोखरेल दुबई पुगे । तर जुन सपना बुनेर उनी दुबई गए, त्यो पुरा हुन सकेन । बरु पढ्न गएका उनी अहिले मानसिक तनावमा छन् । उनको ठूलो धनराशि र समय बर्बाद भयो । दुई वर्ष दुबईमा पढिसकेपछि त्यहीँबाट युरोप अमेरिका छिर्ने सपना बुनेर त्रिभुवन विमानस्थलबाट उडेका सुलभ आठ महिना नपुग्दै नेपाल फर्किए । कारण थियो शैक्षिक ठगी । विदेशको राम्रो विश्वविद्यालयमा पढाइदिने भन्दै कन्सल्टेन्सीले विश्वविद्यालयमा नभइ ट्रेनिङ इन्स्टिच्युटमा पठाएको भन्दै अहिले उनी नेपाल आएर न्याय खोजिरहेका छन् । कहिले शिक्षा मन्त्रालय, कहिले प्रहरी कार्यालय त कहिले कन्सल्टेन्सी धाउँदै सुलभका दिन बितिरहेका छन् । उनी भन्छन्, ‘विदेशमा पढ्ने, राम्रो पैसा कमाउने मेरो सपनाले मलाई मात्र नभइ परिवारलाई समेत मानसिक तनाव दिएको छ ।’  सुलभले प्लस टु बुटवलमा पढे । साथीभाइ धमाधम पढ्न विदेश जान थालेपछि उनलाई पनि जान मन लाग्यो । उनले कुन देशमा विद्यार्थीका लागि कस्तो सहज छ भन्नेबारे बुझे । साथीभाइ, कन्सल्टेन्सीमा बुझ्दा होटल म्यानेजमेन्ट (बीएचएम)का लागि दुबई उपयुक्त हुने सल्लाह पाए । सुलभले दुबई पढ्न जाने योजना घरमा आमाबुवासँग राखे । नेपाल बसेर चार वर्ष ब्याचलर्स गर्नुभन्दा विदेश गएर काम गर्दै पढ्ने र पढिसकेपछि राम्रो काम पाउने भन्दै अभिभावकलाई मनाए । आमाबुवा पनि तयार भए ।  सुलभ विदेश पढ्न जाने तयारीका लागि कपिलवस्तुबाट काठमाडौं आए । काठमाडौंमा रहेको एस्पाएर ग्लोबल एजुकेसन कन्सल्टेन्सी पुगे । कन्सल्टेन्सीले उनले देखेको सपनामा फुलबुट्टा भरिदिए । त्यसपछि उनले एस्पाएर ग्लोबल एजुकेशन कन्सल्टेन्सीबाट दुबईको एस्टी एकेडेमीका लागि तयारी गरे । कन्सल्टेन्सीले दुई वर्षमा ब्याच्लर्स सकिन्छ, इन्टर्नसिप पनि पाइन्छ, कलेजले नै राम्रो होटेलमा काम लगाइदिन्छ भन्ने आश्वासन देखाएपछि सुलभले कन्सल्टेन्सीलाई मोटो रकम बुझाए । त्यसपछि उनी गएको जनवरीमा पढाइको लागि दुबई पुगे ।  दुबई पुग्दा उनले सोचेको र कन्सल्टेन्सीले भनेको दुवै कुरा थिएन । ‘न पढ्ने कलेजमा डेस्क बेञ्च थियो, न कुनै ठूलो कलेज जस्तो, न कन्सल्टेन्सीले भनेजस्तो सेवासुविधा । त्यसपछि बल्ल ठगिएको शंका लाग्यो, बुझ्दै जाँदा कुनै कलेज नभइ ट्रेनिङ सेन्टर रहेको थाहा भयो,’ सुलभले भने । ‘घरबाट १५/२० लाख लगानी गरेर गएँ । न भनेजस्तो पढ्न पाइयो, न पैसा फिर्ता आयो, यत्रो डेढ वर्ष समय पनि बर्बाद भयो, पैसा पनि सकियो,’ उनले थपे । ठगिएको थाहा भएपछि नेपाली विद्यार्थी एकजुट भइ इन्स्टिच्युटसँग आफ्ना गुनासा पोखे तर उनीहरूले सुनेनन् । हामीले गर्ने काम भनेको शैक्षिक परामर्श र तालिम हो, कलेज जस्तो पढाइ गरेर सर्टिफिकेट नदिने भनिसकेपछि सुलभसँगै धेरै विद्यार्थी नेपाल फर्किन बाध्य भए। अहिले सुलभ नेपाल फर्केर कन्सल्टेन्सीसँग र न्यायिक निकाय धाइरहेका छन् । उनी भन्छन्, ‘यताउता धाउँदा थाक्यौं, कहिले शिक्षा मन्त्रालय, कहिले कन्सल्टेन्सी । गएको समय त फिर्ता आउँदैन अब लगानी फिर्ता आइदिए हुथ्यो । म शारीरिक मात्र होइन मानसिक रुपमा पनि निकै थाकिसकेँ ।’ सुलभमात्र होइनन्, अहिले युएईका विभिन्न कलेजमा नेपाली विद्यार्थी यसरी नै ठगीमा पर्ने गरेका छन् । काठमाडौंकी निकिता भुजेल पनि अहिले सुलभजस्तै न्याय खोजिरहेकी छिन् ।  काठमाडोंमै रहेको हार्वर एजुकेसन कन्सल्टेन्सीले उनलाई पनि एस्टीमा पठाएको थियो । उनको सपना पनि सुलभकै जस्तो थियो । अहिले नेपाल पुगेर न्याय खोजिरहेकी उनी प्रहरीमा उजुरी दिन जाँदा समेत प्रहरीले लिन नमानेको बताउँछिन् ।  ‘कन्सल्टेन्सीले कुरा गर्न नमान्दा काठमाडौं जिल्ला प्रहरीमा परिसरमा उजुरी दिन गयौ तर प्रहरीले लिन मानेन,’ उनी भन्छिन्, ‘तिमीहरूको काम मात्र गर्न बसेको हो हामी भन्दै प्रहरीले फाइल नै फालिदियो । प्रहरीले नै यसो गर्न मिल्छ त ? हामी त पीडित विद्यार्थी हौं, एकातिर आफ्नो पैसा, समय सबै सकिएको छ, अर्कोतिर प्रहरीले गरेको यस्तो व्यवहारले थप खिन्न बनायो ।’ उनी प्रहरीले गर्ने व्यवहारले कन्सल्टेन्सी र प्रहरीसँग साठगाँठ भएको हुन सक्ने शंका गर्छिन् ।  ६५  जना विद्यार्थीको उजुरी दर्ता युएईमा अध्ययनका लागि गएका नेपाली विद्यार्थीहरूले ठगीमा परेको भन्दै दूतावास र शिक्षा मन्त्रालयमा उजुरी दिएका छन् । दुबईस्थित दूतावास र नेपालमा गरी ६५ जना विद्यार्थीले ठगीमा परेको भन्दै उजुरी दिएका हुन् ।  शिक्षा मन्त्रालयको उच्च शिक्षा शाखाका अनुसार नेपाल र दूतावासमार्फत ६५ जना विद्यार्थीको उजुरी दर्ता भएको छ ।   उच्च शिक्षा शाखाका प्रमुख सेवन्त कोइरालाले उजुरी परेका विषयमा छानबिनको काम अगाडि बढिसकेको बताउँछन् । उनले भने, ‘हामीलाई सबै दर्ता भएका उजुरीलाई कारवाहीको लागि गृह मन्त्रालय पठाइसकेका छौं, सम्भवतः गृह मन्त्रालयले काम सुरु गरिसकेको छ ।’ कोइरालाले विद्यार्थी ठगीको उजुरी बढ्न थालेपछि विद्यार्थीलाई विदेश पढ्न जाँदा दिइने नो अब्जेक्सन लेटर (एनओसी)को काम पनि रोकेको बताए । उनले विद्यार्थी ठगिएका भनी उजुरी भएका कन्सल्टेन्सीलाई एनओसी दिन रोकेकाले मन्त्रालयले आफ्नो तर्फबाट गर्ने काम गरिरहेको पनि बताए ।   शिक्षा मन्त्रालयले फ्री जोनका इन्स्टिच्युटले युनिभर्सिटी भनेर भ्रामक दाबी गर्दै रकम लिइरहेको र पछि विद्यार्थी जाँदा भनेजस्तो नपाइएको बताएको छ ।   विद्यार्थी ठग्ने कन्सल्टेन्सी विद्यार्थीहरूले दिएको विवरणअनुसार १८ कन्सल्टेन्सी नाम सार्वजनिक भएको छ । ती कन्सल्टेन्सीले यूएईका नक्कली इन्स्टिच्युटमा विद्यार्थी पठाउने काम गरिरहेका छन् । प्रो एभिएसन, सटक्शी एजुकेशन फाउण्डेशन, एडुपोर्ट एजुकेशन कन्सल्टेन्सी, शिव ह्युम एजुकेशन, अक्सब्रिज इन्टरनेश्नल कन्सल्टेन्सी रहेका छन् ।  यस्तै, मेरिट्स, ब्राइटपथ, सिटीहब, एस्पायर ग्लोबल, कान्तिपुर अब्रोड, सिटी पार्क, मेनटोरा, एक्सेल इन्टरनेशनल, सरम आई, एनटीइआर, ए.एस. एजुकेशन, सकुरा नेपाल र एजुगेट कन्सल्टेन्सी रहेका छन् । दुबईमा रहेका महावाणिज्यदूत हरिप्रसाद ओडारीले विद्यार्थी ठगीका उजुरी आउने क्रम बढ्दै गइरहेको बताए ।  विकासन्युजसँगको कुराकानीमा उनले भने, ‘विद्यार्थी ठगिएको भन्ने सुनिएपछि हामीले ठगिएका विद्यार्थीलाई उजुरी दिन सूचना नै जारी गर्यौं, कतिपय विद्यार्थी उजुरी दिन आइरहनुभएको छ, हामी उहाँको उजुरी परराष्ट्र मन्त्रालयमा पठाइरहेका छौं ।’ उनले नेपाली विद्यार्थी ठगीमा पर्ने क्रम बढेकाले पढ्न आउनुभन्दा अगाडि कलेजको बारेमा राम्रो अध्ययन र जानकारी लिएर मात्र आउन सुझाव दिएका छन् ।  ‘विदेश जानु अगाडि म कहाँ जाँदैछु, म जाने कलेज कस्तो हो, विश्वविद्यालयबाट मान्यता लिएको कलेज हो वा होइन, सबै कुरा अध्ययन गरेर मात्र विदेश आउनुपर्छ,’ भण्डारीले भने । कन्सल्टेन्सी पनि सबै भरपर्दा नहुने भएकाले कन्सल्टेन्सी छनोट गर्दा पनि विद्यार्थीहरूले ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन् ।  ग्लोबल कलेज अन्तर्गतको लिबर्टी कलेजका प्राचार्य देवराज पनेरु नेपाली विद्यार्थीलाई विदेशभन्दा स्वदेशमै पढ्न आग्रह गर्छन् । प्लस टु सकेर विदेश जाने विद्यार्थीलाई काम र पढाइको तनावले मानसिक समस्या सिर्जना गर्ने बताउँदै उनी नेपालमै पनि राम्रा विषयहरू पढ्न पाइने भएकाले कम खर्चमा नेपालमै पढ्न सकिने औंल्याउँछन् । विदेश अध्ययनका लागि जाने विद्यार्थी र अभिभावक दुवैलाई मनोविमर्श आवश्यक रहेको उनको भनाइ छ । उनी विदेशमा काम गर्दै पढ्न भने जस्तो सजिलो नहुने भन्दै कलिला मष्तिस्कले विदेशमा दुःख पाइरहेको पनि बताए । ‘विदेशमा भनेजस्तो सजिलो हुँदैन, धेरैले दुःख पाइरहेका छन् । पढ्दै काम गर्न निकै गाह्रो हुन्छ । आर्थिक पाटोमा बढी ध्यान जाने हुँदा पढाइ पनि हुँदैन,’ पनेरुले भने । उनी विदेशको राम्रो विश्वविद्यालयमा छोराछोरीलाई काम नगराइ पढाउनमात्र पठाउनसक्ने आर्थिक हैसियत भएका परिवारले मात्र छोराछोरी विदेश पठाउनु पर्नेमा जोड दिन्छन् । के भन्छ इक्यान ? विदेश जाने नेपाली विद्यार्थी बढेसँगै नेपालमा कन्सल्टेन्सीको संख्या पनि बढेको पाइएको छ । कतिपय कन्सल्टेन्सी कानुनी रूपमा दर्ता भएर सञ्चालन भएपनि कतिपय बिना दर्ता नै सञ्चालन भइरहेका छन् ।  आज एक ठाउँमा एक नाम गरेर सञ्चालनमा आउने कन्सल्टेन्सी केही दिनपछि अर्कै ठाउँमा अर्कै नाममा सर्ने गरेको र कतिपय पैसा खाएर भाग्ने गरेको गुनासो पनि उत्तिकै बढ्न थालेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकामा खोलिएका धेरैजसो कन्सल्टेन्सी ठग र दर्ता नभएको पाएको बताएको छ ।  विभागले उपत्यका गर्दै आएको अनुगमनका क्रममा धेरैजसो शैक्षिक कन्सल्टेन्सी दर्ताविहीन अवस्थामा सञ्चालन भइरहेको छ । विभागले दर्ता नभएका करिब सय कन्सल्टेन्सीलाई कारवाही गरिसकेको जनाएको छ ।  यस्ता कन्सल्टेन्सीको काम विद्यार्थीलाई ठगी गर्ने र विदेशमा नभएका कलेजमा पठाउने गरेको गुनासोसमेत विभागमा विद्यार्थीले गर्ने गरेको छन् । विभागका अनुसार तीन हजार बढी कन्सल्टेन्सी दर्ता बिना सञ्चालनमा आएका छन् ।  नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले नेपाली विद्यार्थीलाई विदेशमा अलपत्र पार्ने कदमप्रति खेद प्रकट गरेको छ । नेपालकै कन्सल्टेन्सीले नेपाली विद्यार्थी ठग्नु दुःखद भएको भन्दै अवैध रूपमा सञ्चालन आएका कन्सल्टेन्सी बन्द गरिनुपर्ने प्रतिक्रिया दिएको छ ।  इक्यानका महासचिव दीपकराज भुसालले विद्यार्थीलाई झुटा आश्वसान दिई विदेशमा लिएर अलपत्र पार्ने जोसुकै कन्सिलटेन्सीलाई कारवाही गरिनुपर्ने बताए । उनले यस्ता कन्सल्टेन्सीको विषयमा इक्यानले समेत अनुशासन समिति बनाएर जानकारी लिरहेको बताए ।  उनी भन्छन्, ‘विद्यार्थीलाई ठग्ने कुनैपनि कन्सल्टेन्सी बन्द गरिनुपर्छ, केही कन्सल्टेन्सीले गरिएको अवैध कामले राम्रा काम गरिरहेका कन्सल्टेन्सीलाई समेत विश्वास नगर्ने क्रम बढेको छ । यो कदापि राम्रो होइन । ’  उनले अहिले एनओसी दिने काम पनि बन्द भइरहेकाले यो विषयमा व्यापक छलफल र खोज हुन आवश्यक रहेको बताए ।  दर्तामा ७ सय २० कन्सल्टेन्सी मात्र   नेपालमा बर्सेनि विदेश पढ्न जाने विद्यार्थीको संख्या बढ्दै गइरहेको छ । एक लाख बढी विद्यार्थी अध्ययनकै लागि विदेशिने गरेको तथ्यांकले देखाउँछ । अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा मात्र १ लाख २३ हजार ५८९ विद्यार्थीले एनओसी  लिएका थिए । जसमा संयुक्त अरब इमिरेट्स युएईका लागि २ हजार ९२ जना विद्यार्थीले एनओसी लिएका छन् ।  शिक्षा मन्त्रालयका अनुसार नेपालमा ७ सय २० वटा कन्सल्टेन्सीमात्र दर्ता भएर सञ्चालनमा आइरहेका छन् । तर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा करिब १० हजार कन्सल्टेन्सी रहेको जनाएको छ । नेपालमा सञ्चालन भइरहेको ९० प्रतिशत कन्सल्टेन्सी अवैध रूपमा सञ्चालनमा आएको विभागको भनाइ छ ।