पढाइको जोश कहिल्यै मर्दैन, कक्षा १२ को परीक्षा दिइरहेका ६८ वर्षीय लालबहादुर

गोरखा । शिरमा ढाका टोपी, निलो सुट र घाँटीमा भवानी माध्यमिक विद्यालयको टाइ । पालुङटार नगरपालिका–६ का ६८ वर्षीय लालबहादुर विक अमरज्योति जनता मावि लुइँटेल परीक्षा केन्द्रमा पुग्दा सुरुमा कतिपय झुक्किए, शिक्षक हुन् कि परीक्षार्थी भनेर । तर, उनी हाल सञ्चालन भइरहेको कक्षा १२ को परीक्षार्थी हुन । यहाँस्थित भवानी माविबाट शिक्षा सङ्कायमा अध्ययनरत उनी हाल अमरज्योति जनता मावि परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन् । कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट १० परीक्षार्थीभित्र परेका विकलाई कक्षा १२ पनि सजिलै उत्तीर्ण गर्छु भन्ने आत्मविश्वास छ । ‘अङ्ग्रेजी विषयमा चाहिँ एक दुई वटा वटा प्रश्नका उत्तर लेख्न सकिँन, तर फेलै चाहिँ भइन्न होला’, उनले भने, ‘अब बाँकी विषय त सजिलै छन् । आफ्नै शैलीमा लेख्न सक्छु ।’ उनी २०५५ सालमा नेपाल प्रहरीको सहायक निरीक्षकबाट सेवानिवृत्त भएका हुन् । कक्षा ७ पढ्दापढ्दै २०३५ सालमा प्रहरीमा भर्ती भएका उनले २०४२ सालमा तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित रामशाह माविबाट ‘प्राइभेट’तर्फ एसएलसी दिए । ‘त्यतिबेला प्राइभेट टेस्ट दिन पाइन्थ्यो । टेस्टमा पास गर्‍यो भने जति कक्षा पढेकाले पनि एसएलसी दिन पाउँथे । मैले पनि त्यसरी नै टेस्ट दिएर एसएलसी दिएको हो’, उनले भने । तर, त्यतिबेला जागिर खाँदै पढ्ने कुरा सजिलो थिएन । एसएलसी दिने बेला पनि ‘सिनियर कमान्डर’हरूले नपढोस् भनेर धेरै काम लगाउने गरेको उनी सुनाउँछन् । ‘दलितको छोरो पढेर हामीभन्दा ठूलो हुने भयो भनेर सिनियरहरूले खुबै पेल्थे । तर जसोतसो एसएलसी दिएँ । तेस्रो श्रेणीमा उत्तीर्ण पनि भएँ’, उनले भने, ‘पहिला गाउँकै स्कुल पढ्न पनि पैसा लाग्थ्यो । हामी चार भाई, एक बहिनी थियौँ । आर्थिक अभावका कारण पढाइ छोड्नु पर्‍यो । तर, मनबाट शिक्षाको भोक हराएन ।’ उनी पढाइलाई निरन्तरता दिन चाहन्थे । तर, घर व्यवहार र आर्थिक अभावका कारण निरन्तरता दिन सकेनन् । ‘छोराछोरी जन्मिसकेका थिए । आफ्नो रहरमात्र हेरेर भएन । घर व्यवहार पनि चलाउनु पर्‍यो’, विगत सम्झँदै विकले भने, ‘पेन्सन आएपछि पनि पढ्ने अनुकूलता मिलेन । अहिले छोराछोरीहरू सबै हुर्किए । बिहेबारी भइसक्यो । अब पढ्नलाई सहज छ । त्यसैले फेरि कक्षा ११ मा भर्ना गरेर पढ्न थालेको हुँ ।’ कक्षा १२ पछि स्नातकमा कानुन विषय लिएर पढ्ने इच्छा उनको छ । ‘पहिलेदेखि कानुन पढ्न मन थियो । अब कक्षा १२ पास गरेपछि कानुन पढ्छु । मलाई कानुन पढेर जागिर गरौँला भन्ने छैन । ढिलै भए पनि यति कक्षासम्म पढेको छु भनेर गर्व गर्न पाइयोस्’, उनले सुनाए । चार छोरा, एक छोरी र श्रीमतीसहितका परिवार भएका विकका छोराहरु वैदेशिक रोजगारीमा छन् । उनीहरुले पनि बुवालाई पढ्न प्रोत्साहन गर्नुका साथै सहयोग गरेको विक बताउँछन् । ढल्कँदो उमेरमा पनि शिक्षाप्रतिको उनको मोह देखेर विद्यालयका शिक्षकहरुले ‘पढ्नलाई उमेरले छेक्दैन’ भन्ने भनाइ पुष्टि भएको बताउने गरेका छन् । यस वर्ष गोरखाबाट तीन हजार ७५० जना विद्यार्थीहरूले सहभागिता जनाएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ गोरखाका अनुसार यो वर्ष नियमिततर्फ दुई हजार चारसय ७६ र ग्रेड वृद्धितर्फ एक हजार २५० जना परीक्षार्थीहरू कक्षा १२ को परीक्षामा सहभागी छन् ।   प्रतिक्षा आले/रासस      

त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभाग दर्शनाचार्य संयोजकमा डा रमेश पौडेल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति केन्द्रीय विभागको दर्शनाचार्य तथा विद्यावारिधि कार्यक्रम संयोजकमा डा. रमेश पौडल नियुक्त भएका छन् । दर्शनाचार्य तथा विद्यावारिधि कार्यक्रममा भर्ना भएका चौथो व्याचका विद्यार्थीहरूका लागि स्वागत कार्यक्रममा सह–प्राध्यापक डा. पौडेललाई संयोजक नियुक्त भएका हुन् । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा विभागका संस्थापक प्रमुख प्रा.डा खड्ग केसीले विश्वविद्यालय, विभाग र अध्ययनका विभिन्न पक्ष र उदाहरणसहित प्रष्ट पारे । यो विषय देश र अन्तर्राष्ट्रिय परिवेशमा महत्वपूर्ण रहेकाले गुणस्तरीय अध्यापनमा जोड दिए । केन्द्रीय विभागको दर्शनाचार्य एवं विद्यावारिधि कार्यक्रमका लागि विभागीय प्रमुख अपेक्षा शाहले विद्यार्थीहरूलाई आवश्यक पर्ने विविध जानकारीका साथ पौडेललाई स्वागत गरिन् । विभागमा अध्यापनरत प्राध्यापकहरूले आ-आफ्नो विषयमा संक्षिप्त जानकारी गराए ।  डा.पौडेलले विद्यार्थीहरूलाई आवश्यक ज्ञान आर्जन गर्नसक्ने अधिकतम राम्रो वातावरणका लागि क्रियाशील रहने वचनबद्धता व्यक्त गरे । साथै, अनुसन्धानात्मक अध्ययनका लागि जोड दिने उनको भनाइ छ । 

इम्बार्क कलेजमा 'अनम्याथ म्याथ टक’ कार्यक्रम वैशाख २७ गते हुने

काठमाडौं । 'गणित भनेको कण्ठस्थ गर्ने होइन, खोज गर्ने विषय हो ।' यही मूल सन्देशसहित आउँदैछ ‘अनम्याथ म्याथ टक’ - एक विशेष अनुभवात्मक गणित कार्यक्रम, जुन वैशाख २७ गते (१) मे, २०२५० शनिबार, इम्बार्क कलेज, पुल्चोक ललितपुर मा आयोजना हुँदैछ । मेन्टरल्याब नेपाल र एम्बार्क अनम्याथ प्रालिको सहकार्यमा आयोजना हुने यस कार्यक्रममा कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूलाई लक्षित गरी गणित शिक्षालाई रमाइलो, व्यावहारिक र जीवन्त बनाउने प्रयास गरिनेछ । कार्यक्रमको नेतृत्व भारत, नेपाल र युएईका हजारौं विद्यार्थीलाई प्रेरित गरिसकेका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त गणित शिक्षाविद् दिवेश बठीजा ले गर्नेछन् । उनी अनम्याथ स्कूल का सह–संस्थापक समेत हुन् । दिवेश बठीजाका अनुसार, 'गणित वास्तविक जीवनसँग जोडिने बित्तिकै विद्यार्थीहरूले यसलाई बुझ्न र रमाउन सुरु गर्छन् ।' कार्यक्रममा सहभागीहरूले गणितसँग सम्बन्धित रोचक गतिविधि, बहस, कथावाचन र अनुभव आदान–प्रदानमार्फत सिकाइलाई रमाइलो बनाउनेछन् । कार्यक्रम बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजे सम्म सञ्चालन हुनेछ । सिट संख्या सीमित भएकाले अभिभावक, शिक्षक तथा सरोकारवालाहरूलाई चाँडै दर्ता गर्न आयोजकले आग्रह गरेका छन् । दर्ता शुल्क प्रति सहभागी ९९ रूपैयाँ मात्र निर्धारण गरिएको छ ।