५२ वर्षको उमेरमा विद्यालय भर्ना भएकी वडासदस्य डल्लीदेवी भन्छिन् : पढेर साक्षर बन्ने सपना अब पुरा गर्छु

कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो नहुँदोरहेछ । यही कुरालाई सत्य प्रमाणित गरिदिएकी छिन् लालझाडी गाउँपालिका-४ पर्सीयाकी डल्लीदेवी चौधरीले । बाउन्न वर्षको उमेरमा चौधरीले विद्यालयमा भर्ना भएर पढ्न थालेकी छन् । गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएर उनले पढ्न थालेकी हुन् । चौधरी गाउँपालिका–४ को वडासदस्य हुन् । उनी पढ्नका लागि भर्ना भएको विद्यालय व्यवस्थापन समितिको सदस्य पनि हुन् । ‘सानैदेखिको विद्यालय गएर पढ्ने चाहना थियो’, उनले भनिन्, ‘पढ्नै पाइएन, सँगैका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका साथीहरूले हस्ताक्षर गर्नुहुन्छ, मैले औँठा लगाउनुपर्ने हुन्छ, यस्तो अवस्थामा मनभित्र हीनताबोध हुन्छ ।’ पढ्न पाएको भए यस्तो हुँदैनथ्यो भन्ने कुरा मनभित्रै खेल्ने गरेकाले हिम्मत गरेर पढेर साक्षर बन्नका लागि विद्यालय भर्ना भएको उनले बताइन् । ‘विद्यालय व्यवस्थापन समितिको बैठकमा सहभागी सदस्यहरूले आफूले यति उति पढेको कुरा सुनाउन थाले आफू नपढेकाले हीनता महसुस गरेँ’, उनले भनिन्, ‘मैले पनि पढेको भए अहिले फुइ लगाउथे भनेर सोच्न थाले, बैठकमै सहभागी शिक्षकले उमेर जति भए पनि पढ्नका लागि उमेर तगारो हुँदैन भनेर हौसला बढाएपछि मनभित्रैबाट पढ्ने पुनः इच्छा पलायो, त्यसपछि भर्ना भए, विद्यालयबाट किताब लगेर अध्ययन गर्न थालेको छु ।’ वडाको कामले गाउँमा खटिनुपर्ने हुँदा नियमित विद्यालय जान नपाए पनि घरमा रहेका नातिनीहरूबाट बाह्राखरी, दुनालगायत पढ्न र सिक्न थालेको उनले बताइन् । समय मिलेको बेला कक्षामै अरू विद्यार्थीसँगै बसेर पढ्न पनि जाने गरेको उनले बताइन् । धेरै वर्ष पहिले गाउँमा सञ्चालन भएको अनौपचारिक (प्रौढ) कक्षामा क, ख र १, २ सिकेको भए पनि बाह्राखरी र दुना नसिक्दा पढन लेख्नबाट वञ्चित भएको उनी बताउँछिन् । अनौपचारिक कक्षामा पूरै समय दिन नसक्दा लेख्न र पढ्न जान्ने हुन नसकेको उनको भनाइ रहेको छ । ‘बुबा किसान (जमिदार)को घरमा कमैया भएर काम गर्नु हुन्थ्यो’, उनले भनिन्, ‘सानै छदा विद्यालय पढ्छु भनेर बुबालाई नभनेको होइन, उहाँले पढ्ने कुराप्रति फिट्टिकै ध्यान दिनुभएन, सानै भएकाले आफूले विद्यालय जाने हिम्मत गरिन्, १०/१२ वर्षको उमेर भएपछि गोठाला जान थाले त्यसपछि विद्यालय जाने कुरा बिर्सिए ।’ तेह्र वर्ष पुग्नै लाग्दा विवाह भयो । घरधन्दा गर्नमै उनका दिन बित्न थाले । ‘विवाह भएर आएपछि ससुरालमा भान्साको काम सुम्पियो’, उनले भनिन्, ‘पूरै परिवारका लागि साँझ बिहानको खाना पकाउनुपर्दथ्यो, खाना पकाउन, खुवाउन र भाँँडाकुँडा सफा गर्नमै दिन बित्थ्यो, बचेको समयमा खेतबारीमा काम गर्नमै ठिक्क हुन्थ्यो ।’ चुलोचौकाबाट फुर्सदनै नहुने भएपछि पढ्ने कुरा सोच्न पनि नपाइएको उनी बताउँछन् । ‘विवाह भएको तीन चार वर्षमै बच्चाबच्ची जन्मिए, बच्चाबच्चीलाई हुर्काउनमै समय बित्दै गयो’, उनले भनिन् । आफूले नपढे पनि छोराछोरीलाई पढाउनुपर्छ भनेर त्यसतर्फ लागेको उनले सुनाइन् । छोरीछोराले एसइई परीक्षा उत्तीर्ण गर्न नसके पनि छोरीलाई सीपमूलक कार्यमा संलग्न गराउनुपर्छ भनेर सिलाइकटाइको कार्य सिकाएर आत्मनिर्भर बनाएपछि विवाह गरेको उनी बताउँछिन् । छोरालाई इन्टरनेट जडानको कार्यको सीप सिकाएर आत्मनिर्भर बनाएको उनको भनाइ रहेको छ । उनले छोरीको विवाह भने गरी सकेकी छन् । ‘वडासदस्यमा पहिलोपटक निर्वाचित भएर आएपछि समाजका अगाडि बोल्न निकै गाह्रो हुन्थ्यो’, उनले भनिन्, ‘वडासदस्यमै दोस्रो कार्यकाल बित्न लागेको छ, अब सबैका अगाडि विकासका कार्य, सामाजिक कार्य, रीतितिथी बसाल्ने कार्यसँगैै गाउँमा हुने सामाजिक कार्यमा नियमित भाग लिने भएकाले बोल्न सिकेको छु ।’ उनी अगाडि भन्छिन्, ‘जनताको आवाज गाउँसभामा लगेर राख्न सक्ने भएको छु, केबल खाँचो छ पढ्न लेख्नको, त्यो पनि पूरा गरेरै छाड्छु ।’ उनका अनुसार पढ्नका लागि विद्यालय भर्ना भएपछि विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक, गाउँपालिकाका जनप्रतिनिधि, गाउँका भद्रभलादमीले हौसला बढाउने कार्य गरिरहेका छन् । आउँदो स्थानीय तहको चुनावमा वडाध्यक्षको चुनाव लड्नुपर्छ, वडाध्यक्ष बन्नुपर्छ भनेर अहिलेदेखिने दबाब आउन थालेको उल्लेख गर्नुहुँदैन उनले चुनाव आउनअगावै पढ्ने लेख्ने कुरामा पोख्त बन्नका लागि निकै मेहनत गर्नुछ, त्यसैका लागि बढी समय दिन थालेको बताए । विद्यालयका प्रध्यानाध्यापक जगन्नाथ भट्टले वडासदस्य चौधरीलाई विद्यालयमा कक्षा १ मा भर्ना गरी पढ्नका लागि किताब उपलब्ध गराइएको बताए । ‘उहाँको पढ्ने प्रवल इच्छा रहेछ’, उनले भने, ‘उहाँकै इच्छाअनुसार भर्ना गरी कक्षामा सहभागी हुनका लागि आग्रह गरेका छौँ, उहाँलाई बाह्राखरीसँगै वर्णविन्यास, दुनालगायत लेख्न पढ्न सिकाउने कार्य गर्छौँ।’ खरर किताब पढ्ने र चुस्त दुरूस्त रूपमा हिसाब गर्न सक्ने गरी पढाएर निपूर्ण बनाउने उनले बताए । ‘वडासदस्यलाई पनि मेहनत गराउँछौँ’, उनले भने, ‘कक्षा शिक्षकहरूलाई सिकाउने कार्यमा बढी जोड दिन भनेका छौँ, भर्खरै कक्षा सञ्चालन भएकाले उहाँले कक्षामा सहभागी भएर पढ्ने इच्छा जाहेर गर्नुभएको छ पढ्नका लागि आउनुहुन्छ ।’ राजेन्द्रप्रसाद पनेरू/रासस

बिदामा पनि पठनपाठन गराउन शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ ।  मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१ चैत महिनामा सञ्चालन गरिएको शिक्षक तथा कर्मचारीको काठमाडौँ केन्द्रित आन्दोलनका कारण सामुदायिक विद्यालयका विद्यार्थी भर्ना एवं पठनपाठनलगायत कार्यमा असर पर्न गएकाले यस्तो अनुरोध गरेको जनाएको छ ।  मन्त्रालयले महासङ्घको प्रतिबद्धता समेतका आधारमा आवश्यक व्ययस्था मिलाउन सम्पूर्ण सामुदायिक विद्यालयलाई अनुरोध गरेको उल्लेख गरेको छ । 'पेसागत आन्दोलनका कार्यक्रममा शिक्षक तथा कर्मचारीको सहभागिताका कारण विद्यालयमा अनुपस्थितिलगायतका सवालको व्यवस्थापन गर्दै शिक्षकको मनोबल उच्च राख्दै विद्यालयको प्रशासकीय प्रबन्ध मिलाउन वाञ्छनीय भएकाले यस्तो आग्रह गरिएको हो', विज्ञप्तिमा उल्लेख छ । यस्तै, शिक्षक र कर्मचारीहरू हाल विद्यालय फर्केर आफ्नो पेसागत दैनिकी सञ्चालन गरिरहेको सन्दर्भमा सबैको निरन्तर सक्रियता, उत्प्रेरित कार्यसम्पादन तथा विद्यार्थीको सिकाइ उपलब्धिमा विशेष सुधार ल्याउन शिक्षकको अठोटलाई प्रवर्द्धन गर्ने उद्देश्यले विशिष्ट प्रकारको समन्वय, सहकार्य र सहजीकरणको भूमिका निर्बाह गरिदिन सबै स्थानीय तह, विद्यालय तथा सरोकार भएकालाई मन्त्रालयले विशेष अनुरोध समेत गरेको छ । 

विश्वविद्यालयका अतिक्रमित जग्गा अझै फिर्ता भएनन् : महालेखापरीक्षक

काठमाडौं । नेपालका विभिन्न विश्वविद्यालयमा हडपिएका जग्गा अझै फिर्ता हुन नसकेको पाइएको छ । त्रिभुवन विश्वविद्यालयदेखि अन्य विश्वविद्यालयको जग्गा हडपेको खबर पटक पटक बाहिर आउँदा समेत फिर्ता हुन नसकेको भन्दै महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ ।  नेपालको सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको जग्गा पनि अहिलेसम्म फिर्ता हुन सकेको छैन ।   विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरको १ सय १३ रोपनी एक निजी आवासीय विद्यालयले  १५ वर्षको लागि प्रयोग  गरिएकोमा म्याद समाप्त हुँदा समेत खाली हुन सकेको भन्दै तत्काल फिर्ता ल्याउन भनेको छ ।  यस्तै, बागमती नदी किनाराको १५ रोपनी जग्गा १ संस्थाले भोगचलन गरिरहेको र १३ रोपनी जग्गा विभिन्न मितिमा २ संस्थाले प्रयोग गरेकोमा विश्वविद्यालयले कुनै आम्दानी प्राप्त गर्न सकेको छैन ।  त्रिवि र अन्तर्गतका निकायहरूको पूर्ण स्वामित्वमा एक करोड ३१ लाख ३७ हजार वर्गमिटर, भोगाधिकार ९ लाख ९९ हजार वर्गमिटर र अन्य ६ लाख ५३ हजार वर्ग मिटर समेत १ करोड ४७ लाख ८९ हजार वर्गमिटर (१ हजार ४७९ हेक्टर) जग्गा रहेको छ । त्यस्तै, सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको एक क्याम्पसको नाममा रहेको तीन सय ८० बिघा जग्गामध्ये ३ सय बिघा जग्गा अतिक्रमण भएको छ । अतिक्रमित जग्गा अहिले सम्म पनि फिर्ता ल्याउन नसकेको भन्दै प्रतिवेदनले प्रश्न उठाएको छ ।  नेपाल संस्कृत विश्वविद्यालय र आङ्गिक विद्यापीठको स्वामित्वमा रहेको जग्गामा पनि विवाद देखिएको छ । तराईमा १ हजार ७ सय १८ बिघा १८ कट्ठा र पहाडी क्षेत्रमा १०२ रोपनी ९ आना जग्गा रहेकोमा ४ सय ८ बिघामा मोही कायम भएको र १२ बिघामा स्वामित्व विवाद रहेको छ ।  दाङको देउखुरीमा रहेको १ हजार ३ सय ३६ बिघा तथा बेलझुण्डी क्षेत्रमा रहेको ३ सय २६ बिघामध्ये ३५ बिघासमेत १ हजार ३ सय ७१ बिघा जग्गा २०५८ सालदेखि अतिक्रमणमा परेको छ ।  प्रतिवेदनले विश्वविद्यालयहरूले सम्पत्तिको केन्द्रीय लगत राखी सम्बन्धित निकायसँग समन्वय गरी अतिक्रमित जग्गाको उचित संरक्षण गर्नुका साथै आयमूलक कार्यमा उपयोग गर्न आग्रह गरेको छ ।