देशभर विद्यार्थी भर्ना अभियान शुरु, सरकारले निःशुल्क पाठ्यपुस्तक दिने

भक्तपुर । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने मूल नाराका साथ सरकारले देशभर एकैसाथ विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान शुरु गरेको छ । विद्यालयभन्दा बाहिर रहेका सबै बालवालिकालाई विद्यालयमा ल्याउन यसवर्ष हातहातमा पाठ्यपुस्तकसहित आजदेखि भर्ना अभियान शुरु भएको हो । शैक्षिकसत्र २०७५ मा भर्ना हुने विद्यार्थीलाई हातहातमा निःशुल्क पाठ्यपुस्तक वितरण गर्न सरकारले २ अर्ब २२ करोड २२ लाख बजेट विनियोजन गरिएको छ । शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले वैशाखको दोस्रो सातासम्म देशका विशिष्ट व्यक्तिबाट पाठ्यपुस्तकसहित विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने जानकारी दिँदै अभियानमा छुटेका विद्यार्थीलाई वैशाखको तेस्रो हप्तामा घरदैलो अभियानमा भर्ना गराइने बताए । शिक्षा विभाग अनिवार्य शिक्षा शाखाका उपनिर्देशक नरहरि अर्यालले शैक्षिक सत्र २०७४ मा ९७।२ प्रतिशत विद्यार्थी भर्ना दर पु¥याएकोमा यसवर्ष यसलाई वृद्धि गर्न प्रभावकारी रुपमा अभियान शुरु भएको बताए । विभागका अनुसार ५ वर्षदेखि ९ वर्ष उमेर समूहका ८८ हजार २०७ बालबालिका अझै विद्यालय बाहिर रहेको र आधारभूत तह उमेर समूहका तीन लाख १३ हजार २८९ बालबालिका विद्यालय बाहिर रहेका छन् । प्राथमिक उमेर समूहको खुद भर्ना दर ९७।२ प्रतिशत र कक्षा १ देखि ९ सम्मको आधारभूत तहको खुद भर्ना दर ९२।३ प्रतिशत छ । सरकारले यसवर्ष खुद भर्ना दर शतप्रतिशत पु¥याउने लक्ष्य लिएको उपनिर्देशक अर्यालले जानकारी दिए। यसअघिका वर्षमा शिक्षा मन्त्रालय, शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय र शिक्षामा कार्यरत गैरसरकारी संस्था भर्ना अभियानमा सहभागी हुँदै आएकामा यसवर्ष भने सरकारले केन्द्र, प्रदेश र स्थानीय सरकार भर्ना अभियानमा सहभागी हुन निर्देशन जारी गरेको छ । यसवर्ष प्रधानमन्त्री केपी शर्मा ओली आफैँ विद्यार्थी भर्ना अभियानमा सक्रिय हुने भएका छन् । त्यस्तै मन्त्रीहरु, सचिव, सहसचिव, अधिकृत, उच्च राजनीतिक नेतृत्व, जनप्रतिनिधि, कलाकार, कर्मचारी र स्थानीय तहलाई भर्ना अभियानमा सक्रिय बनाइने भएको छ । उपनिर्देशक अर्यालका अनुसार आधारभूत तहमा सबैभन्दा बढी सर्लाही, धनुषा, रौतहट, पर्सा, बारा, कपिलवस्तु, मोरङ, सुनसरी, रूपन्देही, सप्तरी, सिरहा, महोत्तरी र बाँकेमा बालबालिका विद्यालयभन्दा बाहिर रहेकाले ती क्षेत्रमा विशेष रुपमा नै अभियान संचालन गरिनेछ । रासस

विद्यार्थीको व्यक्तित्व र नेतृत्व विकास गर्ने शिक्षामा जोड दिएका छौं-मनोजकुमार थापा मगर

आर्थिक रुपमा कमजोर परिवारमा जन्मनु भएका मनोजकुमार थापा मगर प्रिप्राइमरी स्कूल पढ्दै गर्दा उहाँको आमा बित्नुभयो । त्यो अवस्थामा कहिले मामाघरमा बसेर, कहिले घरमा बसेर स्कूल तहको अध्ययन गर्नु भएका थापाको कलेज जीवन पनि संघर्षमा नै बित्यो । स्कूलमा पढाउदै, कलेज पढ्दै गरेर उहाँले शंकरदेव कलेजबाट एमबीएस, एपेक्स कलेजबाट एमबीए गर्नुभयो । मनोजकुमार थापा मगर, कार्यकारी निर्देशक/प्राचार्य- नेपालय एजुकेशन फाउण्डेशन शिक्षण पेशा अगाल्दै गर्दा उहाँले स्कूल तथा कलेजमा ठूलो लगानी गरिसक्नु भएको छ । हाल उहाँ नेपालय एजुकेशन फाउन्डेशनको कार्यकारी निर्देशक तथा नेपालय उच्च माविको प्राचार्य हुनुहुन्छ । नेपालय एजुकेशन फाउन्डेशन अन्तरगत नेपालय उच्च मावि र हेण्ड्री फोर्ड कलेज सञ्चालन भईरहेका छन । प्रस्तुत छ नेपालयलाई एउटा विश्वविद्यायलको रुपमा विकास गर्ने सोच बोक्नु भएका मनोज थापा मगरसँग विकासन्युज प्रतिनिधिले गरेको विकास वहस । विद्यार्थी र अभिभावकले नेपालय उच्च माविलाई किन रोज्ने ? २० वर्षअघि अमरज्योतिको नामबाट सञ्चालनमा रहेको स्कूललाई हामीले नाम परिवर्तन गरेर नेपालय उच्च मावि बनाएका हौं । हामीले स्कूलको नाम परिवर्तन गरेको होइनौं, साधन र साध्य पनि परिवर्तन गरेका छौं । शिक्षण विधि र अभ्यासमा परिवर्तन गरेका छौं । हामीले हिजो जे गरि आएका थियौं । त्यसलाई फरक ढङ्गबाट गर्नुलाई साध्यको रुपमा लिएका छौं । हाम्रो विद्यार्थीलाई एउटा घरको पूरै असल छोराछोरी बनाउने हाम्रो उद्देश्य हो । अभिभावकले जुन सपना बोकेर हामीलाई आफ्नो बच्चा हस्तान्तरण गर्नुहुन्छ । उहाँहरुले हामीलाई जिम्मेवारी हस्तान्तरण गर्नु भएको हुन्छ । उक्त जिम्मेवारीलाई निभाउँदै बच्चा पूर्ण सक्षम बनाएर अभिभावकलाई हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो । बच्चामा विभिन्न ज्ञान, शिप, अनुशासन, आचरण गुणले सम्पन्न गराएर फेरी अभिभाकलाई बच्चा हस्तान्तरण गर्ने कार्यलाई साध्यको रुपमा लिएका छौं । त्यसको लागि स्कूलले गत वर्षबाटै तल्लो कक्षादेखि जग बलियो बनाउन भनेर नर्सरीदेखि १ क्लाससम्म पूर्ण रुपमा मन्टेश्वरीवेस पढाउन थालिसकेका छौं । सम्भवतः अर्को वर्ष ५ कक्षासम्म मन्टेश्वरी मोडलमा जाने तयारीमा छौं । शिक्षामा नयाँ–नयाँ विधि र प्रक्रिया आइराखेका हुन्छन् । प्रविधियुक्त नयाँ विधिले धेरै विषय सिक्न र सिकाउन सजिलो भएको छ । प्रविधियुक्त नयाँ शिक्षण विधिलाई हामीले प्रयोग गरिरहेका छौं । नेपालयले पूर्वाधार निर्माण र विकासतर्फ धेरै काम गरिसकेको छ । खेलमैदान, कम्प्यूटर प्रयोगशाला, साइन्स प्रयोगशाला, लाईब्रेरी, कन्फरेन्स हल लगायत पूर्वाधार बनेका छन् । टिमवर्कमा काम गर्न सिकाउन, सामाजिक काम गर्न प्रेरित गर्न स्काउट शुरु गरेको छौं । प्रतिस्पर्धी क्षमताको विकास गर्नको लागि चाइनिज ल्याङग्वजको कक्षा चलाएका छौं । प्रयोगात्मक शिक्षा, शैक्षिक भ्रमण, खेलकुद, नाचगान, क्षमता विकासका लागि विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु गर्दै आएका छौं । नेतृत्व र व्यक्तित्व विकासका लागि नियमित मोटिभेशन कक्षा सञ्चालन गर्दैछौं । मोटिभेशनल कार्यक्रमको पनि निश्चित कोर्ष तयार गर्ने र विभिन्न क्षेत्रका सफल व्यक्तिहरुलाई मोटिभेटरको रुपमा आमन्त्रित गर्ने गरी क्यालेण्डर नै बनाएर अगाडि बढिरहेका छौं । कलेजमा नयाँ कार्यक्रमहरु थप्दै लगेका छौं । हामीले नेपालयलाई एउटा विश्वविद्यालय कै रुपमा विकास गर्न चाहिरहेका छौं । सरकारीभन्दा निजी स्कूलले दिने बढ्ता सेवा सुविधा के के हुन् ? सरकारी स्कूलहरु पूर्वाधार, मानव संसाधनमा सम्पन्न हुन्छन् । आयोग पास गरेका शिक्षक स्थायी शिक्षकहरु राखेका हुन्छन् । विभिन्न तालिमको व्यवस्था हुन्छ । केही सामुदायिक स्कूलहरुले उदाहरणीय रुपमा काम गरेका छन् । ती स्कूलमा भर्ना हुन समेत प्रतिस्पर्धा हुने गरेको छ । जुन–जुन विद्यालयहरुले गुणात्मक तथा प्रतिस्पर्धात्मक शिक्षा दिएका छन् । त्यसलार्ई हामी प्रोत्साहित गर्नुपर्छ, हामी प्रशंसा गर्छौ । तर धेरै सार्वजनिक विद्यालयहरु स्रोत साधान सम्पन्न भएर पनि गुणस्तरीय शिक्षा दिन सकेका छैनन् । त्यो ग्याबलाई निजी विद्यालयहरुले पूरा गर्ने काम गरेका छन् । पछिल्लो समय समग्रमा नेपालको शिक्षालाई प्रतिस्पर्धात्मक तथा गुणात्मक रुपमा विकास गराउनमा वोर्डिङ स्कूलको महत्वपूर्ण भूमिका रहेको छ । विगतमा गाँस, वास, कपासलाई मात्रै आधारभूत आवश्यकता मानिन्थ्यो । अहिले आएर शिक्षा, स्वास्थ्यलाई पनि मान्ने गरिएको छ । हरेक अभिभावकहरु शिक्षा र स्वास्थ्यमा खेलबाड गर्न चाहँदैनन् । सबैले नसक्लान तर धेरै बोर्डिङ स्कूलहरुले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिइरहेका छन् । निजी स्कूलहरुले संस्कार, शिक्षा, व्यक्तित्व विकास, अनुशासन, रिजल्ट राम्रो ल्याइरहेका छ । इतिहास हेर्न सकिन्छ । त्यस्तै, नेपालय मध्यम किसिमको स्कुल हो । मध्यम आयस्तर भएको र बच्चाको भविश्यको लागि केही गर्ने सोच छ भने हाम्रो जस्तो विद्यालयलाई छनौट गर्ने गरेका छन् । हामी केटाकेटीलाई संस्कार कसरी दिने भन्नेमा जोड दिन्छौं । अहिले घर, परिवार, समाज जताततै अनुशासनको कमी देखिएको छ । त्यसैले हामीले अनुशासनलाई जोड दिएका छौं । दोस्रो गुणात्मक शिक्षा बच्चाहरुको जग(बेस) कसरी बलियो बनाउने, भोलि जुनसुकै परिवर्तन आउदा पनि भिड्न सकोस् भन्ने आधारले हामी अघि बढेका हौं । निजी क्षेत्रले विद्यार्थीमा हुनु पर्ने गुणात्मक, अनुशासन, व्यक्तित्व विकास, संस्कार, प्रतिस्पर्धा जस्ता ग्याबलाई भर्ने काम गरेको छ । कहिले निजी विद्यालयहरुलाई दमन गर्ने, तर्साउने किसिमको वातावरण सृजना हुन्छ । सो कारण वोर्डिङ स्कूलमा लगानी गर्न खोज्ने, लगानी गर्ने लगानीकर्ताहरुलाई समेत लगानीको सुरक्षा नहुने डर छ । खुलेर काम गर्न पाएका छैनौं । निजी क्षेत्रका स्कूलहरुको कमी कमजोरी के के देख्नुहुन्छ ? निजी स्कूलहरुलाई पनि जिल्ला शिक्षा कार्यालयले वर्गिकरण गरेको छ । हामीले पनि त्यसलाई स्वीकार गरेका छौं । विभिन्न दायराको आधारमा ए, बी, सी गरेर श्रेणी छुट्याएको छ । शिक्षा नीतिले विभिन्न पूर्वाधार, संरचना, नीति नियम भए, नभएको आधारमा वर्गिकरण गरेर ग्रेड छुट्याएको छ । मुलुकको सम्पूर्ण बोर्डिङ स्कूल मध्ये ५/७ प्रतिशत अत्यन्तै सम्पन्न, पूर्वाधारको दृष्टिकोणले पनि अत्यन्तै ठूलो लगानी, मानव संसाधनको पनि त्यही किसिमको तयारी, सम्पूर्ण संसाधले पूर्ण अवस्थामा छन् । त्यो वाहेकका धेरै बोर्डिङ स्कूलहरुमा पूर्वाधारको समस्या देखिन्छ । धेरै बोर्डिङ स्कूलहरुले शिक्षा ऐनले निर्देशित गरे अनुसार पूर्वाधार विकास गर्न सकेका छैनन् । दोस्रो चुनौति मध्ययम वोर्डिङ स्कूलमा पढाउनका लागि शिक्षक, शिक्षिकाहरुको आकर्षण विगतभन्दा कम देखिएको छ । उनीहरुले जिन्दगीको वृद्धि विकासको सम्भावना कम देखेको देखिन्छ । विदेशमा जाने, सरकारी जागिर खाने, बैंक वा ठूलो कर्पोरट हाउसमा जागिर खानेतर्फ जति आकर्षण स्कूल कलेजमा टिचिङ गर्नेमा छैन । अहिले वैदेशिक रोजगारी, काम दिगो नहुनु लगायतको कारणले सोचे जस्तो दक्ष जनशक्ति प्राप्त गर्न गाह्रोे परेको छ । करारमा राखेर शिक्षक शिक्षिकाहरुलाई विभिन्न तालिम, प्रशिक्षण लागायको व्यवस्था गरेर त्यसको पूर्ति गरिरहेको अवस्था छ । अन्य क्षेत्रले जस्तो पेन्सन, उपदान दिने वातावरण अझै बन्न सकेको छैन । तेस्रो चुनौति बोर्डिङ स्कूलहरुको लागि ऐन समस्याको रुपमा आएको छ । कहिले निजी विद्यालयहरुलाई दमन गर्ने, तर्साउने किसिमको वातावरण सृजना हुन्छ । सो कारण वोर्डिङ स्कूलमा लगानी गर्न खोज्ने, लगानी गर्ने लगानीकर्ताहरुलाई समेत लगानीको सुरक्षा नहुने डर छ । खुलेर काम गर्न पाएका छैनौं । एक डेढ हप्ताअघि मात्रै पनि शिक्षा क्षेत्रको विज्ञहरुले सबै बोर्डिङ बन्द गर्नुपर्छ भन्ने धारणा राखेका थिए । त्यसले हलचल नै मचाइदियो । सम्बन्धित मन्त्रालयहरुबाटै पनि कन्ट्रोभर्सरी स्टेटमेन्टहरु आउने गरेको छ । ठूला–ठूला पूर्वाधार बनाए बसेको निजी स्कूलहरुलाई भने त्यसले असर पार्दैन । जो मध्यम वर्गको विद्यालयहरु जो आफ्नै शैलीमा चलेका छन् । त्यस्तालाई डरको वातावरण सृजना हुन्छ । शिक्षामा निजी क्षेत्रको लगानीको ग्यारेन्टी हुने हो भने खुलेर पूर्वाधार, जनशक्तिको विकास गर्ने अवस्था हुन्थ्यो । समग्रमा शिक्षा क्षेत्रको विकास कसरी हुनुपर्छ ? अहिले शिक्षा क्षेत्रका जुन ऐन बनिरहेका छन् । नीति नियम निर्माण भइरहेको छ । उक्त नियमले देशको शैक्षिक जागरणमा निजी क्षेत्रको पनि उत्तिकै महत्व हुने भएकोले प्राथमिकतामा राखेर अघि बढोस् भन्ने हाम्रो अपेक्षा हो । निजी विद्यालयहरुलाई पनि उत्प्रेरित गर्नुपर्छ । हामीलाई के थाहा छ भने नर्सरी, एलकेजी हुँदै एउटा वच्चा १३ वर्षसम्म स्कूलमा रहन्छ बन्छ । ऊ समाजको नेतृत्व गर्ने नागरिक हुन्छ । यो पुस्ताको हातमा हुन्छ भोलिको समाज । हाम्रो उद्देश्य स्कूल चलाउने, स्कूलबाट केटाकेटीलाई पास गराउदै जाने मात्रै होइन, समाजलाई रुपान्तरण गर्ने हो । एउटा आदर्श, सम्पन्न समाज बनाउने हो । हरेक दृष्टिकोणबाट बालबालिकालार्इ सक्षम बनाउने हो । हाम्रो उद्देश्य स्कूल चलाउने, स्कूलबाट केटाकेटीलाई पास गराउदै जाने मात्रै होइन । हाम्रो उद्देश्य भनेको समाजलाई रुपान्तरण गर्ने हो । हिजो जस्तो थियो त्यो समाजलाई परिमार्जन गर्ने हो । एउटा आदर्श, सम्पन्न समाज बनाउने हो । हरेक दृष्टिकोणबाट सक्षम बनाउने हो । अहिले सरकारले सामाजमा प्राविधिक विषयमा जोड दिइरहेको छ । सिभिल, कम्प्यूटर इञ्जिनियरीङ लागायत सरकारले अघि सारेको शिक्षा निजी बोर्डिङ स्कूलले पनि पाउनु पर्नेमा हाम्रो जोड हो । हामीले विद्यार्थीहरुलाई सैद्धान्तिक विषय मात्र रटाउने होइन विद्यार्थीलाई व्यवहारिक, जनशक्ति निर्माण गर्ने, शिपमा आधारित शिक्षा दिँदै जाने हो । हाम्रो बच्चाहरु जुन सुकै वातावरण परिवर्तनलाई सामना गर्न सक्ने, घर अफिस मात्र होइन आवश्यक परेको खण्डमा देशको जुनसुकै क्षेत्रमा नेतृत्व गर्न सक्षम बनाउने हो । आज वडा अध्यक्षदेखि गाउँपालिका, नगरपारिकाल, प्रदेश सरकारदेखि केन्द्र सरकारसम्म सक्षम नेतृत्वको अभाव देखिएको छ । हामी समाजको नेतृत्व लिन सक्ने, कम्पनीको नेतृत्व लिन सक्ने, सरकारको नेतृत्व लिन सक्ने व्यक्ति निर्माण गर्न सक्छौं । विद्यालय, शिक्षालय भनेको असल नागरिक उत्पादन गर्ने कारखाना हो । त्यहाँबाट असल नागरिक उत्पादन हुनुपर्छ । त्यसतर्फ सबैले आ–आफ्ना क्षेत्रबाट सकारात्मक भूमिका खेल्नुपर्छ नेपालय एजुकेशन फाउण्डेशनको भावी योजना के छन् ? देश अहिले संघीयतामा गएको छ । भोलि संघीय सरकारले शिक्षालाई युनिभर्सीटीको कन्सेप्टमा लैजाला । त्यसको लागि एउटा टिम बनाएका छौं । परिआएको अवस्थामा युनिभर्सीटीको कन्सेप्टमा जान सकौं । स्कूलदेखि मास्टरसम्मका धेरै कार्यक्रमहरु ल्याउन पर्ने हुन्छ । हामी आफै कोर्षहरु डिजाइन गर्ने क्रममा छौं । निजी स्कूलहरुलाई पूर्वधारको समस्या हुँदाहुँदै पनि हामीसँग खेलमैदान, कक्षा कोठा, विज्ञानको प्रयोगात्मक, कम्प्युटरको प्रयोगशाला, सेमिनार हल, मोटिभेसन क्लास सबै छ । सम्पूर्ण कुराले सम्पन्न छौं । यी सबै तयार गर्न सकेकोमा हामी खुसी नै छौं ।

शिक्षामा प्रविधिको प्रयोग र यसले दिने लाभ

काठमाडौं । गुरुकुल शिक्षा प्रणाली हुदै विकास भएको नेपाली शिक्षा प्रणाली २१ औं शताब्दीमा प्रवेश गर्दा अपेक्षिकृत परिवर्तन हुन सकेको छैन । त्यसमा पनि सूचना प्रविधिको प्रयोग कम छ । अझै पनि अधिकांश सरकारी तथा निजी विद्यालयहरुले सूचना र प्रविधिको प्रयोग कम गरिरहेका छन् । त्यसो त विकसित प्रविधिको प्रयोग गरेर नेपाली विद्यार्थी र अभिभावकलाई आकर्षित गर्न सफल सार्वजनिक तथा निजी विद्यालयलहरु पनि प्रशस्त छन् । कस्तो प्रविधि विश्वको प्राय देशमा बाल मनोविज्ञान सुस्म रुपमा बुझेर उनीहरुलाई रमाईलो बातावरणमा शिक्षा प्रदान गर्ने अभ्यास भईरहेको छ । आधुनिक शिक्षण विधिमा कम्प्युटर, मल्टिबोर्ड, प्रोजेक्टरबाट पठन पाठन सुरु भैसकेको छ । साथै, एप तथा सफ्टवेयरको प्रयोगबाट अध्ययान अध्यायपन गर्ने अभ्यास पनि बढ्दै गएको छ । प्रविधिको प्रयोगले शिक्षक शिक्षिकालाई बढाउन सजिलो भएकै छ । साथै, पढाईमा विद्यार्थीको रुचि पनि बढेको हुन्छ । विद्यार्थीको प्रस्तुतीलाई सजिलो बनाएको हुन्छ । कितावी विषयबस्तु बाहेकका विषयमा अध्ययन गर्न, पढाईको क्रममा शिक्षक/शिक्षिकाले गरेको सिर्जना, विद्यार्थीहरुले गरेको सिर्जनालाई सुरक्षित राख्नु, पुन प्रयोगमा ल्याउन, अरुलाई सिकाउन सजिलो बनाएको छ । ‘कम्प्यूटर, माल्टिबोर्ड, प्रोजेक्टर जस्ता प्रविधिमा आधारित साधनहरुको प्रयोगले पढाई र बुझाईलाई मात्र सहज गरेको छैन, सिर्जनात्मक क्षमता विकास र सशक्त प्रस्तुतिलाई धेरै सहयोग गरेको छ’ सौगान मन्टेश्वरीका प्रिन्सिपल राज्यलक्ष्मी बैदार भन्छिन्–‘विश्वजगतमा भईरहेको नयाँ विकासको खोज, नयाँ शिक्षण विधिको प्रयोग, प्रभावकारी शिक्षा प्रदान गर्नको लागि प्रविधिको प्रयोग अनिवार्य भएको छ ।’ विद्यालय वा विश्वविद्यालयका शिक्षण विधिको साथै शिक्षण संस्थाका सबै किसिमका गतिविधिलाई सूचना प्रविधिको प्रयोगले सजिलो बनाएको छ । विद्यार्थी, शिक्षक÷शिक्षिका, स्कूल व्यवस्थापनका कर्मचारी, अभिभावक सबैको लागि प्रविधिको प्रयोगले अनिवार्य बन्दै गएको छ । शैक्षिक संस्थाहरुलाई लक्षित सफ्टवेयर निर्माण गर्दै आएको भारतको ‘इ–शिक्षा’ कम्पनीसँगको सहकार्यमा प्रभु म्यानेजमेन्ट कम्पनीले प्रदान गर्दै आएको सफ्टवेयर एउटा उदाहरण हो । यो सफ्टवेयर प्रयोगपछि स्कूलका सबै गतिविधिको रेकर्ड, अनुगमन, हिसाव तथा भुक्तानी अनलाईन सहज हुन्छ । ‘सफ्टवेयरको प्रयोगपछि स्कूलका सबै गतिविधि डिजिटलाईजेशन हुनेछन्’ प्रभु म्यानेजमेन्टका कार्यकारी अध्यक्ष कुशुम लामाले भनिन्–‘संस्थाको आयव्याय, विद्यार्थी, शिक्षक, कर्मचारीको हाजिर, विद्यार्थीको गृहकार्य, उनीहरुका गतिविधि सबै शैक्षिक संस्थाको कार्यकारी प्रमुखले अनलाईन तथा मोवाईल एप्सबाट हेर्न र अनुगमन गर्न सक्छन् ।’ विद्यालयले लिने परीक्षा, परीक्षाको नतिजा, प्रमाणपत्र वितरण तथा शैक्षिक सामाग्री वितरणको जनाकारी एप्सबाटै हेर्न सकिने छ । ‘छोरा छोरी कहाँ छन्, स्कूलको बस कहाँ छ भनेर अभिभावकले मोवाईबाटै जानकारी लिन सक्छन्, स्कूलमा तिर्नु पर्ने फि अनलाईनबाटै भुक्तानी गर्न सकिन्छ’ लामाले भनिन्–‘विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी सबैलाई यो सफ्टवेयर लाभदायक छ ।’ ई शिक्षाले शिक्षक, विद्यार्थी, अभिवावक र विद्यालय व्यवस्थापनलाई एउटै दायरामा समेट्छ । जुनसुकै विद्यार्थी शिक्षकको अवस्था एउटा मोबाइलबाटै सजिलै हेर्न सकिन्छ । कुन विद्यार्थीका ग्रेड कति हो ? उसको व्यक्तिगत विवरणदेखि शैक्षिक विवरण सजिलै पत्ता लगाउन सकिन्छ । एउटा अभिवावकले आफ्नो छोराछोरी विद्यालयमा छन् या बाटोमा छन् । कुन दिनमा विद्यालय गयो, कुन दिन विद्यालय गएन्, कुन शिक्षक विद्यालय आयो, कुन आएनन्, छोराछोरीले दिनमा कति विषय अध्ययन गरे यी सबै कुराको जानकारी ई शिक्षाले दिने बताउँछन् प्रभु म्यानेजमेन्टका प्रबन्धक गणेश घिमिरे । उनका अनुसार इशिक्षाबाट निम्न लाभ लिन सकिन्छ । विद्यार्थी म्यानेजमेन्ट विद्यालयमा कति सेक्सन छन् । विद्यार्थीलाई म्यानेजमेन्ट कसरी गर्ने भन्ने विषयमा जानकारी प्रदान यस एप्सले गर्दछ । कुन विद्यार्थीको ग्रेड कुन हो । कति कक्षामा अध्ययन गर्दैछ । रोल नम्बर कति हो । कुन ठाउँदेखि विद्यालय अध्ययन गर्न आउँछ । अभिभावकको नाम थर ठेगाना इत्यादी सजिलै थाहा पाउन सकिन्छ । विद्यार्थी अभिवावक र शिक्षक यस एप्स शिक्षक विद्यार्थी र अभिभावकले आफूलाई चाहिने जानकारी लिन सक्छन् । एउटा अभिभावकले आफ्नो बालबालिको लागि कस्तो भूमिका खेल्नुपर्छ भन्ने कुरा यसमा समेटिएको हुन्छ । यसैको प्रयोगबाट शिक्षक विद्यार्थी र अभिभावको सम्बन्धलाई सन्तुलित राख्न मद्धत गर्छ । ह्युमर रिसोर्स एच आर विद्यालयमा कति जनशक्ति रहेका छन् । कति जना शिक्षक कतिजना सुरक्षा गार्ड, कति जना लाइब्रेरियन इत्यादी सबै पक्षको जानकारी समेटिएको हन्छ । ई हाजिरी यसबाट विद्यालयमा शिक्षक र विद्यार्थीको हाजिरीबारे सजिलै थाहा पाउन सक्नेछ । यसको प्रयोग शिक्षक तथा व्यवस्थापन समितीले प्रयोग गर्न सक्दछ । यो प्रणाली बेलबारी नगरपालिका मोरङका विद्यालयहरुले सुरु गरिसकेका छन् । लाइब्रेरी विद्यालयमा पुस्तक कति छन् । पुस्तकालयको प्रयोग विद्यार्थीले कसरी गरिरहेका छन् । कुन विद्यार्थीले कुन मितिमा पुस्तक लगेको र कुन मितीमा फिर्ता गर्नुपर्ने हो ? या फिर्ता गर्यो गरेन यी सबै कुराको अवस्थाको बारेमा जानकारी लिन सकिन्छ । सर्कुलर पाठ्यक्रमको बारे जानकारी दिन यस एप्सको प्रयोग गरिन्छ । भोलि कुन विषयमा कति पढाई हन्छ । विद्यार्थीले तयारी कति गर्ने भन्ने विषयमा जानकारी दिन यसको प्रयोग गरिन्छ । विद्यार्थीलाई गृहकार्य दिनको लागि पनि यो उपयुक्त रहेको हुन्छ । अनलाइन रिर्पोट एण्ड एकाउन्टिङ प्रत्येक अभिावकले आफ्नो छोराछोरीको शैक्षिक शुल्क यसको प्रयोगबाट थाहा पाउन सक्छन् । साथै ई मोबाइल बैकिङ सेवाबाट सजिलै विद्यालयको बिल तिर्न सक्छन् । यसको लागि विद्यालय गैराख्नु पर्ने झन्जटबाट सबै अभिवावक मुक्त हुन्छन् । होस्टल होस्टलमा बस्ने विद्यार्थीले खाना प्रणाली बारेमा यस एप्सको प्रयोग गरिन्छ । आजको खाना के हो, आज खाना कतिबजे खाने लगायत होस्टलको विविध पक्षबारे चर्चा गरिएको हुन्छ । साथै अभिवावकले पनि बालबालिकाले कस्तो खाना खाइरहेको छ भन्ने कुरा यसै एप्सबाट जानकारी लिन सक्छन् । यातायात एउटा अभिभावक पोखरामा बसेर काठमाडौंमा अध्ययन गरिहेका बालबालिकाको कुन स्थानमा रहेको छ । गाडी कुन स्थानमा आइपुग्यो, कति बेला विद्यालयबाट छुट्यो र कतिबेला घरमा आइपुग्यो भनेर सजिलै लिन सक्छ । शुल्क विद्यालयले कुन शिर्षक कति महसुल निर्धारण गरेको त्यसको विवरण प्राप्त गर्न यस एप्सको प्रयोग गरिन्छ । विशेषगरी अभिवावकहरुले यसैमार्फत विद्यादयको शुल्कबारे जानकारी लिन सक्नेछन् । बालबालिकाको फि कहिलेसम्म तिर्ने र कति तिर्ने भन्नेबारे यसबाट जानकारी लिन सकिन्छ । ग्यालरी विद्यालयमा हुने वार्षिक उत्सव, सास्कृतिक कार्यक्रम लगायत सम्पुर्ण क्रियाकलापको फोटो यसबाट हेर्न सकिन्छ । विद्यालय भवन कति तले रहेको छ । भवनको अवस्थादेखि लिएर सम्पुर्ण किसिमको भौतिक पुर्वाधारको दृष्य यस एप्सको प्रयोग गरी हेर्न सकिन्छ । अहिले ई शिक्षा १० वटा सरकारी विद्यालयहरुले प्रयोग गरिरहेको प्रभु म्यानेजमेन्टका म्यानेजर गणेश घिमिरेले जानकारी दिए । ई शिक्षा प्रयोग गर्नेहरुमा दाङको रजना माध्यमिक विद्यालय, काठमाडौंको निस्ट लोयर, अपर, बुढानिलकण्ठ लगायत रहेका छन् । हाम्रो विशेष लक्ष्य भनेको सरकारी विद्यालय हो, निजी विद्यालयले पनि यसको प्रयोग गर्न सके अझै शिक्षा क्षेत्रमा आधुनिकरण हनेछ, घिमिरेले भने यसो हुन सकेमा सरकारले पनि यसबाट लाभ लिन सक्छ । यस ईशिक्षाबाट सरकारले शिक्षा क्षेत्रमा लागू गरेको मापदण्ड कार्यन्वयन हुने देखिन्छ । कुन विद्यालयले कति शुल्क लिइरहेका छन् । त्यसको पनि यसले मनिटरिङको काम गर्छ । मनपरी शुल्क लिने विद्यालयहरुलाई यस शिक्षाले नियन्त्रण गर्नुको साथै शिक्षालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सकिन्छ । स्कूल तथा कलेजहरुको आर्थिक कारोबार तथा डिजिटल भुक्तानीका लागि प्रभु म्यानेजमेन्टको कम्पनीले प्रभु बैंकलाई बैकिङ पार्टनर बनाएको छ । प्रभु बैंकमा बैकिङ कारोबार गर्ने शैक्षिक संस्थालाई सफ्टवेयर निःशुल्क दिदै आएको छ । बैंकले नाफा गर्न नभई सामाजिक उत्तरदाहित्वको रुपमा इशिक्षा सेवा सञ्चालन गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए । ‘यो सेवाले समय र लागत दुबै बचत हुन्छ । प्रविधिको प्रयोगलाई प्रोत्साहित गर्न, प्रविधि प्रयोगको बानी विकास गराउन पनि सहयोग गर्छ । त्यसैले नाफालाई कम प्राथमिकता दिएर स्कूलहरुलाई न्यूनतम शुल्कमा यो सेवा दिनेछौं’ शेरचनले भने ।