विद्यालय तहको नयाँ पाठ्यक्रम आउँदै, शैक्षिक सत्रदेखि लागू हुने

काठमाडौं। संघीय संरचना र समृद्ध नेपालको परिकल्पना अनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रमको प्रारुप आउँदो शैक्षिक सत्रदेखि नमूना परीक्षणका रूपमा लागू हुने भएको छ । समाजवाद उन्मुख सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र निर्माणका लागि सक्षम नागरिक विकासको दूरदृष्टिसहित पाठ्यघण्टा (क्रेडिट आवर) सहितको नयाँ पाठ्यक्रमको प्रारूप कार्यान्वयन गर्न पाठ्यक्रम विकास केन्द्रले तयारी सुरू गरेको हो । व्यवसायिक शिक्षाको धारलाई प्राथमिकता दिइएको सो प्रारूप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्बाट पारित भएको थियो । केन्द्रका महानिर्देशक डा लेखनाथ पौडेलले नयाँ प्रारूप अनुसार पाठ्यक्रम तयार गर्न विज्ञको सूची (रोष्टर) तयार गर्न आह्वान गरिएको र आउँदो शैक्षिकसत्रदेखि कक्षा १ बाट परीक्षण सुरू हुने जानकारी दिए । पाठ्यक्रमको परीक्षण गरिएपछि त्यसका आधारमा पाठ्यपुस्तक तयार गरी कार्यान्वयन गरिन्छ। उनका अनुसार अन्य कक्षाका पाठ्यक्रम क्रमशः आगामी शैक्षिकसत्रदेखि लागू हुनेछ। हरेक वैशाख पहिलो साता देशभर नयाँ शैक्षिकसत्र लागू हुनेछ । नेपालको संविधानबमोजिम विद्यालय शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय तहमा दिइए पनि पाठ्यक्रम र परीक्षा केन्द्र सरकारकै मातहतमा राखिएको छ । मन्त्रालयले विसं २०६३ मा लागू गरेको सो विद्यालय शिक्षाको प्रारुप यसअघि २०७१ मा परिवर्तन भएको थियो । नयाँ प्रारूपको व्यवस्थाले कक्षा ११ र १२ लाई एकल पथीय बनाउँदै कक्षा ९ र १० मा पाँच अनिवार्य र दुइटा पेशा व्यवसायिक ऐच्छिक विषय रहने प्रबन्ध गरेको छ । कक्षा ११ र १२ मा नेपाली, अङ्ग्रेजी, सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा गरी चार विषय अनिवार्य गरिने बताए । सो तहमा कूल ९६० वार्षिक कार्य घण्टा हुनेछ । प्रारूपले एक क्रेडिट आवरमा ३२ घण्टा मानेको छ । गणित विषय पनि ऐच्छिकमा रहनेछ । नयाँ प्रारूपले संविधानको मौलिक हक, सङ्घीय, प्रदेश र स्थानीय तहको संरचना, आर्थिक सामाजिक रुपान्तरणका सवाल, विद्यालय क्षेत्र विकास कार्यक्रम, मुलुकको दीर्घकालीन विकासमा शिक्षाको योगदानका पक्षमा ध्यान दिएको मन्त्रालयले जनाएको छ । शिक्षामा विश्वव्यापीकरणको प्रभावलाई प्रारुपले आत्मसात् गरेको जनाउँदै नेपाली कला, संस्कृति र मौलिक पहिचानमूलक विषयवस्तुको पठनपाठन नेपाली र सबै राष्ट्रभाषामा मात्र हुनुपर्ने व्यवस्था पनि गरिएको छ । नयाँ प्रारूपअनुसार अब विद्यार्थीको मूल्याङ्कन (परीक्षा प्रणाली) मा समसामयिक परिमार्जन हुनेछ ।  

कंगारु एजुकेशन फेयर (अल नेपाल रोड शो पाँच शहरमा हुने

काठमाडौं । अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै कंगारु एजुकेशन फाउण्डेशनले देशका मुख्य ५ शहरमा बृहत शैक्षिक मेला आयोजना गर्ने भएको छ । कंगारु एजुकेशन फेयर: अल नेपाल रोड शो नाम दिईएको उक्त मेला आगामी कात्तिक २९ गते बिहीबार पुर्व झापाको मुख्य शहर विर्तामोडबाट शुरु हुनेछ । कात्तिक ३० र मंसिर १ गते हुने दोश्रो मेला काठमाडौंको पुतली सडक स्थित कंगारु एजुकेशन फाउण्डेशनकै कार्यालय परिसरमा हुनेछ । यस्तै मंसिर २ गते चितवन, मंसिर ३ गते बुटवल र मंसिर ४ गते पोखरामा मेला गरेर उक्त शो समापन हुनेछ । सबै स्थानका मेला संस्थाको आफ्नै कार्यालय परिसरमा हुनेछन् । मेलामा न्यूजिल्याण्ड, क्यानडा, अमेरिका, अष्ट्रेलिया र यूरोपका विभिन्न २४ विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरु उपस्थित हुने कंगारु एजुकेशन फाउण्डेशनका संस्थापक एबं प्रमुख कार्यकारी अधिकृत महेश बाबु तिमल्सिनाले बताए । हामी सही सूचना र जानकारीको अभावका कारण नेपाली विद्यार्थीले भोग्नु पर्ने हैरानीको अन्त्य गर्न चाहन्छौं । यसका लागि जहाँ विद्यार्थी त्यहीँ जानकारी लिएर हामीले देशका मुख्य शहर केन्द्रित मेला आयोजना गर्न लागेका हौ प्रमुख कार्यकारी अधिकृत तिमल्सिनाले भने । विद्यार्थी अभिभावकलाई सही जानकारी दिन भन्दै काठमाडौंमा हुने शैक्षिक मेलाले देशका अन्य भागका ईच्छुक विद्यार्थीलाई समेट्न नसक्ने यथार्थताकै बीचमा हामीले काठमाडौं बाहिरका ती स्थानमा शाखा कार्यालय खोलेर सेवा प्रवाह गरिरहेका छौं । यसपटक हाम्रा ति विद्यार्थी र अभिभावकलाई चाहिने आवश्यक जानकारी लिएर उनीहरुकै सामु पुग्ने हाम्रो प्रयास हो । शैक्षिक मेलामा भाग लिन काठमाडौं सम्म आउँदा हुने समय र पैसाको लगानी र विद्यार्थी अभिभावकले बेहुर्ने पर्ने अन्य ब्यवस्थापकीय हैरानीबाट मुक्ति दिन यस पटक हरेक शहरमा विदेशका विभिन्न विश्वविद्यालयका प्रतिनिधिलाई प्रत्यक्ष सहभागी गराउन लागिएको कंगारु एजुकेशन फाउण्डेशनका अध्यक्ष सुष्मिता पराजुलीले बताइन । मेलामा विद्यार्थीले आफू जान चाहेका देश, त्यहाँ जाँदा गर्नु पर्ने भिसा लगायतको प्रकृया, त्यसका लागि आवश्यक खर्च, अधययनका बिषय, काम गर्न पाउने अवधि, पाईने काम, हुने आम्दानी आदी चासोका कुरा सम्बन्धित देशका कलेज प्रतिनिधिहरुबाटै जान्न सक्नेछन् । मेलामा सहभागी हुनेलाई पुरस्कार र पछि प्रकृया गर्दा लाग्ने सेवा शुल्कमा संस्थागत रुपमा छुटको ब्यवस्था पनि गरिएको बताइएको छ । सही सूचना र जानकारी नपाएर कुनै एक जना नेपाली विद्यार्थी पनि ठगिन नपरोस्, शैक्षिक परामर्श क्षेत्रमा असल नियत राखेर कार्य गर्ने संस्थाहरु पनि छन् भन्ने मान्यता विस्तार गर्नु नै कंगारु एजुकेशन फेयर : अल नेपाल रोड शो को मुख्य ध्येय रहेको कंगारु एजुकेशन फाउण्डेशनका संस्थापक एबं प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले बताए ।

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको मापदण्ड संशाेधन, दुईवटा विषयको परीक्षा हुने

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको मापदण्ड संशाेधन गरेको छ । नयाँ मापदण्ड अनुसार अब सी ग्रेड ल्याउने बिद्यार्थीले पनि उक्त परीक्षामा सामेल हुन पाउने छन् । त्यस्तै यहि असोज २० गते प्रकाशित नतिजामा कुनै बिषयमा सी, डी प्लस, डी वा इ ग्रेड ल्याउनेले बिद्यार्थी पनि कुनै दुई बिषयको ग्रेडवृद्धि परीक्षामा सामेल हुन पाउने छन् । परीक्षा दिन चाहने परीक्षार्थीले यही मङ्सिर १६ गते भित्रमा सम्बन्धित कार्यालयमा नियम अनुसारको शुल्क सहित आवेदन फारम बुझाउनु पर्नेछ । परीक्षा मिति र परीक्षा केन्द्र पछी तोकिने राष्ट्रिय परीक्षा बाेर्डले जनाएकाे छ । यसअघि सी ग्रेड ल्याउने परीक्षार्थीहरुले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था थिएन । तर सम्बन्धित विषयमा साे ग्रेडमात्र प्राप्त गर्नेले अर्काे तहमा पढ्न नपाउने भएपछि बाेर्डले साे बाटाे खुला गरेकाे हाे ।